भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी-त्रिशूली नदीमा आएको भीषण बाढी नेपालको इतिहासकै अकल्पनीय विपत्तिमध्ये एक हो। रसुवा, नुवाकोट, धादिङ र गोरखामा त्यसले पुर्याएको क्षति शब्दले बयान गर्न सकिने खालको छैन।
सयौँ मानिसले ज्यान गुमाए, हजारौँ मानिस बेपत्ता भए, कैयौँ घरबारविहीन भए, कतिपयले सर्वस्वसहित आफन्त गुमाए। बाढीले दिएको चोट र पीडा समाचारका हरफमा सीमित छैनन्। त्यो मानिसको जीवनभर रहने घाउ बनेर बसेको छ।
बाढीपछि सरकारले उद्धार, खोज तथा राहत वितरण गरिरहेको छ। राहत र उद्धार प्रभावकारी हुन नसकेको भन्दै सरकारमाथि विभिन्न कोणबाट प्रश्नसमेत उठिरहेका छन्।
यही परिस्थितिमा भदौ २५ गते बिहीबार बाढी आएको झन्डै १६ दिनपछि पत्रकारहरूको एक टोली नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जंगीअड्डाको समन्वयमा प्रभावित क्षेत्र पुग्ने अवसर मिल्यो। त्यसमा म पनि सहभागी थिएँ।
प्रमुख सेनानी सागर केसीको नेतृत्वमा बिहान झन्डै ८ बजे हामी जंगीअड्डाबाट निस्कियौँ। नियमित सडक बाढीले ध्वस्त बनाइसकेको थियो। कतै पुल बगेका थिए, कतै सडक भत्किएका थिए। त्यसैले हामी टोखा हुँदै नुवाकोटको बाटो समातेर अघि बढ्यौँ।
यात्रा सुरु भएदेखि विपत्तिको असर सडकमा पनि देखिन्थ्यो। राहत सामग्री बोकेका मालवाहक ट्रकहरू गुडिरहेका थिए। साँघुरा सडक, जाम र चालकहरूको असहजताले यात्रा कठिन बन्दै गएको थियो। एक ठाउँमा राहत चामल बोकेको ट्रक बाटोमै अड्किएपछि केही दूरी हामी गाडीबाट ओर्लेर पैदल हिँड्नुपर्ने अवस्था आयो।
यात्राभर प्रमुख सेनानी सागर केसीले हामीलाई चिया, कफी र पानीको व्यवस्था गर्दै अघि बढाइरहनुभएको थियो। त्यो सानो आतिथ्यले थकान र गर्मीलाई केही हल्का बनाइदिएको थियो। तर कठिनाइ त्यतिमै सकिएन। नुवाकोटको ढिकुरेमा हाम्रो गाडीले डिजेल चुहाउन सुरु गर्यो अर्थात् गाडी बिग्रियो। गाडी त्यहीँ रोक्नुपर्यो र अर्को गाडीको प्रतीक्षा गर्नुपर्ने भयो। दिउँसोको चर्को घाम असह्य थियो। झन्डै डेढ घण्टासम्म सडकछेउमा प्रतीक्षा गरेपछि ब्यारेकबाट अर्को गाडी आइपुग्यो र हामी पुनः यात्रामा लाग्यौँ।
हामी दिउँसो एक बजेतिर बट्टारस्थित श्री नम्बर १ सैन्य तालिम केन्द्र पुग्यौँ। त्यहाँ सेनाका उच्च अधिकारीहरूले पत्रकार टोलीलाई स्वागत गर्नुभयो। खानाअघि चिसो जुसले शीतल अनुभव गरायो। खाना खाएपछि केहीबेर विश्राम गरियो। हाम्रो भ्रमणको मुख्य उद्देश्य नुवाकोटको देवीघाटस्थित एक्रोब्रिज हस्तान्तरण कार्यक्रमको स्थलगत रिपोर्टिङ गर्नु थियो।
तर पत्रकार टोलीको अर्को चाहना पनि थियो, बाढी प्रभावित क्षेत्रलाई नजिकबाट हेर्ने। त्यसका लागि सेनाका उच्च तहका अधिकारीलाई आग्रह गर्यौँ। त्यसपछि हाम्रो यात्रा अर्को मोडमा पुग्यो। बट्टारबाट नेपाली सेनाको हेलिकप्टरमार्फत रसुवाको सदरमुकाम धुन्चे जाने निर्णय भयो। दिउँसो करिब दुई बजेतिर त्यसतर्फ हेलिकप्टर उड्यो। जम्मा १५ मिनेटको उडान थियो तर त्यो छोटो यात्रामा देखिएका दृश्य जीवनभर बिर्सन सकिने खालका थिएनन्।
पत्रकार साथीहरूले हेलिकप्टरबाट देखिने दृश्य मोबाइल, क्यामेरामा कैद गरे। मैले पनि कैद गरेँ। हेलिकप्टरको झ्यालबाट तल हेर्दा भोटेकोशी-त्रिशूली नदीले पहाडपर्वतका पाखा चिरेझैँ देखिन्थ्यो। नदीले सडक, किनार, बस्ती र जमिनलाई निर्ममतापूर्वक काट्दै बगेको दृश्य अत्यन्त भयावह थियो। माथिबाट हेर्दा मात्र पनि त्यो बाढीको आकार र विनाशको गहिराइ बुझिन्थ्यो। त्यो दृश्य कुनै तस्बिर वा भिडियोले पूर्ण रूपमा व्यक्त गर्न सक्दैनथ्यो।

धुन्चेस्थित नेपाली सेनाको श्रीनाथ गणमा अवतरण गरेपछि केहीबेर अवलोकन, तस्बिर र भिडियो खिच्ने काम भयो। त्यहाँबाट चिलिमे जलविद्युत् आयोजनाको टनेलभित्र समेत खोज तथा उद्धार कार्य भइरहेको जानकारी सेनाले दिएको थियो। उद्धार टोलीहरू निरन्तर काममा खटिएका थिए। तर फर्किने बेला अर्को परीक्षा हाम्रो प्रतीक्षामा थियो। पहाडको मौसम चिसाे अनि क्षणभरमै बदलिन्थ्यो।
केहीबेरअघि खुलेको आकाश फेरि बाक्लो कुहिरोले ढाक्थ्यो। हेलिकप्टर उड्ने सम्भावना अनिश्चित बन्दै गयो। पत्रकारहरूबीच पनि चिन्ता बढ्न थाल्यो। कतिपयले घरमा फोन गरेर आज फर्कन नसकिने अवस्था आउन सक्ने भन्दै जानकारी दिन थाले। धुन्चेमै रात बिताउनुपर्ने हो कि भन्ने शंका पलाएको थियो। झन्डै चार बजेतिर मौसम केही खुलेपछि सेनाले उडान सम्भव भएको जानकारी दियो। त्यो खबरसँगै सबैका अनुहारमा राहतको मुस्कान फर्कियो।
धुन्चेको ब्यारेकमा अर्को मार्मिक दृश्य देखियो। सशस्त्र प्रहरी र नेपाली सेनाले विभिन्न ठाउँबाट उद्धार गरेका बालबालिका, ज्येष्ठ नागरिक, महिला र अन्य अलपत्र परेका नागरिकलाई त्यहाँ सुरक्षित राखिएको रहेछ। मौसम खुल्नेबित्तिकै उनीहरूलाई पनि हेलिकप्टरमार्फत बट्टार ल्याएर व्यवस्थापन गरिएको थियो। त्यहाँ उद्धार निरन्तर चलिरहेको थियो।
धुन्चेबाट फर्किएपछि हामी सीधै देवीघाटको पुल हस्तान्तरण कार्यक्रममा पुग्यौँ। बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएको थियो।
पुल नभएपछि नुवाकोट-धादिङ र रसुवागढी जोड्ने लाइफलाइन टुट्यो। सरकारले तत्कालै देवीघाटमा एक्रोब्रिज निर्माण गर्ने योजनालाई उच्च प्रथामिकतामा राखेर काम अघि बढाएको थियो।
नेपाली सेनाले पाँच दिनमा ५७.९ मिटर लम्बाइको एक्रोब्रिज तयार पार्यो। बिहीबार नेपाली सेनाले प्राविधिक परीक्षण गरेर सरकारलाई पुल हस्तान्तरण गरेको हो। नेपाली सेनाको १४ नं बाहिनी अड्डाअन्तर्गत रहेको ब्रिजिङ युनिटले पुल निर्माण गरेको थियो।
सेनाका रथी रञ्जित थापाले नेपाली सेनाले दिनरात काम गरेर ७२ घण्टे कार्यअवधिमा नै देवीघाटमा एक्रोबिज्र तयार पारेको जानकारी दिए।
१४ नं बाहिनी अड्डाका बाहिनीपति जगदीश खड्काले नेपाली सेनाको रणनीतिक जगेडा पुललाई ल्याएर देवीघाटस्थित तादीखोलामा फिटिङ गरी सञ्चालनमा ल्याएको बताए।
प्रमुख सेनानी करुणबहादुर थापाले एक्रोब्रिज अमेरिकी प्रविधिमा आधारित भएकाले पनि गुणस्तरीय र धेरै भारवहन क्षमताको रहेको बताए। पुलको भारवाहन क्षमता ६० टन रहेको सेनाको भनाइ छ।
विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठले देवीघाटमा पुल बनेसँगै सर्वसाधारणको जीवनयापनलाई धेरै सहज बनाएको बताए। गल्छी-त्रिशूली-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी सडक योजना विदुरका योजना प्रमुख कृष्णनाथ ओझाले यसअघि देवीघाटको पुलको ५५ मिटर लम्बाइको ‘बक्सगडर’ बाढीले भत्काएपछि एक्रोब्रिज राख्न सहज भएको बताए।
एक्रोब्रिज सञ्चालनमा आएपछि बाढीले आहत भएका बाढी प्रभावित सर्वसाधारणको मनमा केही हदसम्म भए पनि मल्हमपट्टी लगाउने काम भएको छ।
पुल हस्तान्तरण कार्यक्रम सकिएपछि म देवीघाट बजार वरिपरि केहीबेर एक्लै हिँडे। त्यहाँ देखिएको दृश्यले मन भारी बनायो। नदीबाट निकै पर रहेका घरसम्म बाढी पुगेको छ। दुईतले, तीनतले र चारतले घरसम्म माटोले पुरिएका छन्।
ठूला रूख उखेलिएर घरमा ठोक्किएका रहेछन्। घरभित्र लत्ताकपडा, भाँडाकुँडा, झोला र दैनिक जीवनका सामग्री गाडिएका छन्। कतिपय घरमा पाँच फिटसम्म लेदो जमेको छ। घरभित्र पसेर हेर्दा कोठाभरि माटो, पुरिएका सामान र बाढीले छोडेका घाउबाहेक केही बाँकी देखिँदैन।

त्यो दृश्य हेर्दा एउटा प्रश्न बारम्बार मनमा आउँछ, सामान यसरी पुरिएको छ भने मानिसको अवस्था कस्तो भयो होला? प्रत्येक घरमा अझै पनि माटो खोतलेर हेर्ने हो भने केही न केही भेटिने हो कि भन्ने अनुभूति हुन्छ। कतिपय घर आधाभन्दा बढी माटोले परेका छन्। अन्नबाली बगेका छन्। पुरिएका धान, मकै, अन्न उम्रिन थालेका छन्। जताततै उजाडपन छ।
त्यसबीच केही स्थानीय आफ्नै घर फर्किएका छन्। कोदालो र बेल्चाको सहायतामा लिएर उनीहरू सामान खोजिरहेका छन्। पुरिएका कपडा निकाल्दै छन्। भाँडाकुँडा खोज्दै छन्। घर बस्न मिल्ने बनाउन सकिन्छ कि भन्ने झिनो आशामा उनीहरू निरन्तर खटिरहेका छन्। तर वरिपरि फैलिएको सन्नाटा, माटोले ढाकेका भित्ताहरू र बाढीले छोडेका घाउले त्यो आशालाई अत्यन्त कठिन बनाइदिएको देखिन्थ्यो।
यो बाढीले पुर्याएको समाचार विश्वभरका मिडियामा प्रकाशन प्रसारण भएको छ। शक्तिशाली मिडियाले बाढी र त्यसको असर विश्व समुदायलाई सुनाए। यो सकारात्मक छ तर अन्तर्राष्ट्रिय मिडियाले बाढीको समाचार कभर गर्दै गर्दा हाम्रो पर्यटन क्षेत्रमा गम्भीर असर परेको अनुभव भयो। सीएनन, बीबीसी, अल्जजिराजस्ता शक्तिशाली मिडियाले बाढी तीन-चार जिल्लामा मात्रै क्षति पुर्याएको नभनी सिंगो नेपालभर असर पुर्याएको भनेका छन्। त्यसले गर्दा पर्यटन क्षेत्रमा धक्का लागेको छ।
हामी पुनः बट्टारस्थित सैन्य तालिम केन्द्र फर्कियौँ। पत्रकार टोली दुई वटा हेलिकप्टरमार्फत काठमाडौँ फर्कियो। बिहानको यात्रा एउटा कार्यक्रममा सहभागी हुन सुरु भएको थियो तर फर्किँदा त्यो यात्रा विपत्तिको वास्तविक अनुहारसँगको साक्षात्कारमा बदलिएको थियो।
हेलिकप्टरबाट देखिएको त्रिशूली नदी, उद्धारमा खटिएका सुरक्षाकर्मी, धुन्चेको अनिश्चित मौसम, देवीघाटको माटोले पुरिएको बजार र आफ्नो घरको लेदो पन्छाउँदै फेरि जीवन सुरु गर्न खोजिरहेका मानिसको संघर्षले प्राकृतिक विपत्ति सडक, पुल र घर भत्काउने घटनामा सीमित छैन। यस विपत्तिले मानिसका सपना, सम्झना र भविष्यलाई एकैपटक बगाइदिएको छ। रसुवासम्मको मेरो यात्रा समाचार संकलनको भ्रमणभन्दा धेरै ठूलो अनुभव बनेर स्मृतिमा सधैँका लागि अंकित रहिरहनेछ।



