काठमाडौँ- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बर्दिवास मेडिकल कलेज निर्माणले अब गति लिने बताएका छन्।
शुक्रबार कलेज निर्माणका लागि प्रस्तावितस्थल बर्दिवास–४ माइस्थानमा सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गर्दै उनले कलेज निर्माण प्रक्रिया अघि बढिसकेको बताए।
‘कलेज बन्नेरनबन्ने विभिन्न थरिका कुराले यस क्षेत्रमा चिन्ता र चासो बढेको छ। अब यसबारे धेरै चिन्ताभन्दा पनि कलेज निर्धारित समयमै बन्छ भन्नेमा सबैलाई विस्वश्त पार्न चाहन्छु,’ मन्त्री पोखरेलले भने।
यसपालिको बजेटमा कलेज निर्माणका लागि २५ करोड रकम विनियोजन गरिएको जनाउँदै उनले काम अघि बढाउन अझै रकमको सुनिश्चिततामा आफू प्रयासरत रहने प्रतिबद्धता जनाए।
मन्त्री पोखरेलले भने, ‘भर्खरै मन्त्रिपरिषद्ले बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना, बर्दिवासको अवधि एक वर्ष थपेको छ, यो कलेज बनाउन थपिएको हो। काम थाल्दै गएर सम्पन्न हुन तीन–चार वर्ष लाग्नसक्ने देखिन्छ।’
बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना बर्दिवास कार्यालयले आयोजना गरेको छलफलमा महोत्तरी निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य प्रमोदकुमार महतोले कलेज निर्धारित समयमा सम्पन्न गराउन वर्तमान सरकारले हरप्रयास गर्ने उल्लेख गरे।
मधेश प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री शारदा थापाले निर्धारित समयमा काम सम्पन्न गराउन आफूले सहकार्य र समन्वय गर्ने बताइन्।
यसैगरी बर्दिवासका नगरप्रमुख प्रहलादकुमार क्षेत्रीले प्रस्तावित ठाउँमा कलेज निर्माणका पक्षमा आमजनता रहेकाले सबैको साथसहयोग रहने बताए।
छलफल कार्यक्रममा आयोजना निर्देशक देवीप्रसाद सुवेदीले अब प्रस्तावितस्थलको भोगाधिकार आफ्नो कार्यालयले पाइसकेको हुँदा रुख कटानको प्रक्रिया अघि बढेको जानकारी दिए।
नेपाल सरकारको आर्थिक वर्ष २०७३र७४ को कार्यक्रममा परेर २०७५ वैशाखमा आयोजना कार्यालय स्थापना भए पनि वन क्षेत्रभित्रको प्रस्तावित जग्गाको भोगाधिकारका लागि विभिन्न निकायबाट काम सम्पादन हुन समय लाग्दा कलेज निर्माण पछि पर्दै आएको थियो।
कलेजका लागि पहिलो चरणमा अस्पताल र प्रशासनिक भवन निर्माण चालु आवमा विनियोजित २५ करोडबाट थालिने आयोजना कार्यालयले जनाएको छ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले थप रकमको सुनिश्चितता बढ्दै गएसँगै निर्माणले गति लिने विश्वास व्यक्त गरे।
बर्दिवास–४ को अटावे खोल्सी पूर्व, भब्सीखोलाबाट पश्चिम, पूर्वपश्चिम महेन्द्र राजमार्गबाट उत्तर र माइस्थानबाट बर्दिवास चोकतर्फको सडकबाट दक्षिणको वनक्षेत्रको ५४ हेक्टर जग्गामा कलेज बन्न प्रस्ताव गरिएकामा उक्त प्रस्ताव कार्यान्वयनको चरणमा पुगेको आयोजना निर्देशक सुवेदीले जानकारी दिए।
कूल ६०० शय्याको अस्पतालसहित कलेजका लागि संरचना बन्न विस्तृत कार्ययोजना प्रस्तावमा १० अर्ब खर्च लाग्ने जनाइएको छ।


