साउदी जाने कामदारमाथि थप आर्थिक भार!

हिमाल प्रेस २९ पुष २०८० १२:१०
50
SHARES
साउदी जाने कामदारमाथि थप आर्थिक भार! राजधानीको थापाथलीमा शुक्रबार भिसा सेवा केन्द्र ‘तसिर’ उद्घाटन गरेपछि सामूहिक तस्बिर खिचाउँदै नेपालका लागि साउदी अरेबियाका राजदूत साद बिन नासेर अबु हैमदलगायत।

काठमाडौँ- नेपाली कामदारमाथि आर्थिक भार थप्ने गरी साउदी अरेबियाले काठमाडौँमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ। सेवा केन्द्र सञ्चालनमा आएपछि साउदी जाने एक जना नेपाली कामदारले सेवाका नाममा थप ६ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। यो रकम सेवा शुल्कका रूपमा असुल गर्न लागिएको व्यवसायीको दाबी छ। म्यानपावर व्यवसायीले नेपालमा सेवा केन्द्र आवश्यक नरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका छन्।

वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले साउदी भिसा सेवा केन्द्र सञ्चालनमा ल्याउनुको कारणबारे श्रम मन्त्रालयले आफूहरूसँग छलफल गरे पनि उपलब्ध गराउने सेवाबारे प्रस्ट नरहेको बताए। उनले भने, सेवा केन्द्र सञ्चालनमा ल्याउनुको उद्देश्य के हो भनेर दूतावाससँग जानकारी मागेका छौँ।’ व्यवसायीले अहिले एउटा भन्ने तर अर्कै नियम लागू गर्न पाइँदैन भनेर श्रम र परराष्ट्र मन्त्रालयमार्फत साउदी दूतावासको ध्यानाकर्षण गराएका छन्।

साउदी जाने कामदारको स्वास्थ्य परीक्षण खाडी देशको गाम्का (स्वास्थ्य परीक्षण गर्ने संस्था) सँग आबद्ध भएर नेपालकै स्वास्थ्य संस्थाले गर्दै आएका छन्। यस्ता सेवा केन्द्र खोलेपछि साउदी आफैँले कामदारको स्वास्थ्य परीक्षण, भिसा प्रक्रियालगायतका काम गर्नेछ। यसो गर्दा कामदारमाथि आर्थिक भार थपिने र वैदेशिक रोजगार स्वास्थ्य व्यवसाय धराशयी हुने व्यवसायीहरूको चिन्ता छ।

यसअघि कतारले पनि सामान्य काम भनेर नेपालमा भिसा सेन्टर खोलेको थियो। बिस्तारै कतार जाने कामदारको सबै प्रक्रिया सेन्टरबाट गर्ने म्यानपावर व्यवसायी बाध्य भएका थिए। यसबाट प्रतिकामदार ४० हजार रुपैयाँ थप आर्थिक भार परेको छ।

नेपालका लागि साउदी अरेबियाका राजदूत साद बिन नासेर अबु हैमदले भने भिसा प्रक्रियालाई सरलीकरण गर्ने योजनामा रहेकाले तसिर खोलिएको बताएका छन्। राजधानीको थापाथलीमा खोलेको भिसा सेवा केन्द्र ‘तसिर’ को शुक्रबार उद्घाटन गर्दै राजदूत साद बिन नासेर अबु हैमदले वैदेशिक रोजगारीका सन्दर्भमा दुई देशका सरकारबीचको सहकार्यले थप उचाइ लिने विश्वास व्यक्त गरे।

साउदी अरेबिया जाने सबै प्रकारका भिसाका लागि आवश्यक प्रक्रिया २४ घण्टा काम हुने पनि दाबी दूतावासको छ। उनका अनुसार तसिरमार्फत भिजिट भिसामा साउदी भ्रमण गर्न चाहनेले आफैँले केन्द्रमा आवेदन दिन सक्नेछन्। रोजगारका लागि जाने नेपाली कामदारको भिसाका लागि नेपाली म्यानपावर कम्पनीले भिसाका कागजात केन्द्रमा पेस गर्नुपर्नेछ।

नेपाली कामदारको हकमा बायोमेट्रिक फिंगरप्रिन्ट प्रक्रिया लागू गरिएको र उक्त कार्य साढे चार अमेरिकी डलरमा सहजै गर्न सकिने प्रबन्ध मिलाइएको दूतावासले जनाएको छ। सेवा केन्द्र खोल्दा कामदारलाई एक रुपैयाँ पनि शुल्क नलाग्ने बताइए पनि अन्तिममा साढे चार डलर समेटिएको श्रम मन्त्रालयले स्रोतले जनाएको छ।

राजदूतले साउदीको भिसा सेवा केन्द्र खोल्दा कामदारमाथि आर्थिक भार थप्ने काम नहुने बताउँदै आएका थिए। केन्द्र उद्घाटनपछि साढे ४ डलर सेवा शुल्कका नाममा खर्च थपिएको श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन्। केन्द्रको प्रस्ट उद्देश्य गोप्य राखिएको श्रम मन्त्रालयका कर्मचारी बताउँछन्। साउदी भिसा केन्द्रले साउदी जाने नेपाली कामदारको स्वास्थ्य, शिक्षा, भिसालगायतका सबै प्रक्रिया आफैँले गर्न खोजेको शंका उनीहरूको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी भने साउदी सरकारका प्रतिनिधिले नेपाली कामदार रोजगारीका लागि जाँदा कुनै पनि प्रकारको समस्या नपर्ने प्रतिबद्धता जनाएको बताउँछन्। उनले रोजगारीमा साउदी जाने कामदारको बायोमेट्रिक फिंगरप्रिन्ट प्रक्रिया सहज बनाउने गरी भिसा सेवा केन्द्र खोलिएको बताए।

‘वैदेशिक रोजगारीमा साउदी जाने कामदारमाथि आर्थिक भार नहोस् भनेर नेपालले आग्रहसेमत गरेको छ। अहिले भिसा केन्द्र खुलेको छ। यो नेपालमा मात्र होइन। साउदीले कामदार लिने १६ देशमा खुल्दै छ रे’, उनले भने।

साउदी सरकारले १६ वटा देशमा भिसा सेवा केन्द्र खोल्ने भनिए पनि नेपालबाहेकका देशमा कार्यालय खोल्ने प्रक्रिया अघि नबढाएको म्यानपावर व्यवसायीहरुले बताएका छन्।

उनीहरूले यसबारे सरकारको फेरि ध्यानाकर्षण गराउने भएका छन्। साउदी जाने कामदारमाथि सिन्डिकेट लगाउने नपाइने, व्यवसायीलाई दिने परिचय कार्ड सेवा केन्द्रमा जोड्न नपाइने र भविष्यमा अन्य समस्या नहोस् भनेर श्रममन्त्री शरतसिंह भण्डारीसहित श्रम मन्त्रालयका प्रतिनिधिसँग छलफल गर्न लागिएको संघका महासचिव भुर्तेलले जानकारी दिए।

प्रकाशित: २९ पुष २०८० १२:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =