श्रम सम्झौता गर्न किन तर्किँदैछ साउदी?  

रमेश भारती २० फागुन २०८० ११:०८
38
SHARES
श्रम सम्झौता गर्न किन तर्किँदैछ साउदी?  
काठमाडौँ-  साउदी अरब नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्यमध्ये पर्छ। सरकारले साउदीमा ठूलो संख्यामा कामदार पठाउँदै आए पनि हालसम्म सरकारी स्तरमा श्रम सम्झौता गर्न सकेको छैन। नेपालले २०७० सालदेखि साउदीसँग श्रम सम्झौताका लागि प्रयास गर्दै आएको छ।
एक दशकमा श्रम सम्झौताका लागि पाँचपटक मस्यौदा आदानप्रदान भए पनि साउदी तर्किँदै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन्। २०७३ सालयता श्रम सम्झौताका लागि साउदीको मानव संशाधन तथा सामाजिक विकास मन्त्रालय र श्रम मन्त्रालयको प्रविधिक कमिटीबीच सात पटकभन्दा बढी छलफल भइसकेको छ।
कमिटी बैठकमा साउदी श्रम सम्झौता गर्न सहमत भए पनि अन्तिममा तर्किने गरेको मन्त्रालयका अधिकारीहरू बताउँछन्। गत महिना यूएईमा सम्पन्न अबुधाबी संवादका क्रममा दुई देशबीच श्रम सम्झौता गर्ने विषयमा छलफल भएको थियो। श्रममन्त्री शरतसिंह भण्डारीले साउदीका मानव संशाधन तथा सामाजिक विकासमन्त्री अहेमद बिन सुलाइमान अल राझीसँग प्रस्तावित श्रम सम्झौतापत्रलाई अन्तिम रूप दिन आग्रह गरेका थिए।
दुई देशका मन्त्रीबीच भएको छलफलमा सम्झौतामा एक महिनाभित्र हस्ताक्षर गर्ने सहमति भएको थियो। एक सरकारी अधिकारीका अनुसार राझीले सीपमूलक जनशक्ति उत्पादनका लागि तालिम केन्द्र स्थापना गर्न हालै प्राप्त सहयोगलाई निरन्तरता दिने एवं भाषा र सीप जानेका श्रमिक उत्पादनका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए। अबुधाबी संवादमा भएको छलफलबारे साउदीले प्रक्रिया अगाडि नबढाएको ती अधिकारीको भनाइ छ।

श्रम मन्त्रालयका प्रवक्ता राजीव पोखरेलले अबुधाबी संवादमा भएको छलफलअनुसार साउदीसँग श्रम सम्झौता गर्ने तयारी भइरहेको बताए। ‘साउदीले श्रम सम्झौताका लागि आवश्यक बुँदागत विषयमा छलफल भइरहेको सूचना पाएका छौँ। दुई महिनाभित्र श्रम सम्झौता हुने तयारी छ’, उनले भने।

मानवीय श्रमसँग जोडिएको विषय भएका कारण प्राविधिक पक्षमा छलफल हुनुपर्ने पोखरेलले बताए। उनले भने, ‘साउदीले विदेशी श्रमिकलाई कसरी व्यवस्थित गरेर ल्याउन सकिन्छ भनेर कानुनीसहित अन्य प्रक्रिया व्यवस्थित बनाइरहेको छ।’

साउदी तलबको समस्या भोग्दै नेपाली

सरकारले २०७५ सालमै साउदी जाने नेपाली कामदारको न्यूनतम तलब १३ सय रियाल अर्थात् करिब ४५ हजार रुपैयाँभन्दा कममा कामदार नपठाउने निर्णय गरेको थियो। तर यसलाई म्यानपावर कम्पनीहरूले कार्यान्वयन गरेको पाइँदैन।  म्यानपावर कम्पनीले २० देखि ३० हजार तलबमा साउदी पठाइरहेको उजुरी पर्ने गरेको विभागले जनाएको छ।

नेपाली युवा हेल्पर, स्विपर, अफिस व्यवसाय र वाचमेनमा काम गर्न साउदी जाने गरेका छन्। साउदीले गत वर्ष अर्धदक्ष, दक्ष र व्यावसायिक कामदारको गत वर्ष न्यूनतम पारिश्रमिक वृद्धि गरेको थियो। हाल साउदीमा जाने विदेशी कामदारको न्यूनतम पारिश्रमिक १४ सय रियाल अनिवार्य छ।

श्रम सम्झौता नहुँदा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मान्यताअनुसार कामदारले सेवासुविधा र सुरक्षा पाउन सकेका छैनन्। अहिले साउदीको आपूर्ति कम्पनीका काम गर्ने सबैभन्दा बढी नेपाली समस्यामा पर्ने गरेको वैदेशिक रोजगार विभागले जनाएको छ।

विभागका अनुसार साउदीमा पाँच लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन्। एक दशकयता नौ लाख ६५ हजार कामदार साउदी पुगेको विभागको तथ्यांक छ। साउदीमा दैनिक दुईदेखि तीन सयभन्दा बढी कामदार रोजगारीमा जाने गरेका छन्।

चालु आर्थिक वर्षको सात महिनामा ७० हजारभन्दा बढी नेपाली कामदार वैदेशिक रोजगारमा पुगेको विभागको तथ्यांक छ। साउदीको नेपालीको कामदारको तेस्रो रोजाइमा पर्छ। मलेसिया र यूएईपछि साउदी धेरै कामदार जान्छन्।

प्रकाशित: २० फागुन २०८० ११:०८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − four =