काठमाडौँ- शिक्षा तथा खेलकुद मन्त्रालयले गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा सहिद भएका परिवारका सदस्य तथा घाइतेलाई निःशुल्क शिक्षा उपलब्ध गराउने मापदण्ड कार्यान्वयन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको छ।
शिक्षा विभागको योजना तथा कार्यक्रम शाखाले बुधबार स्थानीय तहलाई पत्राचार गर्दै मन्त्रालयले असोज २ मा स्वीकृत गरेको ‘जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेलाई निःशुल्क शिक्षा प्रदान गर्ने सम्बन्धी मापदण्ड, २०८३’ अनुसार व्यवस्था कार्यान्वयन गर्न अनुरोध गरेको हो।
विभागले उक्त मापदण्डमा उल्लेख गरिएका व्यवस्था प्रभावकारी रूपमा लागू गरी सहिद परिवार तथा घाइतेको शिक्षामा समान पहुँच सुनिश्चित गर्न स्थानीय तहलाई आग्रह गरेको छ।
विभागका शाखा अधिकृत प्रेमप्रसाद निपाठीले हस्ताक्षर गरेको पत्रमा मापदण्ड शिक्षा तथा खेलकुद मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको उल्लेख गर्दै त्यसअनुसार आवश्यक समन्वय र सहजीकरण गर्न भनिएको छ।
पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालय र शिक्षा विकास तथा समन्वय एकाइ सबैलाई समेत पठाइएको छ।



