आयोगका पदाधिकारीलाई शिक्षामन्त्रीले भने- शिक्षा ऐन निर्माण अघि बढेको छ, शिक्षक भर्नामा ध्यान दिनुस्

हिमाल प्रेस २ असोज २०८३ ११:०६ | Friday, September 18, 2026
आयोगका पदाधिकारीलाई शिक्षामन्त्रीले भने- शिक्षा ऐन निर्माण अघि बढेको छ, शिक्षक भर्नामा ध्यान दिनुस्

काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षक सेवा आयोगलाई प्रभावकारी, गतिशील र नतिजामुखी रूपमा सञ्चालन गर्न नवनियुक्त पदाधिकारीलाई निर्देशन दिएका छन्।

सिंहदरबारस्थित मन्त्रालयमा आयोगका अध्यक्ष डा.हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा मन्त्री पोखरेलले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसम्बन्धी ऐन नियमावलीलाई समयानुकूल परिमार्जन गर्नुपर्नेमा जोड दिए।

उनले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणाली सुधार र समयमै परीक्षाफल प्रकाशनलाई प्राथमिकतामा राख्न आग्रह गरे।

विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयलाई पनि समेटिने विश्वास व्यक्त गरे।

हालै मन्त्रिपरिषद्ले भक्तपुरका डा.हरिप्रसाद लम्साललाई आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँकी विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।

छलफलमा आयोगका अध्यक्ष डा.लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम सुरु भइसकेको बताए।

शिक्षक व्यवस्थापन र आयोगको प्रभावकारिता बढाउन नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिए।

छलफलमा मन्त्रीको सचिवालय र मन्त्रालयका उच्च अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

प्रकाशित: २ असोज २०८३ ११:०६ | Friday, September 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast