वैदेशिक रोजगारी : नक्कली रोजगारदाता खडा गरेर ठगी

रमेश भारती २३ चैत २०८० १८:३०
94
SHARES
वैदेशिक रोजगारी : नक्कली रोजगारदाता खडा गरेर ठगी वैदेशिक रोजगारीका लागि हिँडेका युवा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा। तस्बिर : सेन्टर फर द स्टडी अफ लेबर एन्ड मोबिलिटी

काठमाडौँ- वैदेशिक रोजगारीका दलालले विदेशबाटै नक्कली रोजगारदाता ल्याएर बेराजगार युवाहरूलाई ठगी गरिरहेको पाइएको छ। राम्रो आम्दानी हुने देशमा कामदार आवश्यक छ भनेर अनलाइनमार्फत विज्ञापन गर्ने, विदेशबाटै नक्कली रोजगारदाता झिकाएर अन्तर्वार्ता लिने, मोटो रकम असुल गर्ने अनि फरार हुने घटना बढ्न थालेको हो। पछिल्ला दिनमा यसरी ठगिएको भनेर उजुरी दिने पीडितको संख्या बढिरहेको  नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोका अधिकारीहरू बताउँछन्।

यसरी ठगिनेमध्येका एक हुन् झापा बुधबारेका सविन क्षेत्री। उनी रोजगारीको खोजीमा थिए। स्वेदशमा भनेजस्तो जागिर नपाएपछि वैदेशिक रोजगारीमा जाने अठोट लिए। धेरै म्यानपावर कम्पनी र कन्सल्टेसीमा धाए। यस क्रममा उनले सामाजिक सञ्जालमा बेलायतमा कामको अवसर रहेको विज्ञापन देखे। सोही विज्ञापन पछ्याउँदै अनलाइनबाट आवेदन दिएको उनी बताउँछन्।

आवेदन दिएको ७ घण्टापछि उनलाई आईआरआईएस एक्स्पर्ट कन्सल्टेन्सीबाट फोन आयो। क्षेत्रीले नागरिकता र शैक्षिक प्रमाणपत्र लिएर अन्तर्वार्ताका लागि काठमाडौँ आउनू भनेर कन्सल्टेन्सीले फोन गरेको जानकारी दिए।

उनी तत्काल काठमाडौँ आए। पुतलीसडकमा बोर्ड नै नभएको घरमा उक्त कन्सल्टेन्सीको कार्यालय रहेछ। त्यहाँ रहेका विदेशी नागरिकसँग बेलायतमा रोजगारीका लागि अन्तर्वार्ता दिए। कन्सल्टेन्सी सञ्चालकले ती विदेशी बेलायती कम्पनीका प्रतिनिधि रहेको भनेर चिनाएपछि क्षेत्री ढुक्क भएका थिए।

अन्तर्वार्ता सकिएको ५ घण्टापछि उनलाई फेरि फोन आयो, तपाईँ बेलायतमा वैदेशिक रोजगारीका लागि छनोट हुनुभएको छ। १ लाख ५० हजार रुपैयाँ अग्रिम भुक्तानी गर्नुहोला। क्षेत्रीले भने, ‘भोलिपल्ट घरबाट पैसा मागेर कन्सल्टेन्सीमा बुझाएँ। एक महिनाभित्र भिसा आउँछ भनेका थिए।’ एक महिनापछि कलिङ भिसा आयो भनेर कन्सल्टेन्सीका सञ्चालकले उनीसँग एक लाख रुपैयाँ मागे। कन्सल्टेन्सीले पैसा माग्दै गयो। क्षेत्रीले दिँदै गए।

उनले भने, ‘गत पुसमा कन्सल्टेन्सीले भिसा आयो भनेर मसहित ९ जनासँग थप रकम असुल गर्‍यो।’  उनका अनुसार सुरुदेखि हवाईजहाज चढ्नुअघिसम्म गरेर झापाका केदार चौधरीको कन्सल्टेन्सीले ९ जनासँग ११ लाख रुपैयाँका दरले उठाएको थियो।’ त्यसपछि कन्सल्टेन्सीले  उनीहरूको टोलीलाई बेलायत जान भनेर अजरबैजान पुर्‍यायो।

अजरबैजानमा पुगेपछि कन्सल्टेन्सी सञ्चालक चौधरी फरार भए। क्षेत्रीले भने, ‘त्यसपछि मात्र हामीलाई भिजिट भिसामा अजरबैजानमा ल्याएर ठगी गरेको रहेछ भन्ने थाहा भयो।’  उनीहरूले शैक्षिक प्रमाणपत्र र राहदानी आईआरआईएस एक्स्पर्ट कन्सल्टेन्सीकै जिम्मा लगाएका थिए। आफ्ना प्रमाणपत्रहरू अझै नपाएको क्षत्रीले जानकारी दिए।

चौधरीबाट ठगिने अर्का व्यक्ति हुन् मोरङकी रोशनी चौधरी। कृषिको रोजगारीमा बेलायत पठाइदिने प्रलोभन देखाएर केदारले  आफूसँग ९ लाख रुपैयाँ ठगी गरेको बताइन्। अनलाइनबाट आवेदन दिएपछि उनले पनि काठमाडौँमा आएर अन्तर्वार्ता दिएकी थिइन्। चौधरीले आईआरआईएस एक्स्पर्ट कन्सल्टेन्सीमा बेलायतबाटै आएका व्यक्तिले अन्तर्वार्ता लिएको बताइन्। तीन महिनापछि बेलायत पठाउने हो भनेर यूएई पुर्‍याएको उनको भनाइ छ। ‘यूएईमा ४५ दिन राखेपछि कन्सल्टेन्सी सञ्चालक फरार भए। त्यसपछि मसहित पूर्वका ११ जना साथी आफ्नै खर्चमा नेपाल फर्कियौँ’, उनले भनिन्।

झापाको कमल गाउँपालिका-७ घर भई काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका-७ बस्दै आएका ३७ वर्षीय केदार चौधरीलाई यसै साता प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरोले पक्राउ गरेको प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयालले बताए। चौधरीले यूकेको कृषि फार्मका सञ्चालक भनेर नक्कली विदेशी नागरिक खडा गरी ३५ जनाबाट ६ करोड रुपैयाँ ठगी गरेको ब्युरोमा उजुरी परेको थियो।

यसैगरी उनीमाथि यूएई, भारत र अजरबैजानसम्म पुर्‍याएर अलपत्र पारेको आरोप पीडितले लगाएका छन्। चौधरी पक्राउ परे पनि प्रहरीले हामीसँग लिएको पैसा उठाइदिन आनाकानी गरिरहेको पीडित बताउँछन्।

यस्तै ठगी आरोप लागेका अर्का व्यक्ति हुन् काठमाडौँको गोकर्णेश्वर बेसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया। उनीमाथि पनि क्यानडा पठाइदिन्छु भनेर १५ जनाभन्दा बढी युवालाई ठगी गरेको आरोप लागेको छ। उनीबाट ठगिनेमध्येका एक हुन् – लेखनाथ भुर्तेल।

यूएई हुँदै क्यानडामा वैदेशिक रोजगारीका लागि पठाइदिन्छु भनेर मुखियाले तीनजनासँग ४५ लाख रुपैयाँ ठगी गरेको भुर्तेलले बताए। मुखियाले काठमाडौँ सामाखुसीको एक होटलमा विदेशी नागरिक ल्याई आफूहरूसँग अन्तर्वार्ता लिएको भुर्तेलले जानकारी दिए।

उनका अनुसार मुखियाले अन्तर्वार्ता लिने विशेषज्ञ भारतीय र क्यानडियन हुने भनेर चिनाएका थिए। ‘नेपालबाट क्यानडा जान भनेर यूएईसम्म लगे। हामीलाई त्यहाँ पुर्‍याएपछि एजेन्ट मुखिया भागे। हामी १५ जना यूएईमा ५३ दिन बस्यौँ। अन्तिममा केही नलागेपछि आफ्नै खर्चमा स्वदेश फर्कियौँ’, उनले भने। क्यानडा पठाइदिने र त्यहाँ प्रतिष्ठित कम्पनीमा काम लगाइदिने आश्वासन दिएर ४५ लाख रुपैयाँ ठगी गरेर यूएई पुर्‍याएर ५३ दिन अलपत्र परेको उनको भनाइ छ।

क्यानडाका कम्पनीमा रोजगारीमा पठाइदिने भनेर १५ जनासँग तीन करोडभन्दा बढी ठगी गरेको उजुरी परेपछि चौधरीलाई पक्राउ गरिएको ब्युरोका प्रवक्ता फुयालले  जानकारी दिए।

फुयालका अनुसार कतिपय कन्सल्टेन्सी, एजेन्ट र व्यक्तिले नक्कली विदेशी कम्पनीको साहु खडा गरी युरोपका नक्कली रोजगारदाता ल्याएर वैदेशिक रोजगारीको अन्तर्वार्ता गराउने गरेको उजुरी पर्ने गरेको छ। ‘वैदेशिक रोजगारीको खोजीमा रहेका युवालाई बेलायत, क्यानडा, स्पेन, पोल्यान्ड, माल्टालगायतका देशबाट नक्कली व्यक्ति ल्याएर कन्सल्टेन्सीहरुले अन्तर्वार्ता गराउँदा रहेछन्’, फुयालले भने।

रोजगारदाता बनेर आएका विदेशी कुन प्रयोजनका लागि नेपाल आएर त्यसरी परिचालित भइरहेका छन् भन्नेबारे अनुसन्धान भइरहेको फुयालले बताए। उनले भने, ‘नेपाली दलालसँग भएको सेटिङपछि उनीहरू पहिचान फेरेर नेपालमै बसे पनि समात्ने आधार हुँदैन।’  चालु आर्थिक वर्षको आठ महिनामा वैदेशिक रोजगारीका नाममा ठगिएका तीन सयभन्दा बढी उजुरी परेको ब्युरोले जनाएको छ। ब्युरोका अनुसार उजुरी परेका कतिपय व्यक्ति विदेशमा रहेका कारण पक्राउ गर्न समस्या भइरहेको छ।

प्रकाशित: २३ चैत २०८० १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + ten =