‘भोको पेट भर्न म नेपाल फर्कन चाहन्छु’

हिमाल प्रेस ६ जेठ २०८१ १५:३४
150
SHARES
‘भोको पेट भर्न म नेपाल फर्कन चाहन्छु’ रुसी सेनाको पोसाकमा खोटाङको खोटेहाङ गाउँपालिका–१ लिकुवा पोखरीका हरिकुमार राई। तस्बिर साभार : हरिकुमारको फेसबुक

म  हरिकुमार राई आठ महिनाअघि यूएई हुँदै रुसी सेनामा भर्ती हुन आएको हुँ। म नेपाल फर्किन चाहन्छु। तर कसरी? यसको उत्तर मसँग छैन। नेपाल फर्कनका लागि सहयोग माग्दै विभिन्न संघसस्था र सरकारी निकायसँग हारगुहार मागिसकेँ। कतैबाट पनि सकारात्मक संकेत पाएको छैन।

मेरो नेपालको ठेगाना खोटाङको खोटेहाङ गाउँपालिका-१ लिकुवा पोखरी हो। रुस आउनुभन्दा अगाडि म काठमाडौँमा ‘राइडर’ थिएँ। कमाइ त ठिकै थियो। परिवार पाल्न भने समस्या भयो। विदेशमा केही वर्ष पसिना बगाउन पाए पैसा कमाउन सकिन्छ भन्ने इच्छा जाग्यो। एकजना साथी र दलालको लहलहैमा म २०८० भदौमा ११ लाख रुपैयाँ तिरेर रुसी सेनामा भर्ती हुन मस्को आएको हुँ।

रुसी सेनामा भर्ती भएको पहिलो सातादेखि युद्धमा होमिएँ। म भर्तीको भएको केही दिनमै युद्धमैदानमा खटिएर युक्रेन पुगेँ। त्यहाँको आकाशमा शत्रुको ड्रोन घुमिरहेका थिए। त्यतिबेला त ज्यान जोगाएँ। भाषा नजान्दा भने अलमल हुँदो रहेछ। कतिपय नेपालीले भाषा नजान्दा डरकै भरमा गोली चलाउँछन्।

युद्धका क्रममा कति बेला आक्रमणमा परिन्छ थाहा हुँदैन। युद्धको भय त छँदैछ। पूरा तलब पनि पाएको छैन। मैले अहिलेसम्म तीन महिनाको तलब पाएँ। रुसी सरकारले सेनामा भर्ती भएका विदेशीलाई तलब दिए खान दिँदैन, खाना दिए तलब दिँदैन। दिनमा एक छाक खाएर युद्धमा खटिएको छु। रुसी सेनामा भर्ती भएको नेपाली जंगलमा जे भेट्यो त्यही खान्छन्। कति दिन भोकै बसेर बन्दुक चलाउन बाध्य छन्। भोको पेट भर्नकै लागि भए पनि नेपाल फर्कन चाहन्छु।

रुसी कमान्डरले राम्रो सुराकी नगरेको भन्दै मार्ने धम्की दिएको छ। त्यसैले यहाँ ज्यान जोखिममा पारेर बस्नुभन्दा स्वदेश फर्किन खोजेको हुँ। मस्कोस्थित नेपाली दूतावास, परराष्ट्र मन्त्रालय र कन्सुलर विभागमा गुहार मागे पनि सुनुवाइ भएको छैन।

मेरो साथमा अन्य १५ जना नेपाली रुसी सेनामा भर्ती भएका थिए। तीमध्ये दुईजनाको मृत्यु भएको छ भने अन्य साथी सम्पर्कमा छैनन्। मेरै ब्यारेकमा काम गर्ने २० जनाभन्दा बढी नेपाली घाइते भएका छन्।

८० जना नेपाली कार्यरत अर्को ब्यारेकमा ड्रोन बम र बम आक्रमण भएको थियो। त्यहाँ रहेका सबै नेपाली सम्पर्कविहीन छन्। उनीहरू मारिएको शंका छ। तर उनीहरु मरेको सूचना रुसी सेनाले लुकाएको छ।

रुसी सेनामा रहेका नेपाली भाग्न खोज्छन्। भाग्ने क्रममा रुसी सेनाले भेटेमा नियन्त्रणमा लिएर यातना दिन्छ। पछिल्लो समय भाग्ने कोसिस गरेपछि सबैलाई असर पर्‍यो। सँगै रहेका नेपाली रुसी नागरिक रहेका समूहमा बाँडिएर बस्ने गरेका छन्। अहिले नेपाली एकै ठाउँमा बस्न पाउँदैनौँ। रुसी सेनाको नियन्त्रणमा बस्नुपरेको छ। कति रुसी सेनामा कार्यरत रुसका नागरिक सन्काहा हुँदा नेपालीले बिनाकारण कुटाइ खाने गरेका छन्। रुसी सेनाले भाग्न खोजे अब तिमीहरूको हात काट्छौँ, खुट्टामा गोली हान्छौँ भनेर धम्की दिने गरेको छ। रुसी भाषा नजान्दा रुसी सेनाका कमान्डरले मार्न खोजेका थिए।

गत महिना १४ जना नेपालीले भाग्ने कोसिस गरे। ११ जना समातिए। उनीहरूलाई रुसी सेना यस्तो नराम्रो गरी कुटे कि सम्झिँदा आङै सिरिंग हुन्छ। थुनामा राखेर नराम्ररी यातना दिइन्छ। पानी पनि खान दिँदैनन्। नेपालीको दुःख नेपाली नै हेर्न बाहेक केही गर्न सकिँदैन। मेरो पासपोर्ट पनि उनीहरूले लगेका छन्। माग्दा जलाइसकेको भन्छन्। अहिले मेरो साथमा मोबाइल मात्र छ।

केही दिनअघि युक्रेनको ड्रोन लागेर एकजना साथी घाइते भयो। रुसी कमान्डर घाइते भएपछि त्यसको आरोप ममाथि लाग्यो। त्यो कमान्डर अहिले उपचाररत छ। त्यहीँ भएर अहिलेसम्म म जिउँदो छु। नत्र अस्ति मलाई गोली हानेर त्यसले मारिदिन्थ्यो होला।

कमान्डरको एकजना साथी युक्रेनको आक्रमणमा मर्‍यो। उक्त आक्रमणमा एकजना ड्रोन अपरेटर मरेपछि मैले ऊ सामान्य छ भनेर रिपोर्टिङ गरे। कमान्डरले त्यसको आरोप पनि मलाई लगायो।आक्रमणमा मैले राम्रो सुराकी नगरेको र सूचना समयमा नदिएको आरोप छ। त्यही भएर कमान्डर उपचारबाट निस्किएपछि सीधै गोली हान्ने हो कि भन्ने डर छ।

कमान्डरको एकजना सुरक्षामा खटिएको रुसी दिनभर सुतिरहन्छ। उसले नेपालीलाई मात्र काम लगाउँछ। सेटमा काम भएन भने सिध्याइदेऊ भनेर धम्की दिन्छ। रुसी सेनामा भर्ती भएका सबै नेपाली भाग्न खोजिरहेका छन्। दलालको लहलहैमा लागएर आएका सबै नेपाली स्वदेश फर्किन चाहे पनि कसरी फर्किने भनेर उपाय खोजिरहेका छन्।

[ह्ववाट्सएपमार्फत रमेश भारतीसँग कुराकानीमा आधारित]

प्रकाशित: ६ जेठ २०८१ १५:३४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + one =