इलाम २ मा उपनिर्वाचन

इलामकाे माटो र भूगोल चिनेको उम्मेदवार हुँ, जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु : मिलन लिम्बू

हिमाल प्रेस १९ चैत २०८० १०:३५
42
SHARES
इलामकाे माटो र भूगोल चिनेको उम्मेदवार हुँ, जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु : मिलन लिम्बू

आउँदो वैशाख १५ गते इलामको प्रतिनिधिसभा निर्वाचन क्षेत्र-२ मा उपनिर्वाचन हुँदैछ। एमाले सांसद सुवास नेम्वाङको निधन भएपछि खाली भएको ठाउँमा उपनिर्वाचन हुन लागेको हो। दलहरूले निर्वाचनका लागि उम्मेदवार घोषणा गर्न थालेका छन्। केही उम्मेदवारहरू चुनावी अभियान लिएर मतदाताकहाँ पुगिसकेका छन्। निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बूलाई मैदानमा उतारेको छ। चैत १७ गते (शनिबार) रास्वपा अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेसहितको टोली इलाम पुगेर लिम्बूलाई उम्मेदवार घोषणा गरेको हो। चुनावी अभियानबारे लिम्बूसँग उपनिर्वाचनका विषयमा हिमाल प्रेसले गरेको संक्षिप्त कुराकानी :

कसरी प्रचारमा लाग्नुभएको छ?

उम्मेदवारी घोषणा भयो। पार्टीको संरचनाअनुसार गाउँगाउँमा पुग्ने क्रम जारी छ। हामी जनतासमक्ष पुगिराखेका छौ। अब छलफल, संवाद, भेटघाट बाक्लो बनाइउने छौँ। ठूला सभाभन्दा घरदैलो कार्यक्रमलाई प्राथमिकतामा राखेका छौँ। समय कम छ। सधैँ सभा गरेर नहुने भएकाले मतदाताकहाँ पुग्ने प्रयत्न गरिराखेका छौँ।

उम्मेदवार चयनका लागि एकैपटक ६ सांसद इलाम पुग्नुभएको थियो। उहाँहरूले कस्तो रिपोर्ट लिएर फर्किनुभएछ?

हो, यसअघि हाम्रा नेता/सांसद यहाँ आउनुभएको थियो। उहाँहरूले गाउँगाउँमा जनताको भावना बुझ्ने काम गर्नुभयो। यहाँका जनता अहिले पहिलेभन्दा धेरै सचेत छन्। सधैँ एउटै पार्टीलाई बोक्दा विकासबाट ओझेलमा परेको गुनासो गरेका छन्। जनताले स्पष्ट रूपमै नयाँ दल आउनुपर्‍यो भनेका छन्। त्यसमा पनि जनताले रास्वपाप्रति एकदमै आशा रहेको बताएका छन्।

जनताले अब हाम्रो अभिमत दुरुपयोग हुनु हुँदैन भन्ने बुझेका छन्। हिजो हामीले मतदान गरेका राजनीतिक दलले हाम्रो मतको दुरुपयोग गरे। अबचाहिँ आशा लागेको पार्टी रास्वपा हो भनेका छन्। यही कारण पनि जनताले रास्वपालाई सकारात्मक रूपमा हेरेका छन्। घण्टीमा मतदान गर्न उहाँहरू तयार हुनुहुन्छ।

इलामको निर्वाचन इतिहास हेर्दा सधैँ ठूलै दलको हैकम चल्दै आएको छ। यसपटक इलाम २ का जनताको मानसिकता परिवर्तन हुन्छ भनेर कसरी पत्याउने?

हामी जनताको अभिमतमा भर पर्छौँ। जनताले पुराना दल कस्ता हुन्छन् भन्ने अब बुझिसकेका छन्। चुनाव जित्न ठूलै राजनीतिक दलको नेता हुनुपर्छ भन्ने भाष्य विफल भइसकेको छ। पछिल्लो समय स्वतन्त्र रूपमा उम्मेदवारी दिएर जितेका उदाहरण धेरै छन्। राजनीतिक दलविहीन स्वतन्त्र उम्मेदवारले पनि जित्दै आएका छन्। हाम्रो दलका सांसदले संसद्मा सशक्त रूपमा खेलेको भूमिकालाई इलामका जनताले राम्ररी हेरिरहेका छन्।

अर्को कुरा, कसको पकड कति छ र कसले कहिलेदेखि जितिराखेको छ भन्ने ठूलो कुरा होइन। जनताले विश्वास गरे भने जित सम्भव छ।

चुनावी प्रचारमा मिलन लिम्बू।

तपाईँको संघीयताको वकालत गर्ने मान्छे। तपाईँ रहनुभएको पार्टी रास्वपामा चाहिँ संघीयताविरोधी जस्तो देखिन्छ। रास्वपाले उपनिर्वाचनका लागि पनि प्रदेशसभामा उम्मेदवारी दिएको छैन। तपाईँ र रास्वपा फरक हो?

हाम्रो पार्टी संघीयताविरुद्ध छैन। संघीयतालाई बलियो र अर्थपूर्ण बनाउनुपर्छ भन्नेमा छ। यो देशमा संघीयताको विरोध गर्ने र खारेज गर्नुपर्छ भन्ने पार्टीहरू पनि छन्। रास्वपा त खारेज होइन सुधार गर्नुपर्छ पो भनिरहेको छ त।

इलामकै सभामा पनि नेतृत्वले पार्टी संघीयताको विपक्षमा नरहेको स्पष्ट पारिसकेको छ। अहिले संघीयता डम्पिङ साइडजस्तो बनाइएको छ। यसलाई करेक्सन गर्नुपर्छ र मात्र हामी सहभागी हुन्छौँ भनेर नोट अफ डिसेन्टजस्तो दिएको हो।

इलाम २ मा राई भर्सेस लिम्बूजस्तो देखिएको छ। पहिचान चाहने मतदाता पनि झुक्किने किसिमका व्यक्तिहरू मैदानमा छन्। एमालेबाट सुहाङ नेम्बाङ, रास्वपाबाट तपाईँ आफैँ, पहिचान पक्षधरबाट डकिन्द्र थेगिम र एकीकृत समाजवादीबाट जितबहादुर राई छन्। यसले गर्दा मतदाता अन्योलमा पर्ने सम्भावना देखिन्छ। यसमध्येबाट मिलन लिम्बू योग्य पात्र हो भनेर कसरी छान्ने?

मिलन लिम्बूमा झुक्किनुपर्ने कारण छैन। यो माटोको उम्मेदवार भनेको मिलन लिम्बू मात्र हो। म यहाँको माटो र भूगोल चिनेको उम्मेदवार हुँ। यहाँको दुःखपीडा चिनेको, समस्या र सम्भावना चिनेको उम्मेदवार मिलन लिम्बू हो। अर्को कुरा म कुनै स्वार्थ पूरा गर्न राजनीतिमा आएको होइन।

निःस्वार्थ जनताको सेवा गर्छु भनेर पेसागत सबै सम्भावना त्यागेर म राजनीतिमा होमिएको हुँ। अबको २०-३० वर्ष जनताका लागि काम गर्ने संकल्प लिएर उम्मेदवार बनेको छु। म सांसद भए पनि नभए पनि जनताको काम गर्न आएको हुँ। यसकारण म जनताले मतदान गरेर जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु। अर्को कुरा, पहिचानपक्षमा मतदाता झुक्किनुहुन्न। अबका मतदाता साक्षर र सक्षम बनिसक्नुभएको छ। उहाँहरूले उपयुक्त उम्मेदवारलाई मतदान गर्नुहुन्छ। म त्यही उम्मेदवारमा पर्छु।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 + 6 =