पहिलो प्रधानसेनापति बस्न्यातको स्मृति दिवस जहरसिंह पौवामा मनाइयो

हिमाल प्रेस १५ फागुन २०८० १३:३१
96
SHARES
पहिलो प्रधानसेनापति बस्न्यातको स्मृति दिवस जहरसिंह पौवामा मनाइयो बस्न्यातको शालिक

काठमाडौँ– नेपाली सेनाका प्रथम प्रधानसेनापति शिवरामसिंह बस्न्यातको दुई सय ७८औँ स्मृति दिवस जिहरसिंह पौवास्थित उनको सालिकमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरी मनाइएको छ।

बस्न्यातको सम्मानमा जहरसिंह पौवा बजारमाथिको डाँडामा गत वर्ष निर्माण गरिएको पूर्णकदको सालिक परिसरमा विविध कार्यक्रमसहित स्मृति दिवस मनाइको हो। विसं १७७१ मा गोरखामा जन्मिएका  शिवरामसिंहले एकीकरण युद्धको क्रममा विसं १८०३ मा साँगाचोकमा वीरगति प्राप्त गरेका थिए।

कार्यक्रममा पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीले सालिकमा माल्यार्पण गर्दै आधुनिक नेपालको निर्माण गर्ने एकीकरण अभियानका प्रथम सेनापति साथै सो अभियानमा वीरगति प्राप्त गर्ने पहिलो सेनानायक बस्न्यात नेपाली सेना र सिङ्गो नेपालकै शान भएको बताए।

राष्ट्र एकीकरण गर्ने र राष्ट्रलाई विदेशी वैरीहरूबाट जोगाएर राख्ने यी दुई महान् कार्यमा होमिएका वीर पुर्खाहरूको योगदान र बलिदानको सम्मान गर्ने कार्यलाई नेपाली सेनाले सधैँ महत्व दिँदै आएको बताउँदै उनले प्रथम प्रधानसेनापति बस्न्यातलाई नेपालीले बिर्सन नहुने र स्वर्णाक्षरले इतिहास लेखिनुपर्ने व्यक्तित्व भएको उल्लेख गरे।

नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सदस्य बाबा बस्नेतले नेपालको इतिहास निर्माणमा चेलीबेटी, बुहारीको पनि ठूलो भूमिका रहेको तर इतिहासमा स्थान नदिइएको भनी गुनासो गर्दै वीराङ्गना शुरप्रभा बस्न्यातको पनि सालिक र सम्मान आवश्यक रहेको बताए।

विभूति भक्ति थापा प्रतिष्ठानका अध्यक्ष रोहित थापाले विसं १७७१ देखि १८७२ सम्म एक शताब्दीमा हाम्रा पूर्वजले गरेका ऐतिहासिक कामको सही मूल्याङ्कन हुनु जरुरी छ भन्दै वीर पुर्खाहरूका नाममा स्थापित सबै सङ्घसंस्थाहरूलाई एउटै छानामुनि संस्थागत गर्नु उचित हुने विचार व्यक्त गरे।

विभूति बलभद्र कुँवर प्रतिष्ठानका अध्यक्ष प्राडा धनबहादुर कुँवरले पहिलाका राष्ट्र सेवकहरूमा राष्ट्रको लाभ हेर्ने प्रचलन रहेको तर अहिले व्यक्तिगत लाभ हेर्ने प्रवृत्ति मौलाउँदै गएको चर्चा गर्दै सिन्धुलीगढीको लडाइँ युद्धकलाको अनुपम नमूना भएको बताए।

शङ्खरापुर नगरपालिका–३ का अध्यक्ष सूर्यबहादुर तामाङले पुर्खाको खोजीनिती गर्ने कार्यलाई सबैले प्रेरित गर्नुपर्ने बताउँदै जहरसिंह पौवामा राष्ट्र एकीकरण सङ्ग्रहालय स्थापना गर्ने योजना रहेको जानकारी दिए।

कार्यक्रम आयोजक संस्था श्रीपाली बस्न्यात समाज नेपालका अध्यक्ष पूर्वराजदूत डा निरञ्जन मानसिंह बस्नेतले शङ्खरापुर नगरपालिकाले उपलब्ध गराएको स्थानमा राष्ट्र एकीकरणमा सहभागी सबै वीर योद्धाहरूको सालिक, हतियार र परिचयसहितको सङ्ग्रहालय बनाइने र कीर्तिपुर मत्स्यगाउँमा पनि राष्ट्र निर्माता पृथ्वीनारायण शाहको सालिक स्थापना गरिने कार्यक्रमबारे जानकारी दिए।

श्रीपाली बस्न्यात समाजका पूर्वअध्यक्ष धनमानसिंह बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा अवकाश प्राप्त उपरथी शेखरसिंह बस्नेत, अवकाश प्राप्त सहायक रथी डा प्रेमसिंह बस्नेत, नेपाल च्याम्बर अफ कमर्सका पूर्वअध्यक्ष सुरेशकुमार बस्नेत, राससका पूर्वमहाप्रबन्धक श्रीरामसिंह बस्नेत, अवकाश प्राप्त सेनानी थम्मन बस्नेतलगायतले पुर्खाहरूको योगदानमाथि प्रकाश पारे।  अवकाश प्राप्त महासेनानी ओमप्रकाश बस्नेतले देशभक्तिमा आधारित कविता वाचन गरे।

त्यसअवसरमा स्थानीय कालिकाशरण माविका कक्षा ७ की छात्रा सुनिता तामाङ र कक्षा १० का छात्र रेशम दर्जीलाई श्रीपाली बस्न्यात समाज नेपालका तर्फबाट काजी जहरसिंह बस्न्यात छात्रवृत्तिबापत जनही रु पाँच हजार प्रदान गरियो।

प्रकाशित: १५ फागुन २०८० १३:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast