गृहमन्त्रीको स्पष्टोक्ति : सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन

हिमाल प्रेस १४ चैत २०८० १६:३६
14
SHARES
गृहमन्त्रीको स्पष्टोक्ति : सहकारी ठगी प्रकरणमा मेरो संलग्नता छैन

काठमाडौँ- उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पारेका छन्। प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा उपप्रधानमन्त्री लामिछानेले सहकारी ठगीमा आफ्नो नाम जोडिए पनि कुनै पनि प्रमाणले त्यसको पुष्टि गर्न नसकेको बताए।

‘सहकारी ठगीका विषयमा नामबाहेक मेरो केही पनि छैन, न त हस्ताक्षर छ, न कुनै ल्याप्चे लगाएको छु, न पत्र आएको छ, न कुनै पत्र पाएको छु। न कुनै मुद्दा आएको छ’, लामिछानेले भने, ‘सहकारी ठगीमा आफ्नो संलग्नता पुष्टि गर्ने अन्य कुनै तथ्य नै छैन, अदालतमा दर्ता गरिएको मुद्दामा पनि म प्रतिवादी छैन।’

यसैगरी प्रहरी महानिरीक्षक बसन्त कुँवरले सहकारी ठगीका विषयमा प्रहरी समक्ष जाहेरी परे पनि उक्त जाहेरीमा उपप्रधानमन्त्री लामिछानेको कुनै संलग्नता नरहेको बताए। ‘सहकारी ठगीसम्बन्धी उजुरीमा गृहमन्त्रीज्यूको नाम जोडिने गरी कुनै प्रमाण आएको छैन’, उनले भने, ‘उहाँका नाममा सांकेतिक रुपमा मात्रै उजुरी आए पनि कुनै प्रमाण छैन।’

बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडूले उपप्रधानमन्त्री लामिछानेको नाम जोडिएकाले यस विषयमा स्पष्ट पारिदिन आग्रह गरेका थिए।

‘सहकारी ठगीको विषयमा रवि लामिछाने भन्ने नाम जोडिएको छ, त्यो नाम हाम्रा गृहमन्त्रीकै जस्तो रहेछ, तपाईँ नै हो? हो भने तपाईँको पनि निष्पक्ष छानबिन जरुरी छ’, उनले भने, ‘छानबिन विश्वसनीय बनाउने हो भने केही समयमका लागि तपाईँ गृहमन्त्रीबाट बाहिर निस्कँदा राम्रो हुनेछ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =