वैदेशिक रोजगारी : दैनिक आउँछ पाँचवटा शव

रमेश भारती १९ चैत २०८० १५:२४
218
SHARES
वैदेशिक रोजगारी : दैनिक आउँछ पाँचवटा शव

काठमाडौँ- वैदेशिक रोजगारीमा ज्यान गुमाएका युवाको दैनिक औसतमा पाँचवटा शव बाकसमा आउने गरेको छ। वैदेशिक रोजगार बोर्डको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साढे ८ महिनामा विभिन्न देशमा काम गर्न गएका एक हजार दुई सय ५५ नेपाली युवाले ज्यान गुमाएका छन्। ती शव बाकसमा हवाईमार्ग हुँदै स्वदेश ल्याउने गरिएको छ।

वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका मध्ये दैनिक औसतमा ५ वटा शव हवाईमार्गबाट आउने गरेको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।

साउदी,  मलेसिया,  कतार, यूएई, कुवेत, ओमान र बहराइनमा सबैभन्दा बढी नेपालीको मृत्यु हुने गरेको छ। यी देश वैदेशिक रोजगारीका लागि नेपालीको रोजाइमा छन्। ढकालले चालु आर्थिक वर्षको साढे आठ महिनामा साउदीमा ५१४, मलेसियामा ३३३, कतारमा १२३ र यूएईमा ८२ जना नेपालीको मृत्यु भएको बताए।

चालु आवको आठ महिनामा श्रम स्वीकृति लिई ४ लाख ७१ हजार २ सय १० नेपाली वैदेशिक रोजगारीमा गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

बोर्डले २०६५ सालदेखि वैदेशिक रोजगारीमा गएर मृत्यु हुनेको विवरण  राख्न थालेको हो। २०६५ सालमा रोजगारीका लागि विभिन्न देशमा पुगेका ७८ नेपालीको ज्यान गएको थियो। बोर्डको तथ्यांकअनुसार आव २०६५/०६६ मा तीन लाख नेपाली युवा श्रमका लागि विभिन्न देशमा पुगेका थिए। त्यसपछि रोजगारीका लागि विदेश जाने र मृत्यु हुनेको संख्या बढ्न थालेको छ। पछिल्लो दिनमा दैनिक २१ सय नेपाली रोजगारीका लागि विभिन्न देशमा जाने गरेका छन्।

आर्थिक वर्ष २०६५/६६ यता ६१ लाख ९ हजार ४ सय नेपाली युवा वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न देशमा पुगेका छन्। तीमध्ये १३ हजार ३ सय ९५ जना नेपालीले रोजगारदाता देशमै ज्यान गुमाएको बोर्डको तथ्यांक छ।

आव २०६६/६७ मा वैदेशिक रोजगारीमा गएका ४२१ नेपाली युवाको ज्यान गएको थियो। यसैगरी २०६७/६८ मा ५६४ जना, २०६८/६९ मा ६४७ जना, २०६९/७० मा ७७२ जना नेपाली युवाको ज्यान गएको बोर्डको तथ्यांक छ।

वैदेशिक रोजगारीका क्रममा २०७०/७१ मा ८७७ जना, २०७१/७२ मा १ हजार ६ जना, २०७२/७३ मा ८२६ जना र २०७३/७४ मा ७५८ जनाको मृत्यु भएको थियो। आर्थिक वर्ष २०७४/७५ मा ८२६ जना, २०७५/७६ मा ७६३ जना, २०७६/७७ मा ६७२ जना, २०७७/७८ मा १ हजार २४३ जना, २०७८/७९ मा १ हजार ४७९ जना, २०७९/८० मा १ हजार २०८ जनाको मृत्यु भएको छ।

वैदेशिक रोजगारीमा गएका कामदारले विभिन्न कारणले रोजगारदाता देशमा ज्यान गुमाउने गरेको वैदेशिक रोजगार बोर्डका प्रवक्ता टीकाराम ढकाल बताउँछन्। वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका कतिपय नेपालीको पहिचान पनि खुल्दैन। बोर्डले वैदेशिक रोजगारीमा कार्यरत कामदारको मृत्युदर घटाउन मनोपरामर्श कार्यक्रम सञ्चालन गरिरहेको छ।

‘बोर्डले वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर घटाउन र रोक्न रोजगारदाता कम्पनीसँग पनि परामर्श गरिरहेको छ। कतिपय रोजगारदाता कम्पनीले कामदारका समस्या केन्द्रित सुविधासमेत दिँदै आएका छन्’, ढकालले भने।

विदेशमा विभिन्न कारणले ज्यान गुमाएकाहरूका परिवारलाई बोर्डले ७ लाख रूपैयाँ आर्थिक सहायता प्रदान गर्दै आएको छ। यो सहायता वैदेशिक रोजगारीका क्रममा श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकमबाटै प्रदान गरिन्छ।

बोर्डका अनुसार वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकामध्ये चालु आवमा ८ सय १७ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप २८ करोड ९५ लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको छ। यस्तै वैदेशिक रोजगारीका क्रममा बिरामी र अंगभंग भएका ३३३ जनालाई आर्थिक सहायतास्वरूप १० करोड ६ लाख ३५ हजार रुपैयाँ उपलब्ध गराइएको छ। यस अवधिमा १९७ वटा शव बोर्डको खर्चमा नेपाल ल्याइएको ढकालले बताए।

बोर्डले गत आर्थिक वर्षमा मृत्यु भएका १ हजार २०८ परिवारलाई आर्थिक सहायतास्वरूप ६५ करोड ५१ लाख ८० हजार रुपैयाँ प्रदान गरेको थियो। गत आर्थिक वर्ष वैदेशिक रोजगारीका क्रममा अंगभंग तथा गम्भीर बिरामी भएका ३८९ जनालाई ९ करोड ९७ लाख ८ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरिएको थियो।

आर्थिक वर्ष २०६५/६६ देखि हालसम्म वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका १३ हजार ४४ जनाको परिवारलाई आर्थिक सहायतास्वरूप ४ अर्ब ८६ करोड ३० लाख ४४ हजार रुपैयाँ उपलब्ध गराएको बोर्डको तथ्यांकमा छ।

१६ वर्ष अवधिमा वैदेशिक रोजगारीमा गएकाबाट नेपालमा ९९.६६ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यस अवधिमा सबैभन्दा बढी रेमिट्यान्स गत आर्थिक वर्ष भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ।

रोजगारविज्ञ डा. गणेश गुरुङ अभिमुखीकरण तालिम नपाउँदा नेपाली कामदारले रोजगारदाता देशमा ज्यान गुमाउनुपरेको बताउँछन्। वैदेशिक रोजगारीमा कार्यरत नेपाली ‘कुरा सुन्ने र सुनाउने’ ठाउँ नहुँदा सामाजिक तथा सांस्कृतिक विचलनमा पुग्ने गरेको बुझाइ उनको छ। कतिपय देशमा यही समस्याका कारण नेपाली युवाको मृत्यु हुने गरेको छ।

‘सरकारले नेपाली वैदेशिक रोजगारीका क्रममा भइरहेको मृत्युदर घटाउन प्रयास गरेको छैन। यो ठूलो समस्या हो। विदेशमा हुने मृत्युको पहिचान गरेर रोक्नुपर्छ’, गुरुङले भने।

प्रकाशित: १९ चैत २०८० १५:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 12 =