ओमानीको घरभित्र बेचिएकी नेपाली महिलाको चीत्कार

रमेश भारती १८ फागुन २०८० २०:२९
242
SHARES
ओमानीको घरभित्र बेचिएकी नेपाली महिलाको चीत्कार एआईको सहायतामा बनाइएको तस्बिर।

काठमाडौँ- बर्दियाकी ललिता भुजेल थारू (नाम परिवर्तन) ९ महिनाअघि भारत हुँदै ओमान पुगिन्। घरेलु रोजगारीमा गएकी उनी ९ महिनादेखि एउटा घरभित्र साहुको यातना सहेर काम गर्न बाध्य छिन्।

थारूले सुरुमा यूएई जान भनेर गोरखा पालुङटारकी सुजाता प्रजालाई २ लाख ७० हजार बुझाएकी थिइन्। तर प्रजाले  थारूलाई ओमानको घरेलु रोजगारीमा  पठाइन्। एजेन्टले पैसा दिएपछि आफ्नो नम्बर ब्लक गरेको उनले बताइन्। त्यही भएर फर्किन कोहीसँग सहयोग माग्ने ठाउँसमेत नपाएको हिमाल प्रेसको सम्पर्कमा आएकी थारूले बताएकी छन्।

आफूले  नियमित तलब नपाएको र घर आउन पनि नपाएको उनको भनाइ छ। त्यसमा साहुले यातना सहनु त छँदैछ। भाग्न र उद्धारका लागि गुहार मागे पनि कसैले सहयोग नगरेको उनको गुनासो छ। ‘बिहान ६ बजेदेखि साँझसम्म घरभित्रको काम गर्नुपर्छ। त्यसपछि साहु साथी लिएर रक्सी खान्छ। मात्तिँदै गएपछि मन लाग्दो गर्न थाल्छ। केही भन्यो कि मेरो पैसा फिर्ता दे भनेर धम्क्याउँछ,’ ती महिलाले भनिन्।

साहुले भनेको नमाने कुटपिटसमेत गर्ने गरेको ती महिला बताउँछिन्। ‘साहुले तँलाई हामीले ५ हजार ओमानी रियालमा किनेर घरको काम गर्ने ल्याएको मात्र भन्छ। कि पैसा फिर्ता दे कि मैले भनेजस्तो मान् भनेर मनलाग्दी गर्छ’,  उनले भनिन्। नेपाल फर्कन  अनुरोध गर्दा साहुले झन् यातना दिने गरेको ती महिलाको भनाइ छ।  ‘साहुको यातना सहन असाध्यै गाह्रो भएपछि साहूलाई मलाई नेपाल फर्काइदिनुस् भनेर गुहार मागेँ। यसो भनेपछि मातेको सुरमा यातना दिन थाल्यो। अहिले रक्सी खाएर मात्तै गएपछि त नांगै बनाएर अगाडि राख्छ। अनि रक्सी खान लगाउँछ। मानेन भने कुटपिट गर्छ,’ उनले भनिन्।

ती महिलाका अनुसार साहुले मोबाइल चलाउन निगरानी गर्ने, आराम गर्न नदिने, केही भन्यो भने घाँटी थिच्ने र भनेको नमाने कुटपिट गर्ने गरेको छ। उनले भनिन्, ‘साहु मातिएर सुतेको बेला मात्र फोन चलाउन पाउँछु। नत्र फोनमा कोहीसँग कुराकानी गर्न पाउँदिनँ।’

नेपाल फर्किनका लागि सहयोग गर्न उनले सामाजिक सञ्जालमार्फत याचना गरेकी छन्। उनले आफूलाई साहुले तलब नदिएको बताइन्। उनले भनिन्, ‘एजेन्टले हस्पिटलमा काम गर्ने हो। मासिक तलब एक लाख रुपैयाँ हुन्छ भनेर यूएई भनेर ओमान पुर्‍याएको रहेछ। यहाँ आएपछि मात्र ओमानी नागरिकको घरमा बिक्री भएको थाहा पाएँ।’  साहुले राहदानीसमेत खोसेर राखेको ती महिलाको भनाइ छ।

घरमा उनका सात वर्षका छोरा छन्। पाँच महिनादेखि बोली सुन्न नपाएको उनले बताइन्। ‘साहु मानसिक रोगी रहेछ। घरबाटै अनलाइन व्यापार गर्छ। दैनिक पाँच घण्टा काम गर्छ। नौ गिलासभन्दा बढी रक्सी खान्छ। मलाई मनलाग्दी गर्छ,’ उनले भनिन्।

ओमानस्थित नेपाली दूतावासलाई पनि फोन गरेका समस्या सुनाए पनि सुनुवाइ नभएको ती महिलाले बताइन्। भागेर जाने ठाउँ  थाहा नभएपछि बाहिर निस्कन नसकेको उनी बताउँछिन्।

उनी ‘के गरौँ, कसौँ गरौँ’मा दिन गुज्रिरहेको बताउँछिन्। यूएईमा मनग्गे कमाउन सकिने लोभमा वैदेशिक रोजगारीमा आए पनि अहिले ओमानमा कष्टकर जीवन जिउन बाध्य हुनुपरेको उनको गुनासो छ। ‘यहाँबाट निस्कन सकिनँ भने यही घरभित्र मर्छु होला,’ उनले भनिन्।

ओमानस्थित नेपाली दूतावासले भने समस्या परेका नेपालीको सहयोग गर्दै आएको जानकारी दिएको छ। अवैध बाटो हुँदै आएका नेपालीको विवरण नहुँदा उद्धार गर्न समस्या भइरहेको ओमानस्थित नेपाली दूतावासका श्रमसहचारी गोविन्दप्रसाद आचार्यले बताए।

उनले भने, ‘वैधानिक बाटो भएर आएका कामदार समस्यामा परे तत्काल कम्पनी र यहाँको सम्बन्धित निकायसँग छलफल गरी उद्धार गर्छौँ। अवैध बाटो भएर आएका नेपाली कामदार समस्यामा परे कानुनी उपचार खोज्न समस्या हुन्छ।’ दूतावासको सम्पर्कमा आएका नेपालीलाई सहयोग गर्दै आएको उनले बताए।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आप्रवासनसम्बन्धी अध्ययनमा नेपाली महिलाहरू घरेलु कामदारका रूपमा ओमान, कुवेत, साउदी, मलेसिया, यूएई, लेबनान, जोर्डनजस्ता देशमा तस्करले पुर्‍याउने गरेको उल्लेख छ।

नेपालबाट विभिन्न म्यानपावर एजेन्टहरूले भारत, बंगलादेश, यूएई तथा श्रीलंकालगायत  देशको बाटो प्रयोग गरेर नेपाली महिला कामदारलाई अफ्रिका र युद्धग्रस्त देशमा पुर्‍याउने गरेका छन्।

सरकारले खाडी मुलुकमा घरेलु कामदार पठाउन प्रतिबन्ध लगाए पनि अवैध बाटोबाट विदेश पठाउने क्रम बढ्दा मानव तस्करी मौलाइरहेको छ। प्रतिबन्धको फाइदा रोजगार तस्करले लिइरहेका छन्। सरकारले मलेसिया तथा खाडीमा घरेलु कामदार पठाउन रोक लगाएको छ। पछिल्लो आठ वर्षमा ६ लाखभन्दा बढी महिला कामदार अवैध बाटो भएर ती देश पुगेको आप्रवासनका क्षेत्रमा काम गर्दै आएका संस्थाहरूको अध्ययनमा उल्लेख छ।

प्रकाशित: १८ फागुन २०८० २०:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − ten =