सुर्खेतमा अनलाइन जुवा र शंकास्पद कारोबारमा संलग्न तीन पक्राउ

हिमाल प्रेस ३० वैशाख २०८३ १४:०४ | Wednesday, May 13, 2026
सुर्खेतमा अनलाइन जुवा र शंकास्पद कारोबारमा संलग्न तीन पक्राउ प्रतिनिधिमूलक तस्बिर।

सुर्खेत-  सुर्खेतमा विद्युतीय माध्यमबाट अनलाइन जुवा (बेटिङ) खेलाउने, बैंक खाता खोली शंकास्पद कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। सामाजिक सञ्जाल तथा इन्टरनेटका माध्यम प्रयोग गरी ठगी गर्ने उद्देश्यले प्रलोभनमा पार्दै हारजित हुने गरी अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने, विभिन्न बैंकमा खाता खोली उक्त कार्यमा प्रयोग गरी शंकास्पद कारोबार गरेको गोप्य सूचनाका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

प्रारम्भिक अनुसन्धानका क्रममा अनलाइन जुवा तथा सट्टेबाजी खेलाउने उद्देश्यले बैंक खाता खोली दुरुपयोग गरी शंकास्पद तथा एकिन स्रोत नभएको कारोबार गरेको पाइएपछि इलाका प्रहरी कार्यालय बाबियाचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ। पक्राउ पर्नेमा सुर्खेतको पञ्चपुरी नगरपालिका–९, का ३९ वर्षीय शिक्षक पेशामा संलग्न महेन्द्रकुमार बोहरा छन् । प्रहरीले बोहराले विभिन्न बैंकमा ६ वटा खाता खोली ठगीजन्य गतिविधिमा संलग्न भएको तथा प्रारम्भिक अनुसन्धानबाट करिब २ करोड ४६ लाख रुपैयाँ बराबरको शंकास्पद कारोबार गरेको जनाएको छ ।

सोही स्थानका ४२ वर्षीय व्यापार व्यवसाय गर्दै आएका यामलाल विकले विभिन्न बैंकमा ५ वटा खाता खोली शंकास्पद कारोबार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।  पञ्चपुरी–९, कै ४४ वर्षीय होटल व्यवसायी डम्वर विकले विभिन्न बैंकमा ९ वटा खाता खोली शंकास्पद कारोबार गरेको आरोपमा पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि बैंकिङ कसुर, जुवा सट्टेबाजी तथा सम्पत्ति शुद्धीकरणलगायत कसुरमा प्रारम्भिक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्तासमेत रहेका प्रहरी नायब उपरीक्षक मोहजंग बुढथापाले जानकारी दिए। उनले अनलाइन ठगी, जुवा तथा सट्टेबाजीमा संलग्न हुनु वा सहयोग गर्नु गम्भीर अपराध भएकाले आफ्नो बैंक खाता, पिन कोड, ओटीपीलगायत विवरण गोप्य र सुरक्षित राख्न तथा कसैलाई शेयर नगर्न सर्वसाधारणलाई अनुरोध गरे ।

प्रकाशित: ३० वैशाख २०८३ १४:०४ | Wednesday, May 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast