सुर्खेत- मंगलबार साँझ सुर्खेतमा फुटपाथमा काफल बिक्री गरिरहेकी व्यापारीमाथि दुर्व्यवहार गर्ने वीरेन्द्रनगर नगर प्रहरी कर्मचारीमाथि कारबाही हुने भएको छ।
वीरेन्द्रनगर नगर क्षेत्रमा सडक पेटी तथा फुटपाथ व्यवस्थापन गर्ने क्रममा वडा नं. ६ स्थित सिटी बसपार्क क्षेत्रमा डालामा काफल बिक्री गरिरहेकी एक महिलामाथि दुर्व्यवहार भएको घटनाप्रति नगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ।
नगरपालिकाद्वारा बुधबार जारी विज्ञप्तिमा उक्त घटनामा संलग्न नगर प्रहरीलाई विभागीय कारबाही गरिने तथा पीडित महिलालाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराइने निर्णय भएको उल्लेख गरिएको छ। नगर प्रहरीले दुर्व्यवहार गरेको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि नगरपालिकामाथि कारबाहीकाे दबाब परेको हो। उक्त तस्बिरलाई लिएर सामाजिक सञ्जालमा नगरपालिका, नगर प्रहरी र सरकारको आलोचना भइरहेको छ।




