गृहमन्त्री लामिछानेका सम्बन्धमा प्रधानमन्त्रीले जबाफ नदिए कठोर रूपमा प्रस्तुत हुने कांग्रेस सांसदको चेतावनी

हिमाल प्रेस १ चैत २०८० १२:२२
50
SHARES
गृहमन्त्री लामिछानेका सम्बन्धमा प्रधानमन्त्रीले जबाफ नदिए कठोर रूपमा प्रस्तुत हुने कांग्रेस सांसदको चेतावनी प्रतिनिधिसभाको बिहीबारको बैठकमा सम्बोधन गर्दै बद्रीप्रसाद पाण्डे। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी गठी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्रीमा नियुक्त गरिएको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जबाफ माग गरेको छ।

प्रतिनिधिसभा बैठकमा बुधबार सम्बोधन गर्दै कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले लामिछानेको नियुक्तिबारे प्रधानमन्त्रीले जबाफ नदिए कांग्रेस कठोर रूपमा प्रस्तुत हुने बताएका हुन्। उनले यसका लागि सभामुखले रुलिङ गर्नुपर्ने पनि माग गरेका छन्।

कांग्रेस सहमहामन्त्रीसमेत रहेका पाण्डेले भने, ‘विवादास्पद नियुक्तिमा प्रधानमन्त्रीको धारणा के हो? संसद्‌मा आएर जबाफ दिनुपर्छ अन्यथा नेपाली कांग्रेस आगामी दिनमा कठोरतापूर्वक प्रस्तुत हुनेछ।’

यसैगरी उनले गृह मन्त्रालयको नेतृत्व अनुसन्धानको दायरामा रहेका व्यक्तिलाई सुम्पेपछि प्रधानमन्त्री प्रचण्डमाथि रहेको झिनो आशा पनि धुजाधुजा भएको छ। पाण्डेले भने, ‘यसबारेमा बुधबारको बैठकमा कांग्रेस सांसदहरूबाट राखिएको प्रश्नलाई प्रधानमन्त्रीबाट लत्याउने काम भयो। यसबाट हामी थप चिन्तित भएका छौँ।’

रवि लामिछानेमाथि गहन राजनीतिक मुद्दा र नैतिकताको कुरा उठाउँदै उनले भने, ‘अनुसन्धानको कमान्ड सम्हाल्नुपर्ने गृहमन्त्री अनुसन्धानको दायरामा रहेकाले एकातिर गम्भीर नैतिक प्रश्न खडा भएको छ भने अनुसन्धान नै प्रभावित हुने आशंका बढाएको छ।’

पाण्डेले लामिछानेलाई पनि आफैँ आरोपबाट घेरिएकाले सहकारी ठगीमा संलग्न अन्य दोषीलाई कसरी कानुनी दायरामा ल्याउनुहुन्छ? भन्ने प्रश्न गरे। ‘कतै तपाईँको पोजिसनलाई रक्षाकवच बनाएर एकदुई करोडको अभियोग लागेका तपाईँलाई शिखण्डीको भूमिकामा अघि सारेर दसौँ अर्बको ठगी गर्ने ठूला माछाहरू उम्काउने प्रपञ्चको तपाईँ हतियार त बनिरहनुभएकोछ छैन?’

यसैगरी कांग्रेस सांसद सीता मिजारले सहकारी प्रकरणमा मुछिएको विषयमा लामिछानेविरुद्ध जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी परेको सन्दर्भ औँल्याउँदै यसबाट गृहमन्त्रीमाथि नैतिक प्रश्न उठेको बताइन्। उनले मुलुकमा कानुनी शासन स्थापना गर्ने सन्दर्भमा मुख्य अभिभारा रहेको गृह प्रशासनको बागडोर सम्हालेर बसेको नेतृत्वमाथि गम्भीर नैतिक प्रश्न खडा भएको बताइन्।

उनको प्रश्न छ, ‘यस्ता व्यक्ति सार्वजनिक पदमा बसिरहनु कति जायज हो? निष्पक्ष छानबिनका लागि मार्गप्रशस्त गर्ने कि नगर्ने? गृहमन्त्रीले यसको नैतिक दायित्व लिने कि नलिने?’

त्यसैगरी उनले अर्थमन्त्री वर्षमान पुनको सुन काण्डका मुख्य आरोपितसँग हिमचिम भइरहेको विषयमा सरकारले जबाफ दिनुपर्ने बताइन्। कांग्रेसकै शान्ति विकले पनि अर्थमन्त्री पुन १३० केजी सुन काण्डमा संलग्न रहेको विषयमा स्पष्ट पार्नुपर्ने माग गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + nineteen =