कांग्रेस उम्मेदवार खड्का भन्छन्, इलाम-२ मा कडा प्रतिस्पर्धा हुन्छ

हिमाल प्रेस २४ चैत २०८० १३:०८
60
SHARES
कांग्रेस उम्मेदवार खड्का भन्छन्, इलाम-२ मा कडा प्रतिस्पर्धा हुन्छ

काठमाडौँ– नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम-२ को उपनिर्वाचनमा तीव्र प्रतिस्पर्धा हुने बताएका छन्। अघिल्ला चुनावमा कांग्रेस-एमालेबीच मुख्य प्रतिस्पर्धा हुँदै आएको उक्त क्षेत्रमा यसपटक रास्वपा र स्वतन्त्रबाट पनि प्रभावशाली उम्मेदवार मैदानमा उत्रिएकाले कडा प्रतिस्पर्धा हुने उनले बताए। यद्यपि उनले नतिजा आफ्नो पक्षमा हुने दाबी गरेका छन्।

उक्त क्षेत्रबाट निर्वाचित भएका एमालेका सुवास नेम्वाङको निधन भएका कारण आगामी वैशाख १५ गते संघीय प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुन लागेको हो। यति बेला दलका नेता र उम्मेदवार इलाम-२ का जनताको घरदैलोमा पुगेका छन्। पार्टीका शीर्ष नेताहरू पनि इलाम केन्द्रित छन्। खड्काले भने, ‘यहाँ भएका सबै दल र उम्मेदवारसँग सम्मान हैसियतको प्रतिस्पर्धा हो। मत कसको काटिन्छ भनेर अहिल्यै आकलन गर्न सकिने अवस्था छैन। सबै साथीभाइहरूबीच उच्च प्रतिस्पर्धा हुने देखिन्छ।’

उपनिर्वाचनका लागि एमालेले पूर्वसभामुखसमेत रहेका सुवास नेम्वाङका छोरा सुवास नेम्वाङलाई अघि सारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू मैदानमा छन्। यसैगरी स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम प्रतिस्पर्धामा छन्। माओवादीले एमाले उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्ने निर्णय गरेको छ।

कांग्रेसका खड्का यसअघिको चुनावमा एमालेका सुवास नेम्वाङसँग पराजित भएका थिए। उनले यसपटक आफ्नो पक्षमा वातावरण राम्रो भएको बताए। खड्काले हिमाल प्रेससँग भने, ‘मेरो पक्षमा माहोल राम्रै छ। शुभेच्छुक, मित्र र अन्य पार्टीका नेताहरूबाट पनि सकारात्मक प्रतिक्रिया आइरहेको छ। सबै मिलेर चुनावमा होमिएका छौँ।’

२०७९ को चुनावमा खड्काले २९ हजार ९ सय ३० मत ल्याएर पराजित हुँदा एमालेका सुवास नेम्वाङले ३० हजार २० मत ल्याएका थिए। खड्काले भने, ‘यसअघि पनि इलामवासी दाजुभाइ-दिदीबहिनीले माया गरेर मत हाल्नुभएको थियो। त्यही कारण त्यत्रो महत्त्वपूर्ण २९ हजार ९ सय ३० मत दिनुभयो। यो मेरा लागि अपार मत हो।’

सुवास नेम्वाङ जस्ता हेबी वेट उम्मेदवार हुँदा त आफूले पर्याप्त मत ल्याएकको स्मरण गर्दै खड्काले भने, ‘यसपालि पनि मैले जिल्लामा गरेका समाजसेवा, विकास निर्माणका काम र मेरो अनुभव हेरेर विश्वास गर्नुहुन्छ होला भन्नेमा म आशावादी छु।’

मुख्यतः इलाममा कांग्रेस-एमालेबीच मुख्य प्रतिस्पर्धा हुने आकलन छ। अन्य नयाँ र साना दललाई पनि सामान्य रूपमा लिन नमिल्ने विश्लेषकहरू बताउँछन्। स्वतन्त्र र रास्वपाजस्ता पार्टीले मत काट्ने अनुमान छ। नेपाली कांग्रेसले प्रचारप्रसार समिति बनाएर घरदैलो अभियान सरु गरेको छ। खड्काले भने, ‘पार्टीको प्रत्येक अंग परिचालिन भइरहेको छ।’

डम्बर खड्का : पहिले बाबुसँग लडे, अब छोरासँग

इलामकाे माटो र भूगोल चिनेको उम्मेदवार हुँ, जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु : मिलन लिम्बू

इलाम-२ मा पहिचान पक्षधर उम्मेदवार म मात्र हुँ : डकेन्द्र थेगिम [अन्तर्वार्ता]

वंशवादको आरोप गलत छ, मेरै एजेन्डाले चुनाव जित्छु : सुहाङ नेम्वाङ [अन्तर्वार्ता]

प्रकाशित: २४ चैत २०८० १३:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 13 =