राजनीतिक नेतृत्वको दबाबमा नपर्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन

हिमाल प्रेस ७ चैत २०८० १६:२४
18
SHARES
राजनीतिक नेतृत्वको दबाबमा नपर्न कर्मचारीलाई गृहमन्त्रीको निर्देशन उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछाने।

काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले राजनीतिक नेतृत्वको दबाब र प्रभावमा नपर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन्। मन्त्री लामिछानेले गृह मन्त्रालयका सरुवा भएका अधिकारीलाई बुधबार यस्तो निर्देशन दिएका हुन्।

लामिछानेले भने, ‘राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्नुस्। आज्ञापालक होइन, सिर्जनशील प्रशासक बन्नुस्।’ उनले नागरिकमा सरकारको व्यावहारिक अनुभूत गराउने गरी कानुनले प्रत्यायोजन गरेको अधिकारअनुसार काम गर्न निर्देशन दिए।

‘सरकारले जनतामा तत्काल आशा जगाउन सक्नुपर्छ। आफ्नो जिम्मेवारीको क्षेत्रमा गलत तत्त्वको सञ्जाल तोड्नुस्, तिनका सहयोगी बन्ने होइन’, लामिछानेले भने। सेवा प्रवाहमा तत्काल सुधार गर्न, गुण्डागर्दी, तस्करी, राजस्व चुवावट र प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र सामाजिक सद्भाव अभिवृद्धि गर्न पनि उनले निर्देशन दिएका छन्।

यसैगरी विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न गृहमन्त्रीले निर्देशन दिए। नागरिकबाट मानसम्मान नखोज्न आग्रह गर्दै उनले भने, ‘औपचारिक कार्यक्रममा धेरै समय बर्बाद नगर्नुस्। जिम्मेवारी दिँदा नै ‘सक्दिन’ भन्नुस्, लिएपछि नभाग्नुस्।’ यसैगरी लामिछानेले अध्यागमनका समस्या समाधानका योजना ल्याउन आग्रह गरे। उनले भने, ‘अध्यागमनमा सेवाग्राहीले सास्ती भोग्नु नपरोस्।’

गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयमा चैत ६ गते उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो। जिम्मेवारी सम्हाल्न दिनुअघि उनीहरूलाई गृहमन्त्रीले निर्देशन दिएका हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =