रुसी सेनामा थप १६ नेपालीको मृत्यु, मृतकको संख्या ३६ पुग्यो

हिमाल प्रेस ६ चैत २०८० ११:०६
16
SHARES
रुसी सेनामा थप १६ नेपालीको मृत्यु, मृतकको संख्या ३६ पुग्यो प्रतिनिधिमूलक तस्बिर।

काठमाडौँ- रुसी सेनामा गएका थप १६ जना नेपालीको मृत्यु भएको छ। परराष्ट्र मन्त्रालयका अनुसार योसहित रुसी सेनामा गएका ३६ जना नेपालीले ज्यान गुमाइसकेका छन्। गत साता परराष्ट्रले सातजना रुसी सेनामा कार्यरत नेपालीले ज्यान गुमाएको तथ्यांक सार्वजनिक गरेको थियो। त्यसअघि १३ जना नेपालीको निधन भएको थियो।

परराष्ट्र मन्त्रालयलकाे कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलले रुसी सेनामा भर्ती भएका ३६ जना नेपालीको सूची मस्कोस्थित नेपाली दूतावासलाई रुसी विदेश मन्त्रालयले उपलब्ध गराएको जानकारी दिए।

मृत्यु हुने १६ जनामध्ये तीनजनाकाे ठेगाना खुलेकाे छैन। पाैडेलका अनुसार दाङका जितबहादुर पुनमगर, तेह्रथुमका टीकाबहादुर रानामगर, प्युठानका सोमेश सुनार, बाँकेका चन्द्रप्रकाश बीसी, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमकुमार भुजेल र धनुषाका विमलकुमार गजमेरको मृत्यु भएको विवरण प्राप्त भएको छ।

यसैगरी मकवानपुरका विजयबहादुर थोकर, मोरङका गयानन्द साह, विकास राई, घनश्याम शाही, नवलपरासीका प्रेमप्रकाश न्यौपाने र भीमबहादुर बिसीको मृत्यु भएको रुसको विदेश मन्त्रालयले मस्कोस्थित नेपाली दूतावासलाई बुझाएको विवरणमा उल्लेख छ। मृत्यु हुने अन्यमा अभिषेक बुढा, क्षितिज बस्नेत, जितबहादुर घिसिङ छन्। पत्रमा उनीहरूको ठेगाना नखुलेकाे पाैडेलले बताए।

रुसी सेनामा गएर सम्पर्कमा नआएका भनेर पाँच सयभन्दा बढी परिवारले खोजिदिन आग्रह गर्दै आवेदन दिएको पौडेलले जानकारी दिए। ‘रुसी सेनामा भर्ती भएका अन्य नेपालीको जानकारी लिन काम मस्कोस्थित नेपाली दूतावासमार्फत भइरहेको छ। त्यहाँ रहेका नेपालीको अवस्था, कति भर्ती भएका छन्, कति हताहत भएका छन् र कति घाइते छन् भनेर तथ्यांक लिने काम भइरहेको छ,’ उनले भने।

पौडेलका अनुसार रुसी सेना भर्ती भई युद्धका क्रममा ज्यान गुमाएका कतिपय नेपालीको पहिचान गर्न समस्या भइरहेको दूतावासले जानकारी गराएको छ।

यसअघि ज्यान गुमाउने २० नेपाली
स्याङ्जाका हरिप्रसाद अर्याल
कैलालीका भरतबहादुर शाह
धादिङका राजकुमार गिरी
गोरखाका सन्दीप थपलिया
कपिलवस्तुका रुपक कार्की
कास्कीका दिवान राई
स्याङ्जाका प्रितम कार्की
दोलखाका राजकुमार रोका
इलामको गंगाराज मोक्तान
कुन्दन सिंह नागल
प्युठानका सोनु सुनार
कपिलवस्तुका रूपक कार्की
लमजुङका साजन गुरुङ
रसुवाका सुन्दर मोक्तान
धादिङका पूर्णबहादुर गुरुङ
जाजरकोटका नवीन शाही
उदयपुरका पदमबहादुर घिमिरे
झापाका गंगाराम अधिकारी
बागलुङका जितबहादुर विक
बाँकेका सञ्जय केसी

प्रकाशित: ६ चैत २०८० ११:०६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 10 =