आवरण

११ देशको सेना-प्रहरीमा नेपाली युवा, न सम्झौता न सेवासुविधाको टुंगो

रमेश भारती ८ माघ २०८० ११:३४
88
SHARES
११ देशको सेना-प्रहरीमा नेपाली युवा, न सम्झौता न सेवासुविधाको टुंगो प्रतिनिधिमूलक तस्बिर। स्रोत : पिक्सेल

काठमाडौँ– आकर्षक तलबसुविधाको प्रलोभनमा नेपाली युवा सम्झौता नभएका देशमा पुगेर सेना र प्रहरीमा भर्ती हुने गरेका छन्। यसरी भर्ती भएका युवाको पारिश्रमिकको टुंगो त छैन नै, हतियार चलाउने काममा खटिँदा विदेशी भूमिमा उनीहरूको ज्यान जोखिममा पर्दै आएको छ। यस सम्बन्धमा नेपाल सरकार भने बेखरजस्तै छ।

कुन देशको सुरक्षा निकायमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक सरकारी निकायसँग छैन। नेपाली युवा सम्झौताबिना नै ११ वटा देशको सेना र प्रहरीमा कार्यरत रहेको विवरण रहे पनि कुन देशको सुरक्षा निकायमा कति नेपाली कार्यरत छन् भन्ने तथ्यांक नरहेको श्रम रोजगार तथा सामाजिक विकास मन्त्रालयका अधिकारीहरू बताउँछन्। अवैध रूपमा पुगेका नेपाली युवा सेनामा भर्ती भएर युद्धमा पर्न थालेपछि उद्धार र क्षतिपूर्ति प्राप्ति सरकारका लागि टाउको दुखाइ बनेको छ।

मन्त्रालयका अनुसार नेपाली युवा ११ वटा देशको सेना र प्रहरी सेवामा भर्ती भइरहेका छन्। यसमा बेलायत, भारत र सिंगापुर भने समेटिएको छैन। भारतीय सेना र प्रहरी, बेलायती सेना र सिंगापुर प्रहरीमा सरकारसँग भएको सम्झौताकै आधारमा नेपाली युवा भर्ती हुने गरेका छन्।

नेपाली युवा अमेरिका, फ्रान्स, जर्मनी, युक्रेन र रुसी सेनामा भर्ती हुने गरेका छन् भने यूएई, कतार, ब्रुनाई, टर्की, ओमान र मलेसिया प्रहरीमा भर्ती हुने गरेका छन्। यी देशको सेना र प्रहरीमा भर्तीका लागि सरकारी स्तरमा सम्झौता भएको छैन। यस्तै कतिपय देशमा त्यहाँको स्थायी बसोबास अनुमति पाएपछि मात्रै सेनामा भर्ती हुन पाउँछन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरे भारत, बेलायत र सिंगापुरबाहेक अन्य देशसँग सेना र प्रहरीमा भर्ती गराउन सरकारले सम्झौता नगरेको बताउँछन्। भिजिट भिसा, कामदार भिसा र अध्ययनका लागि विभिन्न देश पुगेका नेपाली युवा त्यहाँ पुगेर सेना र प्रहरीमा भर्ती भइरहेको उनले बताए।

घिमिरे भन्छन्, ’एउटा कामका लागि एउटा देश पुगेका नेपाली त्यहाँ छाडेर अर्को देशमा पुगेर सेना र प्रहरीमा भर्ना भएका धेरै उदाहरण छन्। त्यसैले हामीलाई यसबारे तथ्यांक पाउन कठिन हुन्छ।’ उनका अनुसार १४ देशको सेना र प्रहरीमा नेपाली युवा भर्ती भइरहेका छन्। ती देशमा २० हजारभन्दा बढी नेपाली सेना र प्रहरीमा कार्यरत रहेको अनुमान छ।

युद्धग्रस्त देशको सेनामा भर्ती हुन नेपाली युवालाई रोक्ने प्रयास भइरहेको घिमिरेले बताए। उनले भने, ‘सेना र प्रहरीमा भर्ती भइरहेका केही देशसँग सम्झौता लागि छलफल भइरहेको र युद्धग्रस्त देशलाई भर्ती नगराउन पत्राचार गरेको छ।’

नेपालीहरू रोजगारीका लागि संस्थागत रूपमा एक सय ११ मा पुगेका छन्। यसैगरी व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर समेत गरी नेपाली एक सय ७८ देशमा पुगेको श्रम मन्त्रालयको तथ्यांक छ। विश्वका विभिन्न देशमा गरी करिब ४५ लाख नेपाली रोजगारीमा रहेको महानिर्देशक घिमिरे बताउँछन्।

पाँच देशको सेनामा नेपाली

भारत र बेलायती सेनामा नेपाली युवा वैधानिक रूपमा भर्ती हुन पाउँछन्। अन्य देशसँग नेपालीलाई सेनामा भर्ती गराउन सरकारले अनुमति दिएको छैन। साथै सरकारले सम्झौता पनि गरेको छैन। सम्झौता नभएका फ्रान्स, अमेरिका, रुस, जर्मनी र युक्रेनको सेनामा नेपाली युवा भर्ती भइरहेको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन्।

नेपाली नागरिक अमेरिकी सेनामा भर्ती हुन पाउँदैनन्। अमेरिकी पीआर भएका नेपाली मात्र त्यहाँको सेनामा भर्ती हुन पाउने व्यवस्था रहेको अमेरिकी सेनामा कार्यरत झापाका एकजना नेपालीले बताए। उनी डीभी परेर ६ वर्षअघि अमेरिका पुगेका हुन्।

ती सैनिकका अनुसार अमेरिकी सरकारले आप्रवासी बसोबासको सुविधा पाएको विदेशी नागरिकका लागि सैनिक भर्तीमा कोटा छुट्याउने गरेको छ। सोही कोटामा नेपाली पनि भर्ती गराउँदै आएको छ। अमेरिकी सेनामा दुई हजारभन्दा बढी नेपाली मूलका नागरिक रहेको अनुमान छ।

अमेरिकी सेनामा भर्ती हुन कम्तीमा १२ कक्षा पास गरेको हुनुपर्छ। त्यहाँ १३ वर्षमा अनिवार्य अवकाश पाउने व्यवस्था छ। अमेरिकामा कार्यरत नेपाली सेनाले मासिक नौ देखि १० हजार अमेरिकी डलर तलबसहित परिवारिक सुविधा पाउने ती सैनिकले बताए।

नेपाली युवा फ्रान्सेली सेनामा पनि भर्ती हुने गरेका छन्। सन् १८३१ देखि विदेशीका लागि फ्रान्सले सेनामा भर्ना खुलाएको हो। त्यसलाई ‘फ्रेन्च लिजन सेना’ भनिन्छ। बेलायती सेनामा भर्ना हुन नसकेका धेरै युवा फ्रान्सेली सेनामा पुग्ने गरेका छन्। फ्रान्समा ६ सय नेपाली सैनिक कार्यरत रहेको अनुमान छ। युरोपका अन्य देश रोजगारी र अध्ययनका लागि प्रवेश गरेका नेपाली फ्रान्स प्रवेश गरेर सेनामा भिड्ने गरेका छन्। यसरी भर्ती भएका सेनाको मासिक तलब १४ सय युरोबाट सुरु हुने फ्रान्सेली सेनामा कार्यरत बैतडीका राजीव योगीले बताए।

योगी अध्ययनका लागि ६ वर्षअघि फ्रान्स पुगेका थिए। अध्ययन सकेर त्यहीँको सेनामा भर्ती भएको चार वर्ष पुग्न लागेको उनले जानकारी दिए। चार वर्षसम्म सेवा गरेपछि फ्रान्सेली नागरिकताका लागि आवेदन दिन पाइने सुविधा भएकाले पनि युरोप पुगेका नेपाली फ्रान्सेली सैन्य सेवामा जोडिन चाहने योगीले बताए। फ्रान्सको सेनाबाट अवकाश भएपछि पेन्सन सुविधा छैन। यहाँ कार्यरत सेनाले भर्ती भएको दुई वर्षपछि जागिर छाडेमा नौ हजार युरो पाउँछन्।

पछिल्लो समयमा रुस र युक्रेनको सेनामा नेपाली युवा भर्ती हुन थालेका छन्। रुस-युक्रेन युद्ध सुरु भएपछि यी देशको सेनामा नेपाली युवा भर्ती हुन थालेका हुन्। ती देशमा कति नेपाली युवा सेनामा भर्ती भएका छन् भन्ने तथ्यांक सरकारी निकायसँग छैन। रुसी सेनामा भर्ती भएका युवाको मृत्यु भएपछि नेपाली भर्ती भएको विषयमा जानकारी बाहिर आउन थालेको हो। रुसी सेनामा भर्ती भएका १३ नेपालीको निधन भइसकेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ।

रुसी सेनामा दुई हजारभन्दा बढी र युक्रेनी सेनामा तीन सयभन्दा बढी नेपाली भर्ती भएको मस्कोस्थित नेपाली दूतावासको अनुमान छ। रुस-युक्रेनी सेनामा कति नेपाली भर्ती भएका छन् भन्ने संख्या मन्त्रालयले दुवै देशसँग माग गरेको छ। रुसले सन् २०२२ फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको थियो। यी देशबीच युद्ध चलिरहेको छ।

गत वैशाखदेखि रुस-युक्रेनको सेनामा नेपाली भर्ती भइरहेको सूचना बाहिरिएको थियो। युक्रेनी सेनाको आक्रमणमा तीन सयभन्दा बढी नेपाली घाइते भएको रुसमा रहेका नेपालीले बताउँदै आएका छन्।

रुस र युक्रेनी सेनामा भर्ती भएका नेपालीको तलबसुविधा मासिक दुई लाख ५० हजारभन्दा बढी भनिए पनि उनीहरूले कति पाएका छन् स्पष्ट छैन। नेपालले दुवै देशको श्रम स्वीकृति रोकेको छ। रुस-युक्रेनको सेनामा नेपाली युवा भारत, कतार, युरोपका केही देश र यूएईबाट पुग्ने गरेका छन्।

जर्मनीको सेनामा पनि नेपाली कार्यरत र भर्ती भइ रहे पनि यस विषयमा आधिकारिकता नखुलेको वैदेशिक रोजगार विभागका अधिकारीहरू बताउँछन्। जर्मनी अध्ययनका लागि पुगेका र त्यहाँ स्थायी बसोबास अनुमति पाएका नेपाली जर्मनी सेनामा भर्ती हुने गरेका छन्।

६ देशको प्रहरीमा नेपाली

नेपाली युवा यूएई, कतार, ब्रुनाई, टर्की, ओमान र मलेसिया भर्ती हुने गरेका छन्। वैदेशिक रोजगारीमा ती देश पुगेका नेपाली सम्बन्धित देशको प्रहरीमा भर्ती हुने गरेका छन्। यूएई र कतार प्रहरीमा भने कामदार भिसामा म्यानपावर कम्पनीले पठाउने गरेका छन्। यी देशमा कार्यरत नेपाली १० वर्ष मात्र काम गर्न पाउँछन्। त्यसपछि एकमुष्ट उपदान लिएर अवकाश हुन्छन्।

कतार र यूएई प्रहरीमा २१ देखि ३५ वर्ष उमेरका माध्यमिक तह उत्तीर्ण गरेका नेपाली भर्ती हुन पाउँछन्। उनीहरूको मासिक तलब एक लाख ९० हजारभन्दा बढी हुने गरेको छ।

नेपाली सेना र नेपाल प्रहरीको जागिर छाडेका र सुरक्षागार्डमा काम गरेका युवा कतार र यूएई प्रहरीको प्राथमिकतामा पर्ने गरेका छन्। पछिल्लो समयमा नेपाली सेना र नेपाल प्रहरीको जागिर छाडेर नेपालीहरू यूएई र कतार प्रहरीमा भर्ती भइरहेका छन्। कतिपय नेपाली भिजिट भिसामा यी देश गएर प्रहरीमा भर्ती हुने गरेको पाइन्छ।
कतार र यूएई प्रहरीमा गरी तीन हजारभन्दा बढी नेपाली कार्यरत रहेको श्रम मन्त्रालयको अनुमान छ।

नेपाली युवालाई सीमित कोटामा प्रहरीमा रोजगारी दिने दुई वर्षअघि मलेसिया सरकारले निर्णय गरे पनि त्यहाँ कसरी नेपाली प्रहरीमा भर्ती भइरहेका छन् भन्ने खुलेको छैन।
नेपालबाट श्रम भिसामा पुगेर मलेसियाको सुरक्षा गार्डमा सात वर्ष काम गरेका नेपाली त्यहाँको नगर प्रहरीमा भर्ती हुन् पाउँछन्। हाल केही नेपाली नगर प्रहरीमा कार्यरत रहेको श्रम मन्त्रालयले जनाएको छ।

मलेसियाको नगर प्रहरीमा कार्यरत नेपालीले मासिक एक लाख ३० हजारभन्दा बढी तलब पाउँछन्। मलेसियामा सुरक्षा गार्डमा कार्यरत नेपालीले मात्र नगर प्रहरीको रोजगारीमा अवसर पाउँछन्। २२ देखि ४२ वर्षका नेपालीले नगर प्रहरीमा प्रवेश गर्न पाउने व्यवस्था छ।

कति नेपाली मलेसियाली प्रहरीमा प्रवेश गरे भन्ने तथ्यांक नभएको मलेसियास्थित नेपाली दूतावासका अधिकारीहरू बताउँछन्। मलेसियामा ५० हजारभन्दा धेरै नेपाली सुरक्षागार्डमा कार्यरत छन्।

दुई दशकयता नेपाली युवालाई ब्रनाई प्रहरीमा समेत रोजगारीको अवसर दिन थालिएको छ। त्यहाँ पनि नेपाली सेना र नेपाल प्रहरीको जागिर छाडेका र सुरक्षागार्डमा काम गरेका युवाले अवसर पाउँछन्। त्यहाँको प्रहरीको मासिक तलब दुई लाखभन्दा बढी हुने गरेको छ।

ब्रुनाई प्रहरीमा भर्ती भएका नेपालीलाई निजी (व्यक्ति, व्यापारी र अन्य) व्यक्तिगत क्षेत्रमा खटाइन्छ। यो देशमा प्रहरीमा भर्ती भएको नेपाली पनि १३ वर्ष सेवा गरेपछि अवकाश पाउने व्यवस्था छ। सुरक्षागार्डमा काम गर्दै आएका २१ वर्षदेखि ३५ वर्ष ननाघेका नेपालीलाई पनि प्रहरीमा लिन थालिएको छ। हाल ब्रुनाई तीन हजारदेखि चार हजार पूर्वगोर्खा सैनिक, सेना र प्रहरी सुरक्षागार्डमा कार्यरत रहेको परराष्ट्र मन्त्रालयको अनुमान छ।

टर्की र ओमान प्रहरीमा पनि नेपाली कार्यरत छन्। तर यस विषयमा भने कतै खुलेको छैन। मलेसियामा जस्तै टर्की र ओमानमा पनि नगर प्रहरीमा भर्ती हुने श्रम मन्त्रालयको अनुमान छ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले कुन देशको प्रहरी र सेनामा नेपाली कार्यरत छन् भन्ने बारेमा कुनै अध्ययन नभएको जानकारी दिए। वैदेशिक रोजगारी, अध्ययन र अन्य पेसामा विभिन्न देशमा पुगेका नेपाली उतैको सेना र प्रहरीमा भर्ती हुने गरेका कारण सरकारलाई तथ्यांक पहिचान गर्न समस्या भइरहेको उनले बताए।

राईले भने, ‘नेपाली युवा रोजगारी र अध्ययनका लागि कति देश जान्छन् त्यहीँ विभिन्न अवसर खोज्दा प्रहरी र सेनामा भर्ती हुने गरेका हुन्। स्वीकृति नलिई गएकाले कति नेपाली युवा कुनकुन देशमा छन् भन्नेबारे हामीलाई जानकारी हुँदैन।’

पछिल्लो समय नेपाली युद्धग्रस्त देशमा जोखिम मोलेर सेना र प्रहरीमा भर्ती भइरहेका विषयमा सरकार गम्भीर रहेको उनले बताए। उनले भने, ‘यस्ता समस्या समाधानका लागि सम्बन्धित देशका दूतावास र नियोगमार्फत छलफल भइरहेको छ।’

रोजगारविज्ञ भने नेपाली युवालाई सम्झौता नै नगरी हतियार चलाउनका लागि विदेश पठाउनु गलत रहेको बताउँछन्। सम्झौता नगरी युवालाई तेस्रो देश हतियार चलाउने रोजगारीमा पठाएर सरकारले युवामाथि अन्याय गरेको रोजगारविज्ञ डा. गणेश गुरुङले बताए।

बेरोजगारी युवाले पैसाका लागि तेस्रो देशमा ज्यान गुमाउनु विडम्बनाको विषय रहेको उनको टिप्पणी छ। गुरुङले भने, ‘युद्धग्रस्त देशको सेनामा भर्ती भएको नेपाली फर्काउन सरकारले सक्दैन। वैदेशिक रोजगारीमा गएका युवा समस्यामा पर्दा सरकारलाई फकाउन महाभारत भइरहेको छ। रुस-युक्रेनमा भर्ती भएको कसरी ल्याउने हो?’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पनि रुसी सेनामा भर्ती भएका नेपाली फर्काउन सजिलो नभएको बताएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =