न्युयोर्कमा सोमबार परराष्ट्रमन्त्री शिशिर खनाललाई स्वागत गर्दै राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत। तस्बिर स्रोत : परराष्ट्र मन्त्रालय
न्युयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघको ८१ औँ महासभामा भाग लिन सोमबार अमेरिकाको न्युयोर्क आइपुगेका छन्। उनलाई न्युयोर्कस्थित राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापालगायतका अधिकारीहरूले जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।
महासभाअन्तर्गत मंगलबार उच्चस्तरीय बैठक प्रारम्भ हुनेछ। बैठकमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्बोधन गर्ने कार्यक्रम छ। उक्त बैठकमा खनाल पनि सहभागी हुनेछन्।
परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथा मन्त्रीस्तरीय कार्यक्रममा सहभागिता जनाउनुहुनेछ। साथै, परराष्ट्रमन्त्री खनालले आफ्ना समकक्षी तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्तासमेत गर्ने कार्यक्रम छ।
नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री बालेन्द्र शाह बुधबार अमेरिका आउने कार्यक्रम छ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई सेप्टेम्बर २४ मा सम्बोधन गर्नुेछन्। प्रधानमन्त्री शाहले नेतृत्व गर्ने नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री खनालसँगै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार ब्यान्जनकार, परराष्ट्र सचिव अमृतबहादुर राई तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।
यस पटक राष्ट्रसंघमा सहभागी हुन लागेको नेपाली प्रतिनिधिमण्डलको संख्या १४ रहेको छ। यो पछिल्लो समय प्रधानमन्त्रीको नेतृत्वमा महासभामा सहभागिता जनाउन जानेमध्येको कम संख्या पनि हो। न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम छ।


