उपमेयर हुँदाहुँदै धरानका मेयरले वडाध्यक्षलाई दिए कार्यवाहकको जिम्मेवारी

हिमाल प्रेस २४ असोज २०८१ १६:५५
34
SHARES
उपमेयर हुँदाहुँदै धरानका मेयरले वडाध्यक्षलाई दिए कार्यवाहकको जिम्मेवारी

इटहरी– धरानका मेयर हर्क साम्पाङले उपमेयर हुँदाहुँदै वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएका छन्। उनले धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागोलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन्।

बेलायत भ्रमणमा जान लागेका मेयर साम्पाङले बुधबारबाट लागू हुने गरी फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका हुन्।

बिहीबारबाट सार्वजनिक बिदा हुने भएकाले बुधबार नै साम्पाङले फागोलाई कार्यवाहकको जिम्मेवारी दिएको बताइएको छ। मेयर साम्पाङ असोज २८ गते सोमबारदेखि धरान बाहिर रहने कार्यक्रम तय भएको छ।

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १६ को (क) १२ मा नगर प्रमुख वा गाउँ प्रमुख सात दिन भन्दा बढी समय गाउँपालिका वा नगरपालिकामा अनुपस्थित हुने भएमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यवाहक दिनुपर्ने व्यवस्था छ।

यदि, उपाध्यक्ष वा उपप्रमुख पनि अनुपस्थित भएमा कुनै सदस्यलाई जिम्मेवारी दिने उल्लेख छ। तर, मेयर साम्पाङले भने ऐनविपरीत उपमेयर आइन्द्रविक्रा बेघा उपस्थित हुँदाहुँदै वडाध्यक्ष फागोलाई जिम्मेवारी दिएका हुन्।

उपमेयर बेघाले आफू बाहिर जाने कुनै कार्यक्रम नभएको बताए। उनले मेयर साम्पाङले ऐन कानुन नपढेको आरोप लगाउँदै वडाध्यक्षलाई कार्यवाहकको पत्र दिएको जनाए। यसबारे आफूसँग कुनै सल्लाह नभएकोसमेत बेघाले बताए।

प्रकाशित: २४ असोज २०८१ १६:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − six =