डम्बर खड्का : पहिले बाबुसँग लडे, अब छोरासँग

किरण पौडेल २२ चैत २०८० १६:०९
192
SHARES
डम्बर खड्का : पहिले बाबुसँग लडे, अब छोरासँग डम्बर र सुहाङ

काठमाडौँ- नेपाली कांग्रेसले इलाम-२ का लागि प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा डम्बर खड्कालाई उम्मेदवार बनाउने भएको छ। खड्का जिल्ला पार्टी सभापति हुन्।  पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बुधबार बसेको उम्मेदवारका आकांक्षीसहितको सामूहिक छलफलबाट खड्का उम्मेदवार चुनिएका छन्।

इलाम-२ का लागि खड्का नयाँ अनुहार भने होइनन्। यसअघिका विभिन्न चुनावमा खड्काले चुनावी प्रतिस्पर्धा गरेका छन्। खड्का २०७९ को आमनिर्वाचनमा पनि सोही क्षेत्रमा भिडेका थिए। त्यसबेला झिनो मतान्तरले खड्का उपविजेता बने। संयोगचाहिँ त्यसबेला सुवास नेम्वाङसँग भिडेका खड्का अब सुवास पुत्र सुहाङसँग भिड्दैछन्। यस्तै बाबुसँग भिडेको १७ महिनापछि खड्काले छोरा प्रतिस्पर्धी पाएका छन्।

खड्का २०७९ मंसिर ४ को चुनावमा एमालेका नेम्वाङसँग ११४ मतान्तरले पराजित भएका थिए। नेम्वाङ ३० हजार २० मत ल्याएर विजयी हुँदा खड्काले २९ हजार ९०६ मत पाएका थिए।

तत्कालीन सांसद नेम्वाङको भदौ २५ गते निधनपछि इलाम- २ मा आगामी वैशाख १५ मा उपनिर्वाचनका हुन लागेको हो। कांग्रेसमा उम्मेदवार बनाउने विषयमा लामै रस्साकस्सी चलेको थियो।

टिकटका लागि भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राईले आकांक्षा देखाएका थिए। पार्टी सभापति शेरबहादुर देउवाले खड्कालाई नै रोजेका छन्।

इलाम-२ नेकपा एमालेले जित्दै आएको क्षेत्र हो। उक्त क्षेत्रमा २०५६ सालदेखि एमालेका नेम्वाङले जित्दै आएका थिए। सोही कारण पनि एमालेले उनकै छोरा सुहाङलाई उम्मेदवार बनाएको छ।

कांग्रेस उम्मेदवार खड्काले जित्ने दाबी गर्दै आएका छन्। उनले यसअघि पनि आफूले चुनाव नहारेको र अबको जित निश्चित रहेको बताए। खड्काले अघिल्लो चुनावमा नेम्वाङले जितेका विषयमा छानबिन गर्न निर्वाचन आयोगमा उजुरी दिएका थिए। यद्यपि अहिलेसम्म सुनुवाइ भएको छैन।

कांग्रेसका कार्यकर्ता पनि खड्काको जित निश्चित रहेको बताउँछन्। इलाम २ का प्रतिनिधिसभा सदस्यका दाबेदार मानिने नगेन्द्र कुमालले यसपल्ट कांग्रेसले नै जित्ने दाबी गरे। उनले जसलाई उम्मेदवार बनाए पनि जिताउन लागिपर्ने बताए।

यस्तो छ खड्काको राजनीतिक इतिहास

ठक्का निर्माण व्यवसायी हुन्। खड्काले शेखर कोइराला पक्षधर भेषराज आचार्यलाई हराउँदै जिल्ला पार्टी सभापति बनेका थिए। आचार्य पनि टिकट पाउन प्रबल दाबेदार थिए।

खड्का यसअघिको १३ औँ अधिवेशनमा पनि सभापतिका दाबेदार थिए। तर जित्न सकेनन्। त्यसअघि १२ औँ अधिवेशनमा कोषाध्यक्ष बनेका थिए।

खड्कासँग नेविसंघको राजनीति गरेको अनुभव छ। उनी नेविसंघको १२ औँ अधिवेशनबाट केन्द्रीय उपाध्यक्षसमेत बनेका थिए। संसदीय राजनीतिक इतिहास भने लामो छैन। उनी २०७४ को चुनावमा इलामको २ को (क) बाट चुनाव लडेका थिए।

खड्का तत्कालीन वाम गठबन्धनका उम्मेदवार राम रानासँग पराजित भएका थिए। प्रदेशसभा हारेका खड्का २०७९ को आमचुनावमा प्रतिनिधिसभामा उम्मेदवार बनेका थिए। उनी इलामको प्रतिनिधिसभा १ बाट चुनाव लड्न चाहन्थे। तर तत्कालीन कांग्रेस-माओवादी गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खड्का उम्मेदवार बन्दा खड्का इलाम २ तिर फड्किएका थिए। स्पष्ट वक्ताको छबि बनाएका खड्का जिल्लामा विकासवादी नेताका रूपमा चिनिन्छन्।

प्रकाशित: २२ चैत २०८० १६:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =