काठमाडौँ- परराष्ट्रमन्त्री शिशिर खनालको प्रेस सल्लाहकारमा पत्रकार जगदीश्वर पाण्डे नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकले पाण्डेलाई साउन १ गतेदेखि लागू हुने गरी परराष्ट्रमन्त्रीको प्रेस सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो।
नुवाकोटको तादी गाउँपालिका-४ स्थायी घर भएका पाण्डेले परराष्ट्रमन्त्री खनालको स्वकीय सचिवालयमा प्रेस सल्लाहकारका रूपमा कार्यरत रहने परराष्ट्र मन्त्रालयले जनाएको छ। डेढ दशकदेखि पत्रकारितामा सक्रिय पाण्डेले खेलकुद पत्रकारिताबाट समसायिक विषयमा कलम चलाउँदै एक दशकअघिदेखि कूटनीतिमा रिपोर्टिङ थालेका हुन्। उनले राजधानी दैनिक, कान्तिपुर दैनिक र द हिमालयन टाइम्समा संवाददाताका भएर म गरिसकेका छन्। उनी पछिल्लो समय द डिप्लोम्याटमा सम्पादक थिए।
त्रिविबाट स्नातकोत्तर पाण्डेले राष्ट्रसंघीय महासभाको रिपोर्टिङ गर्ने र महासभा बुझ्ने रेहम अल-फार्रा मेमोरियल पत्रकारिता युवा फेलोसिप पाएका थिए। उनले एसियन कलेज अफ जर्नालिजम (एसीजे) चेन्नाईबाट पत्रकारितामा एक वर्षे प्रशिक्षण पनि लिएका छन्।
कूटनीति, रक्षा र संसद् रिपोर्टिङमा दखल राख्ने पाण्डेले परराष्ट्रमन्त्रीको सल्लाहकारका रुपमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ। प्रेस तथा सञ्चार क्षेत्रको अनुभवका आधारमा उनी परराष्ट्रमन्त्रीको सञ्चार, सार्वजनिक सूचना प्रवाह, सञ्चारमाध्यमसँगको समन्वय तथा मन्त्रालयका गतिविधिलाई प्रभावकारी रूपमा सार्वजनिक गर्ने जिम्मेवारीमा रहनेछन्।
सरकारले मन्त्रालय र सञ्चारमाध्यमबीच प्रभावकारी समन्वय, परराष्ट्र नीतिसम्बन्धी सूचना प्रवाह तथा सार्वजनिक सञ्चारलाई थप व्यवस्थित बनाउने उद्देश्यले पाण्डेलाई यो जिम्मेवारी दिएको जनाएको छ।

