इलाम २ मा उपनिर्वाचन

वंशवादको आरोप गलत छ, मेरै एजेन्डाले चुनाव जित्छु : सुहाङ नेम्वाङ [अन्तर्वार्ता]

हिमाल प्रेस २० चैत २०८० ११:४९
156
SHARES
वंशवादको आरोप गलत छ, मेरै एजेन्डाले चुनाव जित्छु : सुहाङ नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेले वैशाख १५ गते इलाम क्षेत्र नम्बर २ मा हुने निर्वाचनका लागि सुहाङ नेम्वाङलाई उम्मेदवार बनाएको छ। नेम्वाङ इलाम पुगेर घरदैलो कार्यक्रममा व्यस्त छन्। लामो समय एमाले नेता सुवास नेम्वाङले जितेको क्षेत्र इलाम-२ मा अहिले एमालेले नेम्वाङकै छोरालाई उम्मेदवार बनाएको हो। सुहाङलाई उम्मेदवार बनाएपछि एमाले नेतृत्वमाथि आँसु देखाएर भोट माग्न खोजेको आरोप लाग्न थालेको छ। कतिपयले चाहिँ युवालाई अवसर दिएको दाबी गरेका छन्। उपनिर्वाचन र आगामी राजनीतिका विषयमा नेम्वाङसँग हिमाल प्रेसले गरेको संक्षिप्त कुराकानी :

प्रचारप्रसार कसरी अघि बढाउँदै हुनुहुन्छ?

चुनावको मिति नजिकिएको छ। सबै मतदातासमक्ष पुग्ने प्रयत्नमा छु। अहिले पनि म मतदातासँग घरदैलोमै छु। शुभेच्छुुक र सबैजनालाई भेट्दैैछु। उहाँहरूले दिएको प्रतिक्रिया मनन गर्दै अघि बढिरहेको छु।

सबै मतदाताकहाँ आफैँ पुग्न खोज्नुभएको हो?

हो, म सकेसम्म सबै मतदाताकहाँ पुग्ने प्रयत्नमा छु। सकिनँ भने पनि अन्य नेतामार्फत सन्देश पठाउनेछु। अहिले म इलाम नगरपालिका आसपासका क्षेत्रमा छु। यहाँको घरदैलो सकेपछि अन्य ठाउँमा जानेछु। पार्टी निर्देशनअनुसार सबै क्षेत्रमा हाम्रा नेताहरू खट्नुभएको छ। हामी निरन्तर मतदातासँग छौँ।

घरदैलोमा पुग्दा मतदाताका समस्याचाहिँ के रहेछन्?

मुख्यतः विकासका कुरामा चासो छ। त्यो स्वाभाविक हो। म एउटा पार्टीको उम्मेदवार भए पनि युवा र नयाँ अनुहार हो। विकासका लागि केही हुटहुटी बोकेर मैदान छिरेको युवा भएकाले एकपटक ममौका दिनुपर्छ भन्ने मतदाताको भनाइ छ।

इलाम-२ लामो समय एमालेले जितेको क्षेत्र हो। त्यसमा पनि तपाईँ विरासत भएको परिवारको सदस्य हुनुहुन्छ। चुनौती छैन?

म यस विषयलाई फरक ढंगले हेर्छु। यो सुवास नेम्वाङको विरासत होइन। यो सिंगो इलामको विरासत हो। अर्को कुरा, मलाई खुसी लागेको छ। बुवापछि मैले इलाम-२ को प्रतिनिधित्व गर्ने अवसर पाएको छु। त्यो अवसरमा म चुक्दिनँ।

आलोचकहरूले भन्ने गरेका छन्, तपाईँ सुवास नेम्वाङको छोरा भएका कारण टिकट पाउनुभयो। मतदातासमक्ष पुग्दाचाहिँ यस्ता प्रश्न आउँछन् कि आउँदैनन्?

यस विषयलाई मैले २ वटा कोणबाट उत्तर दिने गरेको छु। म नेकपा एमालेको निश्चित प्रक्रिया पूरा गरेर इलाम-२ मा उम्मेदवार बनेको हुँ। जिल्ला कमिटी, प्रदेश कमिटी, केन्द्रीय कमिटी र सर्वेक्षण भइसकेपछि मलाई उम्मेदवारका रूपमा पार्टीले पठाएको हो।

अर्को कुरा, जुन तरिकाबाट वंशवाद भनेर एउटा भाष्य खडा गरिएको छ, त्यो बिलकुल गलत छ। किनभने मैले चुनाव जित्न मतदताको मन जित्नुपर्छ, उहाँहरूसमक्ष मेरा एजेन्डा पेस गर्नुपर्छ, त्यसपछि उहाँहरूलाई ठिक लाग्यो भने म उहाँहरूबाट अनुमोदित हुने हो। त्यसकारण वंशवाद भन्ने भाष्य गलत छ। यहाँ जनतामाझ हिँडिरहँदा सबैले आशीर्वाद दिनुभएको छ।

तपाईँले  एजेन्डाका कुरा उठाउनुभयो, यदि सुहाङ नेम्वाङ इलाम-२ को सांसद बनेमा के के कुरा जनताले पाउँछन् वा तपाईँले के कुरा पूरा गर्नुहुनेछ?

पार्टीले कोरेका विभिन्न एजेन्डा त छँदैछ। पार्टीका अग्रज, शुभेच्छुक र मित्रहरूले जनतासँग गरेका बाचा त छँदैछन्। सँगसँगै हामी आफैँले पनि यहाँको टड्कारो समस्यालाई पनि चुनावी मुद्दा बनाएका छौँ।

मेरा मुख्य दुई एजेन्डा छन् : शिक्षा र स्वास्थ्य। साथै पर्यटन र कृषिलाई प्राथमिकता दियौँ भने इलाम चाँडै समृद्ध बन्नेछ। सुशासनको पनि कुरा गर्नुपर्छ। बजेटअनुसार काम हुन सकेका छैनन्। वर्षाैँसम्म काम नहुँदा जनताले दुःख पाएका छन्। सुशासनकै कमजोरीले यस्तो भएको हो।

कृषिकै कुरामा पनि नुदान लिनेदेखि लिएर मल, ब्रान्डिङ र बजारीकरणसम्ममा ऐनकानुनमार्फत गर्नू भनिए तापनि काम भएको छैन। त्यो नहुनु भनेको सुशासनकै कमजोरी हो। जनतालाई अहिले सुशासनको प्रत्याभूति दिलाउनुपर्नेछ। हामीजस्तो ऊर्जावान् युवाले यो यिनै संकल्प अघि सार्नुपर्छ। सुशासनको प्रत्याभूति गराएमा मात्रै इलाम समृद्ध हुन्छ भन्ने हामीले बुझ्नुपर्छ। म यिनै कुरा लिएर जनताकहाँ गएको छु।

इलाम- मा २०७४ को चुनावमा एमाले उम्मेदवार झन्डै ९-१० हजार मतान्तरले निर्वाचित भएका थिए। ०७९ को चुनावमा ११४ मतान्तरले निर्वाचित भएको थियो। अबको प्रतिस्पर्धा कसरी अघि बढ्छ होला? तपाईँको प्रतिस्पर्धा कोसँग र कसरी हुन्छ?

जुन, ११४ मतको कुरा हजुरले गर्नुभयो। समानुपातिकतर्फ एमालेको २६ हजारभन्दा बढी मत छ। यता प्रत्यक्षमा ३० हजार मत आएको छ। यो मत धेरै हो। हामीले गठबन्धन लड्दा त्यो मत ल्याएका हौँ। बाहिरबाट देख्दा जस्तो देखिन्छ। भित्र कथा अर्कै हुन्छ। अहिलेको अवस्थामा गठबन्धन छैन। खुला मैदान छ।

अर्को कुरा, सबै प्रतिस्पर्धीलाई कमजोर ठान्नुहुन्न। सबैजनासँग मित्रवत् प्रतिस्पर्धा हुन्छ। मैले मेरोचाहिँ यो प्रतिस्पर्धी हो भन्नु भनेको अरूलाई गाली गर्नु मात्र हो। सबैजना मेरो प्रतिस्पर्धी हो। सबै अब्बल र सक्षम हुनुहुन्छ। म सबैलाई सम्मान गर्छु। हामी सबैजना स्वच्छ हिसाबले प्रतिस्पर्धा गर्ने हो।

इलामकाे माटो र भूगोल चिनेको उम्मेदवार हुँ, जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु : मिलन लिम्बू

प्रकाशित: २० चैत २०८० ११:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − sixteen =