काठमाडौँ- परराष्ट्र मन्त्रालयले नेपाली नागरिकलाई सहज रूपमा राहदानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेलले राहदानीको प्रणाली परिवर्तन भई लाइभ राहदानी आवेदन लिई राहदानी जारी गर्ने कार्य सञ्चालन भएको भन्दै सहज रूपमा राहदानी सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको बताए।
उनले सेवा प्रवाहलाई अझ बढी व्यवस्थित र नागरिकमैत्री बनाउन राहदानी विभागले दुई सिफ्टमा सेवा प्रदान गरिरहेको र शनिबार र आइतबार बिदाका दिनमा समेत सेवा प्रवाहलाई सुचारु गरेको बताए। नयाँ प्रणालीबाट हालसम्म २५ हजार भन्दा बढी राहदानी छापिइसकेको उनले जानकारी दिए।
त्यस्तै दक्षिणपूर्व एसियाका विभिन्न स्थानमा सञ्चालित अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गरिएको भन्दै उनले कम्बोडियामा ३८ जना अनलाईन स्क्यामिङ र ३८ जना संगठित अपराधसम्बन्धी कसुरमा गरी जम्मा ७६ जना नेपालीहरू थुनामा रहेको बताए।
प्रवक्ता पौडेलले ब्रोड पिकको दुर्घटनाका ज्यान गुमाएका मध्ये किली पेम्बा शेर्पा ‘किलु’, ग्यालु शेर्पा र निमा शेर्पाका शवहरू मात्र इस्लामाबाद ल्याइएको र एक नेपाली, एक पाकिस्तानी र एक अमेरिकी आरोही गरी तीनजनाको शव कठिन भौगोलिक अवस्थाका कारण ल्याउन बाँकी रहेको बताए।
शव नेपाल फिर्ता ल्याउने कार्यमा इस्लामाबादस्थित नेपाली राजदूतावासबाट आवश्यक सहजीकरण भइरहेको उनले जानकारी दिए।


