गण्डकीमा निवर्तमान स्वास्थ्यमन्त्री पाण्डे र स्वास्थ्य सचिवको ‘घूसकाण्ड’ बाहिरियो, छानबिन समिति गठन

विजय नेपाल ५ असोज २०८३ २१:३७ | Monday, September 21, 2026
4
SHARES
गण्डकीमा निवर्तमान स्वास्थ्यमन्त्री पाण्डे र स्वास्थ्य सचिवको ‘घूसकाण्ड’ बाहिरियो, छानबिन समिति गठन लक्ष्मणबहादुर पाण्डे र डा. युवानिधि बसौला।

पोखरा- बेड संख्या बढाएर अस्पतालको स्तरोन्नति गर्ने विषयमा घूसको बार्गेनिङ आरोपमा गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री लक्ष्मणबहादुर पाण्डे र स्वास्थ्य सचिव डा. युवानिधि बसौला मुछिएका छन्।

सञ्चारकर्मी अपिल त्रिपाठीले ‘गण्डकी छड्के’ युट्युब च्यानलमार्फत केही दिनअघि उक्त काण्ड सार्वजनिक गरेका थिए। घटना छानबिनका लागि गण्डकी प्रदेश सरकारले छानबिन समिति गठन गर्दै तत्कालका लागि स्वास्थ्य सचिवलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ।

डा. बसौलालाई अर्को व्यवस्था नभएसम्मका लागि गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काजमा खटाउने प्रदेश सरकार मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

पोखरास्थित पद्म नर्सिङ होमको बेड संख्या ५० बाट १०० स्तरोन्नति गरी अस्पताललाई अनुमति दिने क्रममा तत्कालीन स्वास्थ्यमन्त्री पाण्डे, मन्त्रालयका सचिव डा. बसौला र मन्त्रीका स्वकीय सचिव यादव पौडेलले रकमको सौदाबाजी गरेको अडियो छताछुल्ल भएको छ।

उक्त प्रकरणमा ततकालीन स्वास्थ्य मन्त्री एवं एमाले गण्डकी प्रदेश सभा सदस्य पाण्डे, सचिव डा. बसौला र स्वकीय सचिव पौडेल मुछिएसँगै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिवको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो।

अस्पतालको शय्या बिस्तार र नवीकरणका क्रममा करिब ३० लाखसम्मको आर्थिक लेनदेनको आरोप सार्वजनिकसँगै मन्त्रालयका सचिवसहित यो प्रकरणमा जोडिएका उपर छानबिन समिति गठन गरिएको हो।

समितिले आगामी १५ दिनभत्र छानबिन प्रतिवेदन पेस गर्नेछ।

उक्त प्रकरणमा छानबिनका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रदेश कार्यालय पोखरामा समेत पत्राचार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री जितबहादुर शेरचनले जनाएका हुन्। साथै, यो विषय अनुसन्धान तथा छानबिनको चरणमा रहेको हुँदा अनियमितताको विषयमा स्पष्ट नहुँदासम्म उक्त अनुमतिको निर्णय कार्यान्वयन नगर्ने, नगराउने वा स्थगन गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ।

उता घूस प्रकरणबारे छानबिन गर्न एमाले पार्टी आफैँले पनि छानबिन समिति गठन गरेको छ। एमाले प्रदेश सभा संसदीय दलले प्रमुख सचेतक देवका पहारी त्रिपाठीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको हो। उक्त समितिमा चाहिँ एमाले संसदीय दलका सदस्य तथा संसदीय बोर्डका सदस्य वेदबहादुर गुरुङ (श्याम) र एमाले गण्डकी प्रदेश कमिटी सचिव तथा निवर्तमान प्रदेश सभा सदस्य धनञ्जय दवाडी सदस्य तोकिएका छन्।

निवर्तमान मन्त्री पाण्डेले भने रकम कहीँकतै नलिएको दाबी गरेका छन्। उनले यस विषयलाई अस्वीकार गरेका छन्। छानबिन समितिले स्वास्थ्य मन्त्रालयले पछिल्लो दुई वर्षमा अस्पताललाई दिएको अनुमति तथा अस्पताल स्तरोन्नतिसम्बन्धी कानुनी व्यवस्था र अभ्यासबारे समेत छानबिन गर्ने जनाएको छ।

गत २ वैशाखमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दा कांग्रेस र एमालेका मौजुदा मन्त्रीहरु सबै हटाएर नयाँ मन्त्री नियुक्त गरेका थिए। त्यसबेला एमालेका लक्ष्मणबहादुर पाण्डेलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको थियो। उनीसहित एमालेका चारजनालाई मन्त्री बनेका थिए। तर उनीहरुले केन्द्रमा एमाले-नेकपाबीच प्रदेश सरकारमा गठबन्धन गर्ने निर्णयसँगै १० भदौमा राजीनामा दिएका छन्।

प्रकाशित: ५ असोज २०८३ २१:३७ | Monday, September 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 + four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast