उपनिर्वाचन

इलाम-२ मा पहिचान पक्षधर उम्मेदवार म मात्र हुँ : डकेन्द्र थेगिम [अन्तर्वार्ता]

हिमाल प्रेस २१ चैत २०८० १३:५७
160
SHARES
इलाम-२ मा पहिचान पक्षधर उम्मेदवार म मात्र हुँ : डकेन्द्र थेगिम [अन्तर्वार्ता]

आउँदो वैशाख १५ मा हुने उपनिर्वाचनलाई केन्द्रित गरेर इलाम क्षेत्र नम्बर २ मा उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। कोही पार्टीबाट त कोही स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गर्दै मत मागिरहेका छन्। यसैमध्ये स्वतन्त्र रूपमा उम्मेदवारी दिने घोषणा गर्नेमा पर्छन् डकेन्द्र थेगिम। उनले आफू संयुक्त रूपमा पहिचान पक्षधरतर्फबाट उम्मेदवार बनेको दाबी गर्दै आएका छन्। थेगिमसँग इलाम-२ को उपनिर्वाचनसँग सम्बन्धित विषयमा हिमालप्रेसले गरेको संक्षिप्त कुराकानी :

इलाम-२ मा तपाईँ पनि उम्मेदवारी दिने तयारीमा हुनुहुन्छ। कस्तो छ स्थिति?

माङसेबुङ बुधबार भव्य कार्यक्रम आयोजना गरिएको छ। हामी धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङदेखि किरात धर्म गुरु (आत्मनन्द लिङ्देन)को आशीर्वाद लिएर कार्यक्रम अघि बढाउँदैछौँ। हामी चुनावी कार्यक्रममा खटिइसकेका छौँ। आजको कार्यक्रममा सांगीतिक प्रस्तुतिसमेत रहनेछ। यसबाट बुझ्नुहोस् कि चुनाव लागेको छ।

डेकेन्द्र थेगिम इलाम-२ को सांसद भएपछि जनता पाउने के हो?

पहिलो कुरा त म इलाम-२ को पश्चिमी क्षेत्रको प्रतिनिधि म हुँ। यसअघि प्रतिनिधिहरू सबै इलाम नगरपालिका आसपास वा पूर्वी क्षेत्रका हुनुहुन्थ्यो। उहाँहरूले उताको विकास गर्नुभयो। यता हेर्न भ्याउनुभएन। यो क्षेत्र इलामको कर्णालीजस्तै हो। अहिलेसम्म यहाँ विकास भएको छैन। पश्चिमी क्षेत्रमा विकास भएकै छैन। म यही क्षेत्र, भूगोल र समुदायमा रहेको उम्मेदवार हुँ।

यो भूगोलको आवश्यकता मलाई थाहा छ। विकासका पूर्वाधारदेखि सबै काममा म सचेत छु। अर्को कुरा, मुलुकमा अहिले पहिचानको मुद्दा छ। एक जातिको मात्र होइन, यहाँका आदिवासी, जनजाति, दलित, उत्पीडितदेखि सबै समुदायलाई सुरक्षित हुने साझा प्रतिनिधित्व डकेन्द्र थेगिमले गर्छ।

म सबैको धर्म, क्षेत्र, लिंग, समुदाय, जातको साझा प्रतिनिधिको संयुक्त आवाज उठाउँछु। इतिहासलाई संरक्षण गर्दै शान्ति, अमनचयन र समृद्धितर्फ मुलुक अघि बढाउन म महत्त्वपूर्ण भूमिका खेल्छु।

तपाईँ किरात धर्म तथा साहित्य उत्थान संघको महत्त्वपूर्ण पदमा हुनुहुन्छ। राजीनामा नदिई चुनाव लड्नुभयो भनेर गुरु नजिककै व्यक्तिले आरोप लगाइरहेका छन्। खास कुरा के हो?

म स्पष्ट गर्छु, अरू सामाजिक-धार्मिक संघसंस्थाको अध्यक्ष बन्ने प्रक्रिया अधिवेशनबाट हुन्छ भने हाम्रो किरात-धर्म तथा साहित्य उत्थान संघको विधानमा चाहिँ संघको अध्यक्ष गुरुज्यूबाट सोझै हुने व्यवस्था छ। त्यसले गर्दा मैले राजनीतिमा लाग्दा अरू कसैलाई कार्यवाहक दिएर जानुपर्ने हुन्छ। तथापि यहाँ अहिले यो कुरा धेरै उठेको हुँदा मैले राजीनामा दिइसकेँ। भक्तजनको पनि इच्छा-आकांक्षालाई मारमा नपार्नका लागि राजीनामा दिएको हुँ।

तपाईँको विषय गुरु नजिककै व्यक्तिले उठाइरहेका छन्। तपाईँ संस्थाको धर्म विपरीत जानुभयो भनेर भनिरहेका छन्। तपाईँ आफैँचाहिँ गुरुबाट आशीर्वाद लिन्छु र गुरु नजिकको उम्मेदवार हुँ भन्नुहुन्छ, अलि कुरा बुझिएन नि?

म गुरुज्यूबाट प्रत्यक्ष मनोनीत अध्यक्ष हुँ। गुरुसँग सबैभन्दा नजिकको संस्थागत हिसाबमा म हुँ। मेरो विरुद्धमा सामाजिक सञ्जालमा लाग्ने व्यक्तिले चाहिँ गुरुज्यूको विचार र मार्गदर्शनमाथि प्रहार गरेका हुन्। त्यो कुरा उनीहरूले बुझेका छैनन्।

कदमकदममा गुरुको विचार बोकेको व्यक्ति हुँ। गुरुज्यूको निर्देशन, मार्गदर्शन अक्षरस: पालना गरिरहेको छु। जो माङसेबुङमा बसेर भक्तजनप्रति कटाक्ष गरिरहेका छन् उनीहरूले गुरुज्यूप्रति कटाक्ष गरेको मेरो बुझाइ छ। यसरी कटाक्ष गर्नेलाई पनि मैले सम्मान गर्नुपर्छ। मैले त्यही कारण संस्थाबाट राजीनामा दिएको हुँ।

तपाईँले पहिचानको मुद्दा उठाउनुभयो। पहिचानकै मुद्दामा उठाएर धेरैले उम्मेदवारी दिएका छन्। तपाईँ सबै पहिचान पक्षधरको साझा उम्मेदवार भन्दै हुनुहुन्छ। यसरी अन्य उम्मेदवारले पनि पहिचानको मुद्दा उठाउँदा तपाईँ कसरी साझा उम्मेदवार बन्नुभयो?

यो एकदमै हास्यास्पद छ। सुहाङ नेम्वाङ एमालेका उम्मेदवार हुन्। एमाले पहिचानवादी पार्टी हुँदै होइन। मुलुकमा सबैभन्दा पहिचानविरोधी पार्टी एमाले हो। लिम्बू कुलमा जन्मिँदैमा सुहाङलाई पहिचान पक्षधर भन्न सकिन्न। मिलन लिम्बूले पहिले स्वतन्त्र उम्मेदवारी दिन्छु भनेर घोषणा गरे। अनि पार्टीबाट उम्मेदवारी दिए। त्यसमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त पहिचान मात्र होइन संघीयताविरोधी हो।

मिलन पहिचान र संघीयताकै विरोधी भए अब। जनमतबाट उठाएका उम्मेदवार पनि पार्टीका उम्मेदवार हुन्। पार्टीबाट भएपछि साझा होइनन्। अन्य उम्मेदवारको के चर्चा गर्नु? अहिलेसम्म सबै पक्षधरले समर्थन गरेको, पहिचानको आन्दोलनको संघर्ष गरिरहेको एक पात्र उम्मेदवार डकेन्द्र थेगिम हो।

वंशवादको आरोप गलत छ, मेरै एजेन्डाले चुनाव जित्छु : सुहाङ नेम्वाङ [अन्तर्वार्ता]

इलामकाे माटो र भूगोल चिनेको उम्मेदवार हुँ, जनताले जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु : मिलन लिम्बू

प्रकाशित: २१ चैत २०८० १३:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =