युक्रेन युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत

हिमाल प्रेस ३ फागुन २०८० १३:४३
32
SHARES
युक्रेन युद्धमा मारिएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत प्रतीकात्मक तस्बिर

काठमाडौँ- रुसी सेनामा भर्ती भई युक्रेन युद्धमा मृत्यु भएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस सहमत भएको छ। युक्रेनसँगको लडाइँमा ज्यान गुमाएका नेपालीका परिवारलाई क्षतिपूर्ति दिन रुस तयार भएको परराष्ट्र मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार मस्कोमा रहेको नेपाली दूतावासमार्फत परिवारलाई क्षतिपूर्ति पठाउन रुस सहमत भएको सूचना पठाएको छ।

यसका लागि सरकारी स्तरबाट छलफल र पत्राचार भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। परराष्ट्र मन्त्रालय हुँदै सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट मृतकका परिवारलाई क्षतिपूर्ति दिने गरी छलफल भइरहेको उनले बताए। ‘दूतावासको पहलमा रुसी सेनामा भर्ती भएको स्वीकार्दै मृतक परिवारलाई क्षतिपूर्ति दिन  रुस सहमत भएको छ। रुसी सेनामा कति नेपाली कार्यरत छन् भन्ने यकिन विवरण छैन। त्यसैले विवरण पनि मागेका छौँ ’, उनले भने।

नेपाली दूतावासले मृतकका परिवारसँग समन्वय गरेर मृतकको पहिचान र सम्बन्ध खुलाउने कागजात पठाएपछि क्षतिपूर्ति आउने उनको भनाइ छ। अहिले रुस सरकारले रुसी सेनाका कार्यरतमध्ये १० जनाको मृत्यु भएको विवरण परराष्ट्र मन्त्रालयलाई पठाएको हो। अन्य तीन जनाका बारेमा केही भनेको विवरण नपठाएको मन्त्रालयले जनाएको छ।

स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा-१ का रूपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार-५ स्याङ्जाका प्रितम कार्की, मेलुङ-६ दोलखाका राजकुमार रोका, इलाम-५ इलामका गंगाराज मोक्तान, कुन्दनसिंह नागल, प्युठान नगरपालिका-४ काठेवरका सोनु सुनार, कपिलवस्तुको वाणगंगा-१ का रूपक कार्की र लमजुङ दूधपोखरी गाउँपालिका-१ घामरचोकका ३२ वर्षीय साजन गुरुङको रुसी सेनामा भर्ती भएपछि मृत्यु भएको परारष्ट्र मन्त्रालयले जनाएको छ।

नागलको स्थायी ठेगाना प्राप्त नभएको मन्त्रालयको विवरणमा उल्लेख छ। प्युठान नगरपालिका-४ काठेवरका सोनु सुनार र लमजुङ दूधपोखरी गाउँपालिका-१ घामरचोकका ३२ वर्षीय साजन गुरुङको विवरण नपठाएको मन्त्रालयले जनाएको छ। उनीहरू खोजी सूचीमा राखिएको जानकारी आएको छ। मृतक नेपालीको शव कहाँ छ भने जानकारी समेत रुसले पठाएको छैन।

रुसमा रहेका परिवारका सदस्यलाई स्वदेश फर्काउन पहलका लागि माग गर्दै तीन सयजनाभन्दा बढी परिवारले कन्सुलर सेवा विभागमा निवेदन दिएको परराष्ट्रले जनाएको छ। रुसी सेनामा कार्यरतमध्ये तीन दर्जनभन्दा बढीको मृत्यु भएको भन्दै शव ल्याइदिन माग गर्दै परिवारका सदस्यले निवेदन दिएका छन्। मृत्यु भएको अनुमानसहित निवदेन आएका कारण यसै भन्न सक्ने अवस्था नभएको मन्त्रालयको भनाइ छ।

क्षतिपूर्ति पठाउन तयार भए पनि युद्धमा मारिएका नेपालीको शव पठाउन भने रुस सरकारले आनाकानी गरिरहेको परराष्ट्र मन्त्रालयका कर्मचारीहरू बताउँछन्।
मन्त्रालयका अनुसार मृतकका परिवारले कति रकम बराबरको क्षतिपूर्ति पाउँछन् भन्ने यकिन भइसकेको छैन।

जनही ९१ लाख रुपैयाँ दाबी

रुसी सेनामा मृत्यु भएको व्यक्तिका परिवारले क्षतिपूर्तिबापत ७ मिलियन रुबल (एक करोड चार लाख १९ हजार रुपैयाँ) पाउने व्यवस्था छ। नेपालले सोहीअनुसार क्षतिपूर्ति माग गरिरहको परराष्ट्र स्रोतले जनाएको छ।

मन्त्रालयले गत मागमै रुससँग मृतकका हकमा ९० लाख ८१ हजार ६ सय रुपैयाँ र घाइतेका हकमा ४१ लाख ५१ हजार ६ सय रुपैयाँ माग गर्दै पत्रचार गरेको छ। नेपालको पत्रलाई रुसले अहिलेसम्म जवाफ दिएको छैन।

हाल कति जना नेपाली युवा रुसी सेनामा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन। अमेरिकी समाचार संस्था सीएनएनले १५ हजारभन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको र २ सय जनाभन्दा बढी घाइते भएको समाचार प्रकाशित गरेको छ।

सरकारद्वारा रुसी सेनामा ज्यान गुमाएकाको परिवारलाई ९१ लाख क्षतिपूर्ति माग


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 7 =