ढिलै भए पनि रिटर्नी कामदारको पहिचान भयो

लक्ष्मीप्रसाद आचार्य १८ जेठ २०८१ १२:२८
74
SHARES
ढिलै भए पनि रिटर्नी कामदारको पहिचान भयो

वैदेशिक रोजगारीका कारण अधिकांश नेपालीको जीवनशैली फेरिएको छ। धेरै नेपालीमा शिक्षा–दीक्षा, गासबास र सूचना प्रविधिको पहुँच पुगेको छ। रेमिट्यान्सकै तथ्यांक हेर्ने हो भने वैदेशिक रोजगारीमा परिवारको अवस्थाका बारेमा थाहा हुन्छ। वार्षिक ११ खर्ब रेमिट्यान्स नेपाल भित्रिनु सामान्य विषय होइन। प्रश्न उठ्छ देशको अर्थतन्त्र रेमिट्यान्सले मात्र कतिन्जेल धान्छ?

वैदेशिक रोजगारीमा जानुको उद्देश्य पैसा कमाउनु हो। यसको मतलब नेपालमा अवसर नभएको होइन। सरकारले भएका अवसरलाई व्यवस्थित नगर्दा वैदेशिक रोजगारीमा आकर्षण बढेको छ। श्रमबजारमा आएको श्रमशक्तिका आधारमा रोजगारी सिर्जना गर्ने लक्ष्य सरकारसँग छैन। अहिलेको ठूलो समस्या यही हो।

नेपाली कार्यरत देशमा आफ्ना र विदेशी नागरिकलाई कस्तो रोजगारीमा समावेश गराउने भनेर पहिल्यै योजना बन्छ। नेपाल सरकारलाई भने यसबारे चासो छैन। स्वदेशमा अवसर पाएकै व्यक्ति पनि वैदेशिक रोजगारीमा गइरहेका छन्। शिक्षक, निजामती कर्मचारी, सेना र प्रहरीको रोजगारी छाडेर कोरिया, जापान र युरोपका देश किन नेपाली गइरहेका छन्? यस विषयमा सरकारले अध्ययन गर्नुपर्ने हो नि!

वैदेशिक रोजगारीमा कार्यरत कामदारको कमाइबाट भित्रिएको रेमिट्यान्स (विप्रेषण) बाट सरकार रमाइरहेको छ। सरकारका लागि वैदेशिक रोजगारी दुहुनो मात्र गाई बनेको छ। सरकारले वैदेशिक रोजगारीबाट फर्किएका युवालाई स्वदेशमै केही गर्ने वातावरण बनाउन नसक्दा युवा पलायन बढिरहेको हो।

२०६० सालयता मुलुकको अर्थतन्त्र रेमिट्यान्सले धानेको छ। तर रेमिट्यान्स पठाउने व्यक्तिको कदर भएको छैन। रेमिट्यान्स बढेपिच्छे सरकारले कामदारको प्रशंसा गर्छ। रोजगारदाता देशमा नेपाली अलपत्र परोस्, मृत्यु होस्, बिचल्लीमा परोस्, बेचियोस् र करारअनुसार तलब नपाओस्। यस्ता विषययमा सरकारले चासो दिँदैन। रोजगारदाता कम्पनीमा नेपालीको अवस्था कस्तो भनेर दूतावासका प्रतिनिधिले कहिल्यै चासो दिँदैनन्।

देशमा रोजगारीका अवसर सिर्जना नभएसम्म ज्यान बाजी थापेर वैदेशिक रोजगारीमा जाने क्रम जारी हुन्छ। चाहे युद्धरत देश होस् अथवा नामै नसुनेको देश होस् कामका लागि नेपाली गइरहन्छन्।

नेपालमा रोजगारीमा कार्यरत श्रमिक सुरक्षित छैन भने अर्कोतिर स्वदेशको कमाइले परिवार पाल्न समस्या हुन्छ। त्यही भएर पनि नेपाली युवा जहाँ पायो त्यहाँ रोजगारीका लागि थाले। यस्तो प्रवृत्तिले भविष्यमा ठूलो समस्या निम्त्याउँछ।

नेपालले तत्काल वैदेशिक रोजगारी अन्त्य गर्ने कल्पना गर्न मुस्किल छ। किनभने युवा पुस्ता तत्काल स्वदेशमा बस्ने अवस्थामा छैनन्। त्यही भएर सरकारले यसलाई व्यवस्थित गर्नुपर्छ। १८ वर्ष पुगेको युवा राहदानी बनाएर कति बेला विदेश जाऊँ भनेर बसेको छ। यस्तो अवस्थामा वैदेशिक रोजगारी रोकिन्छ भन्नु मूर्खता हुन्छ।

पहिलो कुरा त सीप सिकेर र रोजगारदाता देशसँग श्रम सम्झौता गरेर मात्र वैदेशिक रोजगारीमा कामदार पठाउनुपर्छ। कामदारको तलब, सेवासुविधा, बिमा, स्वास्थ्य सुविधा, परिवारिक सेवा, सामाजिक सुरक्षा कोष र रोजगारको ग्यारेन्टी हुनुपर्छ। सीप सिकाएर मात्र वैदेशिक रोजगारीमा कामदार पठाउँदा रेमिट्यान्स अहिलेको तुलनामा ४० गुणा बढ्छ।

नेपालीहरु पारिश्रमिक र श्रम व्यवस्था राम्रो भएका देशमा वैदेशिक रोजगारीमा गइरहेका छन्। त्यस्तो श्रम कानुन र रोजगारी सिर्जना नेपालमै भए किन वैदेशिक रोजगारीमा युवा जोखिम मोलेर जान्थे र?

वैदेशिक रोजगारीका क्रममा नेपालीको मृत्यु हुनुको मुख्य कारण अदक्ष कामदार पठाउनु हो। मुख्य रूपमा कार्यस्थलमा दुर्घटना, हृदयको गति बन्द (कार्डियाक एरेस्ट), हृदयाघात, प्राकृतिक मृत्यु, सवारी दुर्घटना, आत्महत्यालगायत कारणबाट नेपालीको विदेशी भूमिमा मृत्यु भइरहेको छ।

वार्षिक एक हजारभन्दा बढी नेपालीको वैदेशिक रोजगारीका क्रममा मृत्यु भइरहेको छ। यस विषयमा सरकार गम्भीर छैन। कतिपय नेपालीले रोजगारदाता देशको हावापानीअनुसार खान–बस्न नजान्दासमेत ज्यान गुमाइरहेका छन्। कतिपय नेपालीले बढी धपेडी गर्दा ज्यान गुमाउने गरेका छन्। यसमा सबैभन्दा ठूलो कमजोरी सरकारकै छ। सरकारले बिदेसिनुअघि अभिमुखीकरण दिने हो भने यस्ता घटनामा कमी आउनेछ।

नेपालमा श्रम र पसिनाको कदर हुँदैन। त्यसपछि यहाँको श्रम कानुनले श्रमिकका समस्या सम्बोधनसमेत गर्दैन। त्यही भएर नेपाली पटकपटक वैदेशिक रोजगारीमा जान्छन्। सरकारले स्वदेशमै रोजगारीका अवसर सिर्जना गरे दुधेबालक, परिवार, श्रीमती, श्रीमान् र जग्गाजमिन बाँझो बनाएर कसैलाई विदेश जान रहर हुँदैन।

सरकारले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीबाट फर्किएका कामदारलाई रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने भएको छ। यस कार्यक्रममार्फत कम्तीमा एक लाख रिटर्नीलाई स्वरोजगार बनाइने घोषणा गरिएको छ। रिटर्नी माइग्रेन्टका लागि बजेटम आउनु सकारात्मक पक्ष हो। यसैका लागि रिटर्नी माइग्रेन्ट नेपालले २०७५ सालदेखि संघर्ष गर्दै आएको थियो। सरकारले ढिलै भए पनि रिटर्नी कामदारको पहिचान गरेको छ।

बजेटमा रिटर्नीलाई स्वरोजगार बनाउने मात्र भनिएको छ। बजेट यति चाहिन्छ भनेर छुट्याइएको भए हुन्थ्यो। विगतमा वैदेशिक रोजगारीबाट फर्किएका कामदारका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले योजना ल्याएको थियो। तर त्यो प्रभावकारी देखिएन।

अहिलेसम्म ५० लाख जति नेपाली वैदेशिक रोजगारीबाट फर्किसकेका छन्। यसको तथ्यांक सरकारका कुनै निकायसँग छैन। तीमध्ये ९० प्रतिशत फेरि जान्छन्। रिटर्नी माइग्रेन्ट नेपालमा करिब ५० हजार सदस्य आबद्ध छन्।  वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको पुँजी, ज्ञान र सीपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले २०७५ सालमा ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको हो।

उनीहरुमध्ये यति नै सरकारले ल्याएको स्वरोजगार कार्यक्रमबाट लाभान्वित हुन्छन् भन्न कठिन छ। सरकारले एक लाख रिटर्नी लाभान्वित हुन्छन् भनेको छ। आगामी आर्थिक वर्ष त्यति नै होलान्। अर्को वर्षदेखि यसको संख्या बढाउदै लैजानुपर्छ।

वैदेशिक रोजगारीबाट फर्किएका नेपाली कामदारको सीप कृषि उत्पादन र निर्माण क्षेत्रमा प्रयोग गर्न सकिन्छ। वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको ३० वटाभन्दा सीप सदुपयोग गर्नुपर्छ। यसका लागि सरकारले योजना बनाउनुपर्छ।

नेपालीहरू प्रायः लेबर, उत्पादन, होटल, उद्योग र हस्पिटालिटी क्षेत्रमा काम गर्न जान्छन्। एक दशकयता सेलम्यान, सपिङमल, ऊर्जा र आईटी क्षेत्रमा पनि नेपाली युवा वैदेशिक रोजगारीमा गइरहेका छन्। उनीहरू यसैसँग सम्बन्धित सीप सिकेर फर्किन्छन्।

नेपालीले देशअनुसार सीप सिकेर स्वदेश आउँछन्। खाडी र मलेसिया गएका नेपाली निर्माण, होटल, उद्योग र कृषिमा काम गरेर फर्किन्छन्। उनीहरुसँग होटल र निर्माण क्षेत्रको अनुभव राम्रो हुन्छ।

जापान, दक्षिण कोरिया, अमेरिका, अफ्रिकी र युरोपका देश गएका नेपाली होटल, कृषि, आईटी, उत्पादन र ठूला औद्योगिक क्षेत्रमा काम गरेर फर्किन्छन्। उनीहरूको सीप यससँग सम्बन्धित क्षेत्रमा प्रयोग गर्न सकिन्छ। वैदेशिक रोजगारीमा गएका सबै नेपालीले प्रायः काम सिकेर फर्किएका हुन्छन्। त्यही भएर सरकारले आवश्यक श्रमबजारको अध्ययन गरी सीप भएका व्यक्तिलाई अवसर दिनुपर्छ।

वैदेशिक रोजगारीबाट फर्किएका कामदार प्रायः होटल व्यवसाय, कृषि, पर्यटन र अन्य व्यवसायमा आबद्ध हुन्छन्। यी व्यवसायमा सफल नभएपछि उनीहरू फेरि बिदेसिन बाध्य भइरहेका छन्।

नेपालीका लागि वैदेशिक रोजगार बाध्यता मात्र होइन दुर्दशा भयो। वैदेशिक रोजगारीका कारण कतिपय बालबालिका अभिभावकविहीन बनेका छन्। यसको मुख्य कारण नेपालको अस्थिर राजनीति र भ्रष्टाचार हो।

राजनीतिक परिर्वतन भए पनि विकासले फड्को मार्ने सकेन। त्यही भएर युवा पलायन भए। यही गतिमा बिदेसिने दर बढ्ने हो भने अबको १० वर्षमा नेपालमा युवा भेटिँदैनन्।

[रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष आचार्यसँग रमेश भारतीले गरेको कुराकानीमा आधारित]

प्रकाशित: १८ जेठ २०८१ १२:२८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + four =