इलाम २ मा उपनिर्वाचन

इलाम-२ : मतदाताको विकल्प, पहिचानवादी कि नयाँ शक्ति?

किरण पौडेल २८ चैत २०८० ६:४२
14
SHARES
इलाम-२ : मतदाताको विकल्प, पहिचानवादी कि नयाँ शक्ति? इलाम-२ मा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि प्रतिस्पर्धामा उत्रिएका कांग्रेसका डम्बर खड्का, एमाले सुहाङ नेम्वाङ, स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिम र रास्वपाका मिलन लिम्बू।

काठमाडौँ-  विगतमा नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै आएको इलाम–२ मा यसपटकको उपनिर्वाचनमा मतदाताले अन्य दुई विकल्प पनि रोज्न पाउने भएका छन्। कोशी प्रदेशमा चर्चामा रहँदै आएको पहिचानवादी समर्थक उम्मेदवार र संसदीय राजनीतिमा भर्खरै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले जनताको घरदैलोमा प्रभावकारी रूपमा प्रस्तुत भएका छन्। त्यसैले निर्वाचनमा कसका पक्षमा मत आउला भन्न सकिने अवस्था नरहेको जानकारहरू बताउँछन्।

 इलामका पुराना पत्रकार धर्म गौतम यसपल्ट चुनावमा फरक परिवेश देखा परेको बताउँछन्। ‘पहिले जस्तो अहिले ठ्याक्कै भन्न सक्ने अवस्था छैन। प्रतिस्पर्धा तीव्र हुने देखिन्छ,’ गौतम भन्छन्, ‘पहिले कांग्रेस-एमालेबीच मात्र प्रतिस्पर्धा हुन्थ्यो तर अहिले त्रिकोणीय र चौपक्षीय भिडन्छ हुने देखिन्छ।’

गौतम कांग्रेस-एमालेमा परिपक्व उम्मेदवार नभएकाले नयाँ शक्ति उदाएको दाबी गर्छन्। ‘कांग्रेसभित्र त उम्मेदवार चयनबाटै समस्या देखियो। एमाले पनि सिनियर छाडेर जुनियरतर्फ उम्मेदवार चयनमा लाग्यो’, गौतम थप्छन्, ‘जनताले विकल्प चाहेका छन्। यही कारण यसपटक फरक छ परिवेश।’

माङसेबुङ गाउँपालिकाका डकेन्द्र थेगिमले लामो समय वामपन्थी (एमाले) राजनीति गरे। दुई दशकभन्दा लामो आस्थाको राजनीति गरेको पार्टीबाट चित्तबुझ्दो काम नभएपछि उनी २०७० सालदेखि निष्कृय थिए।

उनले निर्वाचनमा मतदानबाहेक अन्य काम गरेनन्। पहिचानवादी धारको दाबी गर्दै उनी तत्कालीन संघीय समाजवादीसँग निकट रहे। यद्यपि एमालेको पार्टी सदस्यता भने त्यागेका थिएनन्।

‘म एमालेमा थिइनँ तर सदस्यता (पीएम) चाहिँ थियो’, थेगिम भन्छन्। २०७९ फागुनमा प्रदेश १ को नाम कोशी राखियो। त्यसपछि उनी पहिचानवादी आन्दोलनमा खुलेर लागे। ‘म पहिचानको आन्दोलनमा लागेँ। बिस्तारै राजनीतिर्फ लाग्नुपर्ने भयो। अनि पत्रकार सम्मेलन गरेर एमाले त्यागेँ’, थेगिम एमाले छाड्नुको कारण स्पष्ट पार्छन्।

दल त्यागेर थेगिम स्वतन्त्र रूपमा अहिले वैशाख १५ गते हुने उपनिर्वाचनमा उम्मेदवार बनेका छन्। उनलाई अन्य राजनीतिक दलहरूको साथ छ। नेपाल समाजवादी पार्टी (नेसपा), जनता समाजवादी पार्टी (जसपा), नागरिक उन्मुक्ति पार्टी (नाउपा) लगायतका पार्टीका उम्मेदवार पनि हुन् थेगिम।

कोशी नामकरणविरुद्ध आन्दोलनमा उत्रिएका सबै दल एक भएर चुनावमा जाने सहमति थियो। संयुक्त मोर्चामा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने थेगिमसँग छैनन्। इलाम-२ मा माओवादी केन्द्रले एमाले उम्मेदवारलाई समर्थन गरेको छ भने समाजवादीले आफ्नै उम्मेदवार उठाएको छ।

लामो समय पत्रकारिता गरेका माङसेबुङबासी मिलन लिम्बूले राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका छन्। केही महिनाअघिसम्म उनी नेकपा माओवादी निकट मानिने प्रेस सेन्टरमा आबद्ध थिए।

मिलनले सुरुबाटै पहिचान र संघीयताको मुद्दालाई प्रमुख एजेन्डा बनाएका थिए। रास्वपा भने संघीयताको विरोधमा छ। प्रदेश संरचना राज्यका लागि भारमात्र भएको रास्वपाको ठम्याइ छ। त्यसैले मिलनमाथि प्रश्न उठेको छ। त्यसैले उनी रास्वपा संघीयताविरोधी नभएको दाबी गर्दै आएका छन्।

इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिएको डाकमान गौतम पनि पटकपटक चुनाव लडेका पात्र हुन्। कांग्रेस छत्रछायामा रहेका उनी केही वर्षअघि संघीय लिम्बुवानमा रहे। त्यसपछि गत चुनावमा नेपाली कांग्रेस (बीपी) बाट चुनाव लडेका थिए। अहिले उनी फेरि स्वतन्त्र रूपमा मैदान उत्रेका छन्।

इलाम-२ मा हुन लागेको उपनिर्वाचनलाई धेरै दल र उम्मेदवारले पहिचान र प्रतिष्ठाको विषय बनाएका छन्। थेगिमसहित केही उम्मेदवारले पहिचानको मुद्दालाई मुख्य एजेन्डा बनाएका छन्। उनीहरूको प्रमुख एजेन्डा कोशी प्रदेशको नामकरणसँग छ।

थेगिमलाई प्रदेश नम्बर एक पुनः नामकरण संयुक्त संघर्ष समितिले उम्मेदवार बनाएको हो। थेगिम संघर्ष समितिमा रहेकै दलहरूको समर्थनमा मैदानमा उत्रिएका छन्।
जनमत पार्टीबाट उठेका प्रेम थाम्सुहाङले पनि नामकरणकै मुद्दालाई प्रमुख बनाएका छन्। उनी पनि कोशी नामकरणविरुद्ध आन्दोलन गरेका व्यक्ति हुन्।

उनीहरूको भर पहिचानवादी दल र किरात धर्मावलम्बी मतदातामा छ। यही कारण यसपटक पहिचानवादी मतदाता बाडिँने उनीहरू निकट नेताहरू सुनाउँछन्। ‘इलाम २ को निर्वाचनले प्रदेशको नामकरण र पहिचानसँग कतै सम्बन्ध छैन,’ माओवादी नेता इन्द्र आङ्बो भन्छन्, ‘यसबारे कोही भ्रममा नपरौँ।’

आङ्बोका अनुसार सीमित स्वार्थका लागि सामाजिक संघसंस्थाको बदनाम भइरहेको छ। एमाले नेताहरूको भनाइ पनि उस्तै छ। नेता हिक्मत कार्की पहिचानसँग यो चुनावको कुनै सम्बन्ध नरहेको बताउँछन्। उपनिर्वाचनका लागि २० उम्मेदवार सहभागी हुँदैछन्।

साहित्यकार हाङयुग अज्ञात पहिचानकाे धारणा कसैकाे पेवा नहुने बताउँछन्।  सत्ता साझेदार दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रका साझा उम्मेदवार सुहाङ नेम्वाङ‍, नेपाली कांंग्रेसका डम्बर खड्का र राष्ट्रिय स्वतन्त्र पार्टीबाट मिलन लिम्बू चुनावी मैदानमा छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी गुरुङ, नेकपा एकीकृत समाजवादीका जितबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, पहिचानवादीका डकेन्द्रसिंह थेगिम, नेपाल मजदुर किसान पार्टीका श्याम दर्जी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका गणेशबहादुर चौहान, राष्ट्रिय मुक्ति आन्दोलन नेपालका जयवन्तविक्रम शाह, नेसनल रिपब्लिक नेपालका धनराज राना मगर, मंगोल नेसनल अर्गनाइजेसनका मणिबहादुर लिम्बू र नेपाली जनता दलका रेशमबहादुर सुनुवार पनि चुनावी प्रतिस्पर्धामा छन्।

यसैगरी, स्वतन्त्र उम्मेदवारहरू क्रमशः डाकप्रसाद गौतम, दीपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ र राज बस्याल पनि चुनावी भिडन्तमा सामेल छन्।

उपनिर्वाचन सम्पन्न गर्न निर्वाचन आयोगले जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मुख्य निर्वाचन अधिकृत तोकेको छ। इलाम-२ मा ७९ मतदानस्थल र एक सय ४९ मतदान केन्द्र रहेका छन्।

यी केन्द्रमा आठ सय ९४ कर्मचारी परिचालन हुनेछन्। निर्वाचन आयोगका अनुसार यही चैत २७ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरिनेछ। चैत २८ देखि वैशाख १२ गतेसम्म प्रचारको अवधि तोकिएको छ।

प्रकाशित: २८ चैत २०८० ६:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − six =