काठमाडौँ- काठमाडौँस्थित इजरायली दूतावासले बाढी प्रभावितहरूलाई आपत्कालीन मानवीय सहायतालाई निरन्तरता दिएको छ।
दूतावासले भदौ १० गते गएको बाढीका कारण प्रभावितहरूलाई सहायता सामग्री हस्तान्तरण गरेको हो।
नेपालका लागि इजरायली कार्यवाहक राजदूत जानान बेबारले बाढी क्षेत्रको भ्रमण गरी प्रभावित व्यक्ति तथा परिवारहरूलाई आपत्कालीन ‘गो–ब्याग’ र अत्यावश्क राहत सामग्री हस्तान्तरण गरेको दूतावासले जनाएको छ।
बाढी प्रभावित क्षेत्रको अवलोकनका क्रममा उनले भनिन्,‘हामी सबै पीडा हटाउन नसकौँला, तर एकसाथ उभिएर एकअर्कालाई सहयोग गर्न सक्छौँ। मैले त्रिशुलीमा पीडाका बीच अभूतपूर्व मानवीय सामथ्र्य र एकता महसुस गरेँ, जसमा नेपालले गर्व गर्न सक्छ।’
यसअघि धादिङको गल्छी गाउँपालिका–६ बैरेनीमा राहत वितरण गरेको दूतावासको यो दोस्रो चरणको सहयोग हो।
दूतावासले स्थानीय आवश्यकताका लागि नेपाली अधिकारीसँग निरन्तर समन्वय गरिरहेको र आगामी दिनमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।
साथै उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्थानीय बासिन्दा, स्वयंसेवकलगायतप्रति दूतावासले आभार व्यक्त गरेको छ।


