अपाङ्गमैत्री शौचालय नहुँदा सास्ती

हिमाल प्रेस ३ फागुन २०८१ १९:५७
20
SHARES
अपाङ्गमैत्री शौचालय नहुँदा सास्ती

सुर्खेत – सुर्खेतको भेरीगंगा नगरपालिका ११ मा रहेको शिखर माविमा पढ्ने दृष्टिविहीन छात्र खिमबहादुर बस्नेतले अपाङ्गमैत्री शौचालय नहुँदा आफूहरुलाई निकै सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।

विद्यालयमा पढ्ने आफूजस्तै अन्य २० जना विद्यार्थी सबैलाई अपाङ्गमैत्री शौचालय, नुहाईधुवाइ गर्ने ठाउँ र पिउनेपानीलगायतका आधारभूत आवश्यकताकै समस्या रहेको दुःखेसो गरे।

सुर्खेत उद्योग वाणिज्य संघको सहकार्यमा अमेरिकन कर्नर सुर्खेतले शनिबार रामघाटमा गरेको जनप्रतिनिधसँग युवा संवादमा भेरीगंगाका मेयर यज्ञ ढकालकै सामुन्ने उनले यस्तो गुनासो गरेका हुन्।

विद्यालयमा पढ्ने अरु विद्यार्थीहरुसँगै एउटै शौचालय र स्नानघर प्रयोग गर्नुपर्दा आफूहरुलाई निकै कठिनाई भइरहेको उनले अनुभव सुनाए।

साथै अपाङ्गता भएका विद्यार्थीहरुले विगतमा मासिक ४ हजार सामाजिक सुरक्षा भत्तावापत पाउँदै आएकोमा अहिले बढेर ५ हजार भएको सुने पनि भत्ता भने नपाएको भन्दै मेयरलाई सोधे–हामीले भत्तावापतको रकम कहिले पाउने हो?

कार्यक्रममै रहेकी कक्षा ११ की छात्रा कल्पना थापाले आफूहरु विद्यालय भवनको पहिलो तल्लामा पढ्नुपर्ने र भवनभन्दा टाढा भूइँतल्लाको शौचालय प्रयोग गर्नुपर्ने बाध्यता रहँदा खासगरी छात्राहरुले निकै समस्या झेल्नुपरेको सुनाइन्।

विद्यार्थीहरुका समस्या सुनिसकेपछि नगर प्रमुख ढकालले आफू निर्वाचित भएर पहिलोपटक विद्यालय आउँदा शौचालयको दुर्दशा देखेर नै नयाँ शौचालय बनाउन लगाएको बताउँदै आवश्यकताअनुसार नयाँ शौचालय बनाउने आश्वासन दिए।

विभिन्न संघसंस्था र दातृ निकायहरुको सहयोगमा आफूहरु विद्यालयमा शौचालय, पुस्तकालय र छात्रावास बनाउने योजनामा रहेको जानकारी पनि उनले दिए।

नगर प्रमुख, वडाध्यक्ष र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई पहिलोपटक एकै मञ्चमा पाएका विद्यार्थीले आफ्ना हरेकजसो समस्या र सुझावबारे सबैसँग खुलेरै कुरा राखे।

कक्षा ८ की छात्रा दीपा जीसीले विद्यालयमा नर्सको व्यवस्था भए पनि औषधिको व्यवस्था नभएको गुनासो गरिन्। वडा नंं १३ मा रहेको मावि काशीपुरकी छात्रा जेनिषा वीसीले स्थानीय पाठ्यपुस्तक नपाएको बताइन्।

विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक गुणस्तरसँगै विद्यार्थीहरुले नीति निर्माणका विषयमा पनि नगर प्रमुखसँग निर्धक्क आफ्ना जिज्ञासा राखे।

कक्षा १२ की छात्रा धना खड्का र आकृति केसीले नेपाल सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा भनिए पनि कतिपय विद्यालयले विभिन्न बहानामा अभिभावकसँग रकम असुली गरिरहेकोतर्फ नगरप्रमुखको ध्यानाकर्षण गराइन्।

जवाफमा मेयर ढकालले नेपाल सरकारको पूर्ण अनुदानमा सञ्चालित विद्यालयले कुनै पनि बहानामा अतिरिक्त शुल्क लिन नपाउने भन्दै निजीश्रोतबाट थप कक्षा सञ्चालन गर्ने विद्यालयले भने स्वेच्छिक रकम सहयोगस्वरुप लिन पाउनेबारे विद्यार्थीलाई स्पष्ट बनाए।

शैक्षिक गुणस्तर खस्किएको सन्दर्भमा भने उनले आफू पनि शिक्षक पृष्ठभूमिको भएको जिकिर गर्दै आफूले आफ्नो पालिकामा शिक्षा र स्वास्थ्यको गुणस्तरलाई पहिलो प्राथमिकता दिएर सोहि अनुसार बजेट तथा कार्य तय गरेको उल्लेख गरे।

पालिकाले शैक्षिक गुणस्तर उन्नतिका लागि ६० जना स्वयंसेवक शिक्षक तथा प्रभावकारी स्वास्थ्य सेवाका लागि २० जना गरी ८० जना स्वयंसेवीहरु आन्तरिक श्रोतबाट परिचालित गरेको उनले जानकारी दिए।

कार्यक्रममा वडाध्यक्ष जयबहादुर नेपाली र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम सुवेदीले पनि आफूसँग सम्बन्धित विभिन्न विषयमा उठेका सवालहरुको जवाफ दिएका थिए।

युवाहरुलाई साझा विषयमा जागरुक बनाई प्रश्न गर्न प्रेरित गर्ने र जनप्रतिनिधिहरुलाई जवाफदेही, पारदर्शी र जिम्मेवार बनाउने उद्देश्यले अमेरिकन कर्नरले यस्ता कार्यक्रम निरन्तर गर्दै आइरहेको छ।

यसअघि सुर्खेतका वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका, सिम्ता, चिंगाड र बराहताल गाउँपालिकामा पनि यस्तै कार्यक्रम सम्पन्न भैसकेको कर्नरका कार्यक्रम संयोजक निश्चल कँडेलले जानकारी दिए।

प्रकाशित: ३ फागुन २०८१ १९:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast