न्याय खोज्दै श्रमिक परिवार

रमेश भारती १९ वैशाख २०८१ १४:०६
28
SHARES
न्याय खोज्दै श्रमिक परिवार रुसी सेनामा भर्ती भएर सम्पर्कविहीन भएका पति माइतमानको अवस्था सार्वजनिक गर्न माग गर्दै काठमाडौँको शान्तिवाटिकामा आमरण अनशन बसेकी रुकुमपूर्वको पुथा उत्त्तरगंगा गाउँपालिकाकी सिरानी घर्ती मगर। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- आज १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस। नेपाल सरकारले श्रमिक दिवसमा सार्वजनिक बिदा दिएको छ। राष्ट्रपतिदेखि प्रधानमन्त्री, मन्त्री, प्रदेश प्रमुख र मुख्यमन्त्रीसम्मले दिएका शुभकामना सन्देशहरू समाचारका विषय बनेका छन्।

दिनभर काम गरेर साँझ छाक टार्ने श्रमिकहरूलाई श्रमिक दिवसले छोएको छैन। यति बेला श्रमिक त पीडामा छन् नै विदेशी भूमिमा श्रम गर्न गएका परिवारका सदस्य पनि सरकारसँग अधिकार माग गर्दै आन्दोलनमा छन्। रुसी सेनामा रहेका आफन्तको खोजीका लागि माग गर्दै पीडित समूह केही समययता संघीय राजधानी काठमाडौँमा छ। आफन्तको अवस्था अज्ञात हुँदा आफूहरू अन्यायमा परेको उनीहरू बताउँछन्।

आफूहरूको गासबासको टुंगो नरेहको उनीहरूको दुःखेसो छ। ‘गासबासको टुंगो नभएका हामीलाई केको श्रमिक दिवस? हामीजस्ता भुइँका नागरिकलाई श्रमिक दिवसले छुँदैन’, उनीहरू भन्छन्। आफन्तको अवस्था थाहा पाएमा ढुक्क हुने उनीहरू बताउँछन्।

तिनै पीडितमध्येकी एक हुन् रुकुमपूर्वको पुथा उत्त्तरगंगा गाउँपालिकाकी सिरानी घर्ती मगर। अवैध बाटो भएर रुसी सेनामा भर्ती हुन गएका उनका पति माइतमान घर्ती मगर मंसिरको १२ गतेदेखि परिवारको सम्पर्कमा छैनन्। सिरानी पतिलाई खोजिदिन आग्रह गर्दै डेढ महिनायता काठमाडौँमा आन्दोलनरत छिन्। उनी आमरण अनशन बसेको बुधबार १३ दिन भएको छ।

जुनसुकै निकायमा गए पनि सरकारले आफ्नो कुरा नसुनेपछि अनशन बस्न बाध्य भएको सिरानीले बताइन्। अनशनका कारण उनी राम्ररी बोल्न नसक्ने अवस्थामा छिन्। सिरानी माओवादी कार्यकर्ता हुन् भने उनका पनि माइतमान पनि माओवादीका पूर्वलडाकु हुन्।

‘मेरा श्रीमान् माओवादीका पूर्वलडाकु हुनुहुन्थ्यो। सेना समायोजनमा हुँदा उहाँ नेपाली सेनामा भर्ती हुनुभयो। अघिल्लो वर्ष सेनाबाट अवकाश लिएपछि घरमैमा बस्नुभएको थियो,’ उनले भनिन्, ‘वैदशिक रोजगारीमा यूएई जान भनेर जानुभएको थियो। एकैपटक गत भदौमा रुसी सेनामा भर्ती भएँ मात्र भन्नुभयो।’ माइतमान रुसी सेनामा भर्ती भएपछि मात्र परिवारले थाहा पाएको सिरानीले बताइन्।

सिरानीजस्तै रुसी सेनामा भर्ती भई बेपत्ता भएका सालोको खोजी गरिदिन सरकारसँग माग गर्दै १३ दिनदेखि सुर्खेत पञ्चपुरी नगरपालिका वीरेन्दचोकका कृष्ण थापा पनि आमरण अनशनमा छन्। सालो लक्ष्मण विष्ट गत असोजदेखि परिवारको सम्पर्कमा नआएको थापाले बताए।

गत असोजमा रुसी सेनामा भर्ती हुन यूएईबाट मस्को पुगेका विष्ट त्यतिबेला देखि नै परिवारको सम्पर्कमा नरहेको थापाले बताए। ‘सरकारले एकतिर विश्व श्रमिक दिवस मनाइरहेको छ। अर्कोतिर हामीजस्ता श्रमिक रुँदै आमरण अनशनमा बस्नुपरेको छ। हामीजस्ता बिहानबेलुका कसरी छाक टार्नु भन्नेलाई श्रमिक दिवसको मतलब हुँदैन’, उनले भने।

कृतु भण्डारीका साथ अनशन बसेका सुर्खेतका कृष्ण थापा। तस्बिर : हिमाल प्रेस

आफूहरूले सरकारसँग कुनै ठूलो कुरा नमागेको पीडितहरू बताउँछन्। रुसी सेनामा रहेका नेपाली युवालाई सकुशल फिर्ता ल्याउन, घाइते भएकाको उपचार, क्षतिपूर्ति र नेपाल ल्याउने व्यवस्था गर्नमात्र सरकारसँग माग गरेको थापाले बताए। थापाले भने, ‘हाम्रो मान्छे रुसमा मरेको भए शव चाहियो, जिउँदो भए खबर चाहियो मात्रै भनेका हौँ।’

विगत १३ दिनदेखि अभियन्ता कृतु भण्डारीसहित रूसी सेनामा भर्ती भएका व्यक्तिका परिवारजन रत्नपार्कको शन्तिवाटिकामा आमरण अनशन बसेका छन्। १३औँ दिनसम्म पनि सरकारका कुनै पनि प्रतिनिधि उनीहरूसँग कुरा गर्न आएका छैनन्। त्यसैले उनीहरूका माग सुनुवाइ भएको छैन।

अभियन्ता भण्डारीले आमरण अनशन बसेका सबैको स्वास्थ्य अवस्था भने नाजुक बन्दै गएको बताइन्। रुसी सेनामा भर्ती भएका परिवारका सदस्य महिनौँदेखि आफन्त खोजिरहेका छन्। सरकारले माग सम्बोधन गर्नुभन्दा पनि हाम्रो आन्दोलन दबाउने प्रयास गरिरहेको छ’, भण्डारीले भनिन्। अभियानले युक्रेनी सेनाको कब्जामा रहेका पाँच नेपालीको सकुशल रिहाइको पहल गर्न माग गरेको छ।

आन्दोलनका क्रममा पीडितहरू रूसी राजदूतावासअघि समेत धर्नामा बसे। त्यसपछि भृकुटीमण्डपमा अनशनमा बसेका उनीहरुलाई प्रहरीले तीन दिनअघि रत्नपार्कस्थित शान्तिवाटिकामा सारेको थियो। अभियानले रुसी सेनामा आबद्ध नेपालीहरूको जीवनरक्षार्थ माइतमान र थापाजस्ता ६ सय ५० जनाभन्दा बढीको उद्धारको माग गर्दै सरकारलाई सूची बुझाएको छ।

परराष्ट्र मन्त्रालयले ५ सय जनाभन्दा बढीले आफन्तको उद्धारका लागि निवेदन दिएको बताउँदै आएको छ। रुसी सेनामा भर्ती भएका ३६ जना नेपालीको मृत्यु भएको छ। रुस-युक्रेन युद्धमा ४ सयभन्दा बढी नेपाली घाइते भएको परराष्ट्र मन्त्रालयको अनुमान छ।

प्रकाशित: १९ वैशाख २०८१ १४:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 7 =