काठमाडौँ- रसुवाको भोटेकोशी-त्रिशूली नदीमा आएको बाढीपछिको खोज तथा उद्धार कार्य जारी रहँदा रसुवा भोटेकोशी जलविद्युत आयोजनाको रोङ्गास्थित टनेलमा ड्रोनमार्फत खोजतलासका क्रममा एक शव फेला परेको छ।
नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले मंगलबार दिउँसो ३ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै रसुवागढी जलविद्युत आयोजनाको पावरहाउस र कन्ट्रोल प्वाइन्टसम्म संयुक्त उद्धार टोली पुगेर खोजी गरिरहेको जनाएको छ। टोलीमा नेपाली सेनाको कम्पोजिट क्विक रियाक्सन टिम र आयोजनाका प्रतिनिधि सहभागी छन्।
हवाई उद्धारतर्फ मंगलबार मात्र विभिन्न प्रभावित क्षेत्रबाट २० जनाको उद्धार गरिएको छ। यससँगै नेपाली सेनाका हवाई साधनमार्फत हालसम्म ४ हजार ४० जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ३ हजार ७५७ नेपाली र २८३ विदेशी नागरिक रहेका छन्।
लाङटाङ जलविद्युत आयोजनामा संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेको छ भने चिलिमे जलविद्युत आयोजनामा टनेलसम्म पुग्ने बाटो बनाउन चार वटा ६/६ मिटर लम्बाइका ठूला पाइप जडान गरिएको सेनाले जनाएको छ।
स्याफ्रुबेँसीदेखि चिलिमेसम्म हेभी इक्विपमेन्ट लैजान सडकमा रहेको ठूलो ढुंगा ब्लास्टिङ गरेर हटाइएको छ। मेजर रकसम्म पुग्न अझै ९५ मिटर बाँकी रहेको र विन्च मेसिन तथा बकेट प्रयोग गरेर माटोढुंगा हटाउने काम भइरहेको छ। संयुक्त टोली टनेलभित्र ११५ मिटरसम्म प्रवेश गरेर खोजी गरिरहेको छ।
माथिल्लो त्रिशूली-१ मा विदेशीसहितको संयुक्त टोली मुख्य प्रवेश टनेलभित्र करिब ४०० मिटरसम्म पुगेर खोजतलास गरिरहेको छ। त्रिशूली-३ए को पावरहाउस र टनेलमा नेपाली सेना, सशस्त्र प्रहरी बल र आयोजनाका प्रतिनिधिसहितको टोली परिचालित छ।
त्रिशूली-३बी मा तीन वटा एक्स्काभेटर प्रयोग गरेर करिब २३ फिट गहिराइसम्म खन्दा कार्यालय र आवास क्षेत्रमा कुनै व्यक्ति फेला नपरेको सेनाले जनाएको छ।
पूर्वाधार पुनःस्थापनाअन्तर्गत नुवाकोटको विदुर नगरपालिका-५ देवीघाटस्थित तादी नदीमा नेपाली सेनाका इन्जिनियरिङ फौजका ५५ सदस्यीय टोलीले पुल निर्माणलाई तीव्रता दिएको छ।
त्रिशूली बजारलाई ढुंगे बुद्ध मन्दिरको तल्लो भागसँग जोड्ने करिब २५० मिटर लामो झोलुङ्गे पुल निर्माणको परामर्शसहित काम पनि सुरु गरिएको छ।
जमिनी खोज तथा उद्धारतर्फ मैलुङदेखि स्याफ्रुबेँसीसम्म पैदल गस्ती गर्दै खोजी जारी रहेको छ। त्रिशूली र धुन्चेमा नेपाली सेनाले सञ्चालन गरेको आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट मंगलबार ५० जनाले स्वास्थ्य सेवा लिएका छन्।
सेनाका अनुसार रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्मका प्रभावित क्षेत्रमा ९ हजारभन्दा बढी सैनिक परिचालन गरिएका छन्।
उनीहरू घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालन र आपत्कालीन उपचारमा समन्वयात्मक रूपमा खटिएका छन्।


