रुस-युक्रेन युद्ध

सरकारद्वारा रुसी सेनामा ज्यान गुमाएकाको परिवारलाई ९१ लाख क्षतिपूर्ति माग

सरकारको पत्राचारलाई रुसको बेवास्ता

रमेश भारती १६ माघ २०८० १७:०३
108
SHARES
सरकारद्वारा रुसी सेनामा ज्यान गुमाएकाको परिवारलाई ९१ लाख क्षतिपूर्ति माग तस्बिर स्रोत पिक्सल

काठमाडौँ- परराष्ट्र मन्त्रालयले रुसी सेनामा भर्ती भई मृत्यु भएका नेपालीहरूको क्षतिपूर्ति माग गर्दै रुस सरकारलाई औपचारिक पत्र पठाएको तीन महिना पुग्यो। रुस-युक्रेन युद्धमा लड्ने क्रममा १३ नेपाली नागरिकहरूको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। मृतकका परिवारले पाउने क्षतिपूर्ति र घाइते भएका नेपालीको हकमा पनि क्षतिपूर्ति दिनुपर्ने भन्दै परराष्ट्र मन्त्रालयले पत्रचार गरेको हो।

सरकारले तीन महिनाको अन्तरमा रुस सरकारलाई तीन कूटनीतिक पत्र पठाएको भए पनि रुसले बेवास्ता गरेको छ। ती पत्रमा रुसी सेनामा नेपाली नागरिकलाई भर्ती गराउन बन्द गर्न, भर्ती भएका नेपाली नागरिकलाई फिर्ता पठाउन, युद्धमा मारिएका नेपालीलाई क्षतिपूर्ति प्रदान गर्न तथा उनीहरूको शव नेपाल पठाउन उक्त रकमको मााग गरेको हो।

नौ मागसहित मन्त्रालयले तीनपटक यही क्षतिपूर्तिको माग गरिएको परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए। नेपाल सरकारले लगातार तीनपटक पत्राचार गर्दा पनि रुसले यसलाई वाहियात भन्दै सन्देश दिएको छ। परराष्ट्र स्रोतका अनुसार रुस सरकारले अहिलेसम्म पत्रको कुनै जवाफ दिएको छैन। नेपालले भने क्षतिपूर्तिको मात्रसहित नै पत्रचार गरेको हो। मन्त्रालय स्रोतका अनुसार मृतकका हकमा ९० लाख ८१ हजार ६ सय रुपैयाँ र घाइतेका हकमा ४१ लाख ५१ हजार ६ सय रुपैयाँ माग गरिएको हो।

रुसी सरकारले युक्रेन युद्धमा मारिएका रुसी सैनिकहरूका परिवारलाई क्षतिपूर्तिको रुपमा पाँच मिलियन रुबल (६८,८०० डलर) उपलब्ध गराउँछ भने घाइते सैनिकका लागि तीन मिलियन रुबल (४१,३०० डलर) उपलब्ध गराउँछ। यही क्षतिपूर्ति नेपालीलाई पनि हुनुपर्ने मागसहित परराष्ट्र मन्त्रालयको माग छ।

युद्धमा मारिएका अथवा घाइते भएका विदेशी सैनिकलाई पनि सोही क्षतिपूर्ति रकम दिइने अथवा यसका केही थपघट हुन्छ, यो अहिलेसम्म स्पष्ट छैन। तर रुसी सेनाले मृत्यु अथवा घाइते हुँदा पाउने क्षतिपूर्तिको माग गर्दै पत्राचार गरिएको ती अधिकारीले हिमाल प्रेससँग बताए। ‘रुसी सेनामा मृत्यु भएको व्यक्तिका परिवारले क्षतिपूर्ति ७ मिलियन रुबल  (एक करोड चार लाख १९ हजार रुपैयाँ) पाउने व्यवस्था रहेछ। अथवा यसको वरपर हुनुपर्छ भन्ने रुस सरकारको नियम रहेछ’ उनले भने। यसै नियमको आधारमा नेपालले रुसलाई पत्राचार गरेको छ।

अहिलेसम्म कति जना नेपाली युवाहरू रुसी सेनामा भर्ना भएका छन् भन्ने यकिन तथ्यांक छैन। तर एक हजारभन्दा बढी नेपाली रुसी सेनामा भर्ती भएको र २ सय जनाभन्दा बढी घाइते भएको परराष्ट्र मन्त्रालयकै अनुमान छ।

नेपाल सरकारले रुसी सेनामा भर्ती नगराउन र त्यहाँ मृत्यु भएको नेपालीको शवसहित परिवारलाई क्षतिपूर्ति माग गदै पत्रचार गरेको हो। यति नै क्षतिपूर्ति माग गरेको विषयमा आफू जानकार नभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राईले जानकारी दिए। राईका अनुसार नेपाल सरकारले रुसी रक्षा कानुनअनुसार नेपालीले क्षतिपूर्ति पाउन पर्छ भनेर रुससँग छलफल गर्ने तयारीसमेत गरिरहेको छ। यो विषयमा कूटनीतिक तहमै रुस सरकारसँग छलफल गर्ने उनको भनाइ छ।

स्याङ्जाका हरिप्रसाद अर्याल, कैलालीका भरतबहादुर शाह, धादिङका राजकुमार गिरी, गोरखाका सन्दीप थपलिया, कपिलवस्तु वाणगंगा–१ का रूपक कार्की, पोखरा कास्कीका देवान राई, पुतलीबजार–५ स्याङ्जाका पितम कार्की, मेलुङ–६ दोलखाका राजकुमार रोका, इलाम–५ इलामका गंगाराज मोक्तान, कुन्दन सिंह नागल, प्युठान नगरपालिका–४ काठेवरका सोनु सुनार, कपिलवस्तुको वाणगंगा–१ का रूपक कार्की र लमजुङ दूधपोखरी गाउँपालिका–१ घामर चोकका ३२ वर्षीय साजन गुरुङको रुसी सेनामा भर्ती भएपछि मृत्यु भएको परारष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूको शव अहिलेसम्म कहाँ छ भने जानकारी नभएको मन्त्रालयले बताउँदै आएको छ।

परराष्ट्र मन्त्री एनपी साउदले रुसको तर्फबाट युक्रेनविरुद्ध युद्धमा ज्यान गुमाएका नेपाली युवाहरूका परिवारलाई रुसले क्षतिपूर्ति दिनुपर्ने माग सार्वजनिक कार्यक्रमम बताउँदै आएका छन्। उनले यो विषयमा नेपालस्थित रसियन दूतावाससँग पनि पटक–पटक छलफल गर्दै आएका छन्।

रुसी सेनामा सेवा दिने मानिसको परिवारलाई दिइने रुसी नागरिकताका बारेमा भने सम्बन्धित सदस्यमा निर्भर पर्नेछ। सरकारले चाँडै रुसी पक्षसँग बुझेर यो समस्याको समाधान खोज्ने मन्त्री साउदले एक महिना अघिको एक कार्यक्रममा बताएका थिए। नेपालका १ सय ४० परिवारहरूले परराष्ट्र मन्त्रालयमा सम्पर्क गरेर रुसी सेनामा भर्ना भएका आफ्ना परिवारका सदस्यहरूको पछिल्लो अवस्थाका बारेमा खोजीनीति गर्न आग्रह गरेको उल्लेख गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 2 =