काठमाडौँ- नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिका कार्यवाहक सभापति सरोज कुमार कौडेनाले पार्टीको क्रियाशील सदस्यता वितरण तथा नवीकरण प्रक्रियामा लोकतान्त्रिक मूल्य, मान्यता र पद्धति पालना नभएको आरोप लगाउँदै पदबाट राजीनामा दिएका छन्।
कौडेनाले नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा राजीनामा पत्र बुझाउँदै सर्लाही क्षेत्र नम्बर २ मा क्रियाशील सदस्यता वितरणका क्रममा भएको भनिएको धाँधलीपूर्ण व्यवहारप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेका हुन्।
राजीनामा पत्रमा उनले नेपाली कांग्रेस राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई मूल आदर्श मानी विधिको शासन तथा समतामूलक समाज निर्माणमा अघि बढ्दै आएको उल्लेख गर्दै पछिल्लो सदस्यता वितरण प्रक्रियाले पार्टीभित्रका लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको बताएका छन्।
कौडेनाले पार्टीका संस्थापक नेताहरू बीपी कोइराला, सुवर्ण शमशेर राणा, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईको विचार तथा दृष्टिकोणबाट पार्टी विमुख हुँदै गएको आरोपसमेत लगाएका छन्।
उनका अनुसार स्थानीय, प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा पार्टीका उम्मेदवारलाई पराजित गराउन भूमिका निर्वाह गरेका भनिएका व्यक्तिमाथि कारबाही गर्नुको सट्टा क्रियाशील सदस्यता प्रदान तथा नवीकरण गरिएको विषयले सर्लाहीका कांग्रेस कार्यकर्ताको भावना र मनोबलमा गम्भीर असर परेको छ।
यस्ता गतिविधि आफूलाई असह्य भएको उल्लेख गर्दै कौडेनाले नेपाली कांग्रेस सर्लाही जिल्ला कार्यसमितिको कार्यवाहक सभापतिको पदसँगै नेपाली कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएको बताएका छन्।
उनले आफ्नो राजीनामा तत्काल लागू हुने गरी स्वीकृत गर्न पार्टी नेतृत्वसमक्ष अनुरोध गरेका छन्। साथै, पार्टी सभापतिको राजनीतिक सफलताको कामनासमेत गरेका छन्।
यस्तै सर्लाही क्षेत्र नम्बर २ (ख) को सभापतिबाट भिखारी ठाकुरले समेत राजीनामा दिएका छन्। सर्लाही कांग्रेस सभापति गगन थापाले गएको फागुन २१ मा चुनाव लडेको जिल्ला हो। जहाँ थापा रास्वपाका अमरेशकुमार सिंहसँग पराजित भएका थिए। सोही जिल्ला कांग्रेसको पकड मानिन्थ्यो।


