एक महिनामै गृहमन्त्री लामिछानेको निराशाजनक अभिव्यक्ति!

हिमाल प्रेस १० माघ २०७९ १६:४७
72
SHARES
एक महिनामै गृहमन्त्री लामिछानेको निराशाजनक अभिव्यक्ति! फाइल तस्बिर

काठमाडौँ- रवि लामिछानेले गृह मन्त्रालय सम्हालेको एक महिना भएको छ। मन्त्रालय सम्हाल्नेबित्तिकै प्रशासनिक क्षेत्रमा हुने ढिलासुस्ती अन्त्य गर्ने, विधिको शासन कडाइसाथ लागू गर्ने लगायतका प्रतिबद्धता जनाएका लामिछानेले एक महिना बित्दा निराशाजनक अभिव्यक्ति दिन थालेका छन्।

प्रतिनिधिसभा बैठकमा मंगलबार सम्बोधन गर्दै उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेले राज्यका संयन्त्रहरू ट्रयाकभन्दा बाहिर रहेकाले आफूलाई नतिजामुखी काम गर्न कठिनाइ भइरहेको बताए।

उनले राज्य संयन्त्र लथालिंग बन्नुमा ठूला दलहरूलाई दोष लगाए। उनले भने, ‘राज्यका संयन्त्रलाई थिलथिलो बनाएर छाडिएको छ। काम गर्नेलाई कानुन पालना गराउनुभन्दा पनि आदेश पालना गराउने गरी निरीह बनाएर राखिएको छ। वर्षौँ शासनसत्ता सम्हालेका दलहरूबाट यसलाई थिलथिलो बनाउने र कमजोर बनाउने काम भए।’

उनले ती संयन्त्रमा केन्द्रित हुँदा फरार सांसद लक्ष्मी महतो, आन्दोलनरत अधिकारकर्मी र क्रसर उद्योगका विषयमा निर्णय लिन ढिलाइ भएको बताए। उनले केही दिनभित्रै नतिजा आउने गरी काम गर्ने दाबी गरे।

राज्यका संरचनामा निकै सुधार चाहिएको उनको भनाइ छ। लामिछानेले भने, ‘तिनको प्रणालीगत सुधारका लागि हामी निरन्तर लागिरहेका छौँ। विशेष गरेर गृह मन्त्रालय प्रणाली सुधार र मापदण्ड निर्माणमा निरन्तर लागिरहेको छ।’

उनले परिणाम देखाउन चाँडै सुरु गर्ने पनि बताए। मन्त्री लामिछानेले ठूला दलका नेताहरूप्रति लक्षित गर्दै भने, ‘राज्य संयन्त्रहरूलाई हिजो चलाएजसरी अब चलाउन छोडिदिनुहोस्। आधा काम हाम्रो हल हुनेछ।’

सबैलाइै सीडीओ आफ्नो, डीएसपी आफ्नो र एसपी आफ्नो चाहिँदा समस्या देखिएको उनको बुझाइ छ। उनले भने, ‘यसैगरी तपाईँहरूलाई राज्यका निकायमा आफ्ना मानिस चाहिएको हो भने प्रणाली सुधारमा तपाईँहरूको योगदान के?’

सबै हाम्रा मान्छे हुन्, राज्यका मान्छे हुन् र ती मान्छेबाट प्रणाली सुधारेर सिस्टममा काम गर्न दिने कुरामा प्रतिबद्ध हुन सकेमात्रै आधा काम सकिने उनको भनाइ छ। उनले भने, ‘अनि मात्रै आमनागरिकले महसुस गर्नेछन्। चाहे ती क्रसरका विषयमा होस्, चाहे फरार सांसदका विषयमा हुन् वा आन्दोलनरत अधिकारीकर्मीका कुरा हुन्।’

गृह मन्त्रालय यी विषयमा अन्यन्त संवेदनशील भएर काम गरिरहेको उनको भनाइ छ।

उनले भने, ‘नतिजा किन समय लाग्ने भएको छ भने राज्यका संयन्त्रलाई चलाइएको छ। गिज्याइएको छ। ट्रयाकभन्दा बाहिर राखिएको छ। तिनलाई ट्रयाकमा ल्याउन नसक्दा कैयौँ ठाउँ हल्लिएका छन्।’
उनले त्यस्ता ठाउँलाई ठिक गरेर सम्पूर्ण विषयलाई सम्भवतः केही दिनभित्रै निर्णयमा पुग्ने विश्वास दिलाए।

गृहमन्त्री लामिछानेले सदनमा छोडखानी गर्ने, एकअर्कालाई होच्याउने, एकअर्कालाई तल पार्ने, खाटा बसिसकेका घाउहरूलाई कोट्याउने काम कम्तीमा आफू र आफ्नो दलबाट नहुने भनाइ राखे। उनले भने, ‘कहिलेकाहीँ आमनागरिकलाई जानकारी दिने सिलसिलामा केही खबर भन्नुपर्ने अवस्था आउन सक्ला। त्यसलाई त्यसै रूपमा बुझिदिन आग्रह गर्दछु।’

उपप्रधानमन्त्री लामिछानेले आफूले लिएको जिम्मेवारी पूरा हुने कुरामा ढुक्क हुन पनि सांसदहरूलाई आग्रह गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 14 =