युक्रेनको एउटै आक्रमणमा ७४ नेपाली मारिए : चालक लिम्बू

हिमाल प्रेस २० चैत २०८० १०:३५
1.1k
SHARES
युक्रेनको एउटै आक्रमणमा ७४ नेपाली मारिए :  चालक लिम्बू प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- रुसी सेनाको सवारी चालकका रूपमा काम गरेका राज लिम्बूले मारिउपोलमा भएको युद्धमा ७४ नेपालीको ज्यान गएको दाबी गरेका छन्। हिमाल प्रेससँग फोन सम्पर्कमा आएका लिम्बूले यस्तो दाबी गरेका हुन्। सात महिनाअघि दुबई हुँदै रुस पुगेका भोजपुरका लिम्बूले त्यहाँ आफूले रुसी सेनाको गाडी चलाएको बताए।

लिम्बूले भने, ‘फेब्रुअरी २४ को राति युक्रेनी सेनाले मारिउपोलमा जमिनमुनि र पानीको पाइपबाट आक्रमण गर्‍यो। मैले पहिलो घेरामा रहेका २७ जना नेपाली मरेको देखेको हुँ। मचाहिँ पार्किङमुनि लुकेर बाँचेँ।’ अन्य ४७ नेपालीको भने उपचारका क्रममा निधन भएको उनको दाबी छ।

त्यति बेला युक्रेनी सेनाले एकसाथ नौ स्थानमा आक्रमण गरेको लिम्बूले बताए। उनले भने, ‘आक्रमणमा घाइते भएका दुई सयभन्दा बढी रुसी सेनालाई मैले अस्पताल पुर्‍याएको थिएँ।’ युद्धमा घाइते भएका रुसी सेनालाई सातवटा ट्रकमा हालेर अस्पताल लगिएको लिम्बूले बताए।

मारिउपोलमा रुसी सेनाको अस्थायी अस्पताल थियो। ‘रुसी सेनाका एक अधिकारीले पनि उपचार गराइरहेका ४७ जना नेपाली मरेको रिपोर्टिङ गरिरहेका थिए’, उनले भने। युद्धमा मारिएका नेपालीको शव क्षतविक्षत रहेकाले चिन्न नसकिएको लिम्बूको भनाइ छ। उनले भने, ‘पहिचान नभएको शव रुसी सेनाले पहाडको कुनामा लागेर एसिडमा हालेर जलाउँदा रहेछ्न्।’

युक्रेनको मारिउपोल सहरको दोस्रो ठूलो क्याम्पमा युक्रेनी सेनाले आक्रमण गरी केही रुसी सेनालाई अपहरणसमेत गरेको उनको दाबी छ। लिम्बूका अनुसार रुसी सेनामा भर्ती भएका धेरै नेपाली घाइते छन्। ‘मैले रुसी सेनाकै मुखबाट सुनेको दुई हजारभन्दा बढी रुसी सेनामा भर्ती भएका नेपाली घाइते भएका छन् भन्ने सुनेको छु।’

सरकारले भने रुसी सेनामा भर्ती भएका ३६ जना नेपालीको निधन भएको पुष्टि गरेको छ। रुसी सेनामा कति संख्यामा नेपाली छन् भने सरकारसँग तथ्यांक छैन।  अमेरिकी समाचार संस्था सीएनएनको रिपोर्टअनुसार रुसी सेनामा १५ हजारभन्दा बढी नेपाली भर्ती भएको अनुमान छ।

लिम्बू रुसी सेनामा भर्ती हुन साउदीबाट यूएई पुगेका थिए। पाँच वर्षदेखि साउदीमा कन्टेनर ट्रक चलाउँदै आएका उनी यूएईमै कार्यरत इटहरीका विक्रम लिम्बूको आग्रहमा साउदीबाट भागेर यूएई पुगेको बताउँछन्। त्यस क्रममा काठमाडौँका रवीन्द्र क्षेत्रीलाई सात लाख रुपैयाँ तिरेको जानकारी राजले दिए।

उनको टोलीलाई मस्को विमानस्थलबाट धनगढीका सुरेन्द्र क्षेत्रीले ३० किलोमिटर पर रहेको रुसी सेनाको भर्ती केन्द्रमा पुर्‍याएको थियो। टोलीमा ४३ जना रहेको राज सम्झन्छन्। एक सैनिकको जिम्मा लगाएपछि क्षेत्री फर्किएका थिए। ‘सामान्य चेकजाँचपछि हामीलाई रुसी सेनामा भर्ती गरियो। त्यसपछि सीधै तालिम केन्द्रमा लगियो। २१ दिन केही तालिम दिए र हतियार चलाउन सिकाए। अनि युक्रेनको मारिउपोल सहरमा खटाए’, राजले भने।

मारिपोलमा सातवटा क्याम्पमा एक हजारभन्दा बढी नेपाली रुसी सेनाका पक्षबाट युद्धमा खटिएको राजको भनाइ छ। उनका अनुसार युक्रेनका ओडेसा र मारिउपोल करिब तीन हजार नेपाली रहेको अनुमान छ। युद्ध क्षेत्रमा खटिए पनि आफूले हतियार चलाउन नपरेको राजले बताए। ‘गाडी चालएको अनुभव भएका कारण मलाई रुसी सेनाले सामान बोक्ने ट्रक चलाउन दिएको थियो’, उनले भने।

राजका अनुसार रुसले बढी आक्रमणको सम्भावना भएको स्थानमा दुईवटा क्याम्प राख्ने गरेको छ। यस्ता क्याम्पमा पहिलो र दोस्रो घेरामा नेपालीसहित विदेशीलाई खटाइन्छ। फब्रुअरी २४ मा युक्रेन र रुसी सेनाबीच २१ घण्टा जति युद्ध चलेको थियो। राज अहिले रुसकै मस्को सहरमा लुकेर बसेका छन्। नेपाल फर्किन केही नेपाली दलालका सहयोग खोजिरहेको उनले बताए।

प्रकाशित: २० चैत २०८० १०:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + 16 =