
काठमाडौँ- नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले राजतन्त्र फर्कने सम्भावना नरहेको बताएका छन्।
शनिबार जनकपुरस्थित महावीर युवा किमिटीको नवनिर्वाचित पदाधिकारीहरूको पदस्थापन एवं सपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
राजतन्त्र फर्किने भनेर केही मानिसले हल्ला चलाइरहे पनि यो सम्भव नरहेको निधिको दाबी छ।
‘नेपालमा राजतन्त्र फर्कियो, राजशाही आयो, आयो भन्छन्। धेरैले भनिरहेका छन्,’ उनले भने,‘म भन्छु–नेपालमा राजतन्त्र आउँदैन, आउँदैन, आउँदैन। मानिसहरू जति कराए पनि आउनेवाला छैन।’
नेता निधिले अरू देशमा राजतन्त्र अन्त्य हुँदा राजाले भोग्नुपरेको दुर्गति नभुल्न सचेत गराए। उनले भने,‘अरू देशमा राजतन्त्र अन्त्य हुँदा राजाहरूले दुर्गति भोग्नुपरेको इतिहासमा प्रमाणित छ। त्यसैले तत्कालीन राजाले बुझ्नुपर्यो। उहाँले आफ्नो सीमा बुझ्नुपर्यो।’
उनले नेपालमा राजा र राजतन्त्र अस्वीकृत भइसकेको बताए। ‘नेपालमा राजतन्त्र र राजा अस्वीकृत भइसकेको छ,’ उनले भने,‘जनताले निर्वाचित गरेको सार्वभौम संसदले राजतन्त्रलाई अस्वीकृत गरिसकेको छ। ज्ञानेन्द्र शाह रिजेक्टेड भइसकेका छन्। उनी अन्तिम राजा हुन्।’
निधिले गणतन्त्रको जग बलियो भएकाले कसैले हल्लाउन नसक्ने जिकिर गरे।