साउदीमा ठगिँदै नेपाली श्रमिक, श्रम सम्झौतामा विलम्ब

रमेश भारती ११ मंसिर २०८० ७:४२
22
SHARES
साउदीमा ठगिँदै नेपाली श्रमिक, श्रम सम्झौतामा विलम्ब साउदी अरेबिया रियादस्थितको एक निर्माण कम्पनीमा कार्यरत श्रमिकहरू खाजा खाँदै। तस्बिर : एएफपी

काठमाडौँ- नेपाली कामदारको प्रमुख रोजगारदाता देश साउदी अरेबियासँग सरकारले श्रम सम्झौता गर्न नसक्दा त्यहाँ पुगेका श्रमिक ठगिँदै आएका छन्। साउदीमा नेपाली कामदारले समयमा तलब नपाउने तथा बस्न र अन्य सुविधाबाट वञ्चित हुनुपर्ने अवस्था रहेको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन्।

२०७० सालयता साउदीसँग सरकारी स्तरमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पटकपटक छलफल गरे पनि श्रम सम्झौता हुन सकेकाे छैन। साउदीसँग श्रम सम्झौताका लागि छलफल चलिरहेको र चाँडै श्रम सम्झौता हुने श्रम मन्त्रालयका सहसचिव राजीव पोखरेलले जानकारी दिए।

जनरल वर्कर अर्थात् साउदी श्रम कानुनअनुसार समेटिने कामदार र साउदीले जनरल वर्करसँगै घरेलु कामदारसम्बन्धी सम्झौता पनि गर्न नेपालसँग माग राख्दै आएको छ।
श्रम मन्त्रालय भने घरेलु कामदारका हकमा बेग्लै श्रम सम्झौता हुनुपर्ने अडानमा छ। साउदी सरकारले एउटै श्रम सम्झौतामा घरेलु महिला कामदार समेट्नुपर्ने प्रस्ताव गरिरहेको पोखरेल बताउँछन्।

२०७२ सालयता नेपालले खाडीका देश र मलेसिया घरेलु रोजगारीमा कामदार पठाउन रोक लगाएको छ। संसदीय समितिले मलेसिया र खाडी देश घरेलु रोजगारीमा कामदार पठाउन रोक लगाएका कारण साउदीको प्रस्तावमाथि छलफल भइरहेको सहसचिव पोखरेलले बताए। ‘साउदीले सबै कामदार लैजाने गरी एकै पटक श्रम सम्झौता गर्नुपर्छ भन्ने प्रस्ताव गरेको छ। नेपालका हकमा तत्काल यो सम्भव छैन। हामीले बिस्तारै मिलाएर श्रम सम्झौता गर्नुपर्छ भनेर पहल गरिरहेका छौँ’, उनले भने।

केही दिनअघि साउदी सरकारका मानव स्रोत तथा सामाजिक विकास उपमन्त्री डा. अदनान अल नुआइमसँग साउदीका लागि नेपाली राजदूत नवराज सुवेदी नेतृत्वको नेपाली टोलीले श्रम सम्झौताका विषयमा द्विपक्षीय छलफल गरेको छ।

छलफलमा नेपाल र साउदीबीच श्रम सम्झौता गर्नका लागि प्रस्तावित मस्यौदाका विषयवस्तुबारे दृष्टिकोण आदानप्रदान भएको साउदीस्थित नेपाली दूतावासका अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार दुवै देशबीच श्रम सम्झौताका विषयमा छलफल भए पनि केही विषयमा सहमति गर्न बाँकी छ।

गत महिना साउदीसँगको श्रम सम्झौता टुंगोमा पुर्‍याउने उद्देश्यसहित नेपालबाट वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहाललगायतको टोलीले साउदी भ्रमण गरेको थियो। उक्त टोलीले साउदीमा नेपाली कामदारले भोग्दै आएको समस्याका विषयमा श्रम मन्त्रालयलाई जानकारी गराइसकेको छ।

श्रम सम्झौता नभएकै कारण साउदीमा नेपाली कामदार रोजगारदाताबाट समस्यामा पर्दै आएको विभागका महानिर्देशक दाहालले जानकारी दिए। उनका अनुसार कतिपय कामदारले ठगिएको भनेर गुनासो आएको छ।

दाहालले भने, ‘साउदीमा कामदारले समयमा तलब, बस्न र अन्य सुविधाबाट वञ्चित हुनुपर्ने बाध्यता रहेछ। साउदीको निर्माण क्षेत्रमा आएका कामदार धेरै समस्यामा रहेछन्।’ यसरी समस्यामा परेका कामदारलाई उद्धार गर्न पनि समस्या हुने गरेको छ।

श्रम मन्त्रालयका अनुसार साउदीमा ४ लाखभन्दा कामदार कार्यरत छन्। एक दशकयता १० लाख ६५ हजार नेपाली रोजगारीका लागि साउदी गएको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

बर्सेनि करिब १ लाख २० हजारभन्दा बढी नेपाली युवा साउदी जाने गरे पनि सरकारले श्रम सम्झौता नगर्दा कतिपय कामदार रोजगारदाताबाटै समस्यामा परेर फर्किनुपर्ने बाध्यता रहेको श्रम मन्त्रालयकै वार्षिक प्रतिवेदनमा उल्लेख छ।

नेपालबाट क्लिनर, हेल्पर, स्विपर, उद्योग, कृषि , निर्माण, व्यापारिक र वाचमेन जस्तो रोजगारीमा नेपाली कामदार साउदी जाने गरेको विभागले जनाएको छ। सरकारले गत वर्ष साउदी १ हजार ३ सय रियाल (करिब ४० हजार रुपैयाँ) भन्दा कम पारिश्रमिकमा कामदार नपठाउने निर्णय गरेको थियो। तर म्यानपावर कम्पनीले ९ सय रियालभन्दा काम कामदार साउदी पठाइरहेका छन्।

सरकारले साउदी जाने कामदारको पारिश्रमिक घोषणा गरे पनि त्योभन्दा कम सेवासुविधामा नेपाली कामदार रोजगारीका लागि त्यहाँ जान बाध्य छन्।
साउदी सरकारले गत वर्ष अर्धदक्ष, दक्ष र व्यावसायिक विदेशी कामदारको तलब १३ सयदेखि २५ सय रियालसम्म तोकेको थियो। यो सुविधा पाउने गरी थोरै कामदार मात्र जाने गरेको म्यानपावर व्यवसायीहरू बताउँछन्।

नेपालसँग श्रम सम्झौता नहुँदा अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) को मूल्यमान्यताअनुसारको सेवासुविधाबाट कामदार वञ्चित हुनुपरेको श्रमिकले गुनासो गर्दै आएका छन्। श्रम मन्त्रालयका अनुसार मासिक १५–१६ हजार नेपाली रोजगारीका लागि विदेश जाने गरेका छन्।

प्रकाशित: ११ मंसिर २०८० ७:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 15 =