काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दै छ । बैठकमा प्रधानमन्त्रीको कार्यभार तोकिएको पत्र पढेर सुनाउने तथा विभिन्न विधेयकहरू अघि बढाउने सम्भावित कार्यसूची रहेको छ ।
बैठकको सुरुमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।बैठकमा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘फोहोरमैला व्यवस्थापन विधेयक, २०८३’ बैठकमा प्रस्तुत गर्नेछन् ।
यस्तै, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘नागरिक लगानी कोष तेस्रो संशोधन विधेयक, २०८३’ र ‘भुक्तानी तथा फर्स्यौट पहिलो संशोधन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी कृषि वन तथा पर्यावरणमन्त्री गिता चौधरीले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सङ्क्रामक पशु रोग नियन्त्रण विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछिन् ।
प्रतिनिधिसभा बैठकका अतिरिक्त आज विभिन्न पाँच वटा संसदीय समितिका बैठकहरू पनि बस्दै छन् ।


