शिक्षकका गतिविधिमाथि सरकारको निगरानी

हिमाल प्रेस ५ असोज २०८३ २१:२५ | Monday, September 21, 2026
शिक्षकका गतिविधिमाथि सरकारको निगरानी शिक्षामन्त्री सस्मित पोखरेल। फाइल तस्बिर

काठमाडौँ- विद्यालयमा अध्यापन गर्ने शिक्षक तथा कर्मचारी राजनीतिक दलका गतिविधिमा सक्रिय हुन थालेपछि सरकारले निगरानी र कारबाही प्रक्रिया अघि बढाएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले देशभरका विद्यालयमा शिक्षक तथा कर्मचारीका राजनीतिक गतिविधिमाथि निगरानी बढाउन र दलका कार्यक्रममा संलग्न भएको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको छ।

शिक्षक राजनीतिक गतिविधिमा संलग्न भएको विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले त्यस्ता गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएका हुन्।

मन्त्रालयको निर्देशनपछि शिक्षा विकास तथा समन्वय एकाइ बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै सामुदायिक विद्यालयमा कार्यरत शिक्षक राजनीतिक दलका कार्यक्रममा सहभागी भएनभएको निगरानी गर्न भनेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाका आधारमा केही शिक्षक विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाउँदै एकाइले त्यस्ता गतिविधिमाथि निगरानी बढाउन स्थानीय तहलाई आग्रह गरेको हो।

शिक्षा ऐन तथा नियमावलीमा तोकिएको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत गतिविधि गरेको पाइएमा कानुनबमोजिम आवश्यक कारबाही गर्न पनि एकाइले भनेको छ।

यसैबीच शिक्षा विकास तथा समन्वय एकाइ सिन्धुलीले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई छुट्टाछुट्टै पत्राचार गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइएमा आवश्यक कारबाही गर्न निर्देशन दिएको छ।

एकाइ प्रमुख दिनेशप्रसाद देवकोटाद्वारा जारी पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चार शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भएको उल्लेख छ। पत्रमा प्रेमप्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुनकुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ।

शिक्षा नियमावली, २०५९ (दसौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत गतिविधि गरेको पाइएमा सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरी त्यसको जानकारी अविलम्ब एकाइलाई गराउन स्थानीय तहलाई अनुरोध गरिएको छ। रासस

प्रकाशित: ५ असोज २०८३ २१:२५ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 − 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast