नेपाली सेनाले बनायो ७२ घण्टामै देवीघाटमा एक्रोब्रिज, गल्छी-रसुवागढीमा यातायात सञ्चालन

हिमाल प्रेस २६ भदौ २०८३ ७:१४ | Friday, September 11, 2026
नेपाली सेनाले बनायो ७२ घण्टामै देवीघाटमा एक्रोब्रिज, गल्छी-रसुवागढीमा यातायात सञ्चालन

नुवाकोट- यही भदौ १० गते भोटेकोशीमा नदीमा आएको बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगायो। बाढीले पुल बगाएसँगै दुई नगरमात्रै नभई नुवाकोट–धादिङ र रसुवागढी जोड्ने ‘लाइफलाइन’नै टुट्यो।

भीषण बाढीले आहात भएका सर्वसाधारण आवतजावत गर्ने पुल नै बगेपछि झनै पीडामा परे। एक ठाउँबाट अर्को ठाउँ आवातजावत गर्ने पुल नै बगेपछि सर्वसाधारणको पीडामा मल्हम लगाउन सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्रथामिकतामा राखेर काम अघि बढायो।

सरकारको योजनालाई दिनरात नभनी नेपाली सेनाले पाँच दिनमा नै ५७.९ मिटर लम्बाइको एक्रोब्रिज तयार पारेको छ। बिहीबार बेलुकादेखि सबै खालका सवारीसाधन सञ्चालनमा ल्याइएको छ।

देवीघाटमा एक्रोब्रिज सञ्चालनमा आएसँगै बाढीले आहात भएका बाढी प्रभावित सर्वसाधारणको मनमा केही हदसम्म भए पनि मल्हमपट्टी लगाउने काम भएको छ।

नुवाकोटको बेलकोटगढी नगरपालिका-८ जिलिङका सौगात पुडासैनीले भोटेकोशी बाढीले मन छियाछिया पारे पनि सरकारले काम थालेको पाँचौँ दिनमा देवीघाटमा पुल तयार पारेर केही हदसम्म भए पनि राहतको महसुस गरेको बताले बताए।

‘भोटेकोशी बाढीले नजिकै रहेको गाउँघर फर्किन धौधौ भइरहेको थियो। बिहीबार नेपाली सेनाले छोटो समयमै पुल तयार पारेपछि बाढीले छियाछिया परेको मनमा केही हदसम्म भए पनि खुसी महसुस भएको छ’, उनले भने, ‘देवीघाटमा पुल नहुँदा घुमाउरो बाटो प्रयोग गरेर घर पुग्नै दुईतीन घण्टा लाग्ने गर्थ्यो। तर, अहिले पुल बनेपछि त २५ मिनेटमै घर पुगिन्छ।’

उनीमात्रै होइन बेलकोटगढी नगरपालिका-८ ढुङगानेगाउँका मनोज तामाङले पनि पुल बनेपछि आफ्नो घरमा पुग्न निकै सहज भएको बताए। ‘भोटेकोशीको बाढीले पुल बगाउँदा सर्वस्व नै गुमाएजस्तो अनुभव भएको थियो’, उनले भने,‘पुल बनेपछि आशा पलाएको छ।’

नेपाली सेनाका रथी रञ्जित थापाले नेपाली सेनाले दिनरात काम गरेर ७२ घण्टे कार्यअवधिमा नै देवीघाटमा एक्रोबिज्र तयार पारेको बताए। ‘नुवाकोटको विदुर र गल्छीलाई जोड्ने महत्त्वपूर्ण पुल भएकाले पनि ५५ जना प्राविधिक दिनरात खटेर कार्यसम्पन्न गरेका छौँ’, उनले भने।

देवीघाटमा यही भदौ २० गतेदेखि पुल निर्माण सुरु भएको हो। ‘हामीले काम सुरु गरेको पाँच दिन भए पनि कार्यअवधि भने ७२ घण्टाभन्दा धेरै लागेको छैन’, उनले भने,‘यो पुल बनेसँगै सर्वसाधारण तथा सवारीसाधन गुडाउनका लागि धेरै सहज हुने अपेक्षा गरेका छौँ।’

नेपाली सेनाले प्राविधिक परीक्षण गरेर पुल हस्तान्तरण गरेको हो। विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले देवीघाटमा पुल बनेसँगै सर्वसाधारणको जीवनयापनलाई धेरै सहज बनाएको बताए।

‘नेपाली सेनाको अथक प्रयासले छोटो समयमा नै पुल तयार भयो। यो पुल बनेसँगै पृथ्वीराजमार्गसँग टुटेको सम्पर्क जोडिएको छ’, उनले भने।

उनले नगरपालिकाको तर्फबाट पनि पुल निर्माणमा आवश्यक समन्वय र सहकार्य गरिएको बताए। नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गत रहेको ब्रिजिङ युनिटले पुल निर्माण गरेको हो।

गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले यसअघि देवीघाटको पुलको ५५ मिटर लम्बाइको ‘बक्सगडर’ बाढीले भत्काएपछि एक्रोब्रिज राख्न सहज भएको बताए।

उनले भने,‘अहिले थोरै मात्रामा रातोमाटेमा केही कटिङ भइरहेको छ। सो खण्ड पनि शुक्रबारसम्म मर्मतसम्भार गरेर सञ्चालनमा ल्याइसक्छौँ।’

नेपाली सेनाको १४ नं बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काले नेपाली सेनाको रणनीतिक जगेडा पुललाई ल्याएर देवीघाटस्थित तादीखोलामा फिटिङ गरी सञ्चालनमा ल्याएको बताए। ‘नेपाली सेनाले एक्रोब्रिज गजुरीमा भण्डारण गरेर राखेको थियो,’ उनले भने,‘गजुरीबाट ल्याएर सो पुल फिटिङ गरेर सञ्चालमा ल्याएका हौँ।’

नेपाली सेनाका प्रमुख सेनानी करुणबहादुर थापाले एक्रोब्रिज अमेरिकन प्रविधिमा आधारित भएकाले पनि गुणस्तरीय र धेरै भारवहन क्षमताको रहेको बताए। पुलको भारवाहन क्षमता ६० टन छ।

प्रकाशित: २६ भदौ २०८३ ७:१४ | Friday, September 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast