पोखरा – शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले नेपालका १५ संघीय विश्वविद्यालयले आ–आफ्नो विशिष्टता र सम्भावनाका आधारमा छुट्टै पहिचान कायम गर्नुपर्ने बताएका छन्।
सहकुलपतिको हैसियतले अध्यक्षता गर्दै बिहीबार केन्द्रीय कार्यालय लेखनाथस्थित खुँदीमा भएको पोखरा विश्वविद्यालयको २६ औँ साधारणसभाको अवसरमा शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले यस्तो बताएका हुन्।
उनले पोखरा विश्वविद्यालयले पोखरा तथा गण्डकी प्रदेशको विशेषता र सम्भावनालाई आधार बनाई, विशेषगरी साहसिक पर्यटनजस्ता क्षेत्रमा केन्द्रित नयाँ तथा आवश्यकतामुखी शैक्षिक कार्यक्रम विकास गर्नुपर्ने बताए।
प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी स्थानीय समस्या, पर्यटनका चुनौती तथा रोजगार बजारको मागअनुसार प्रमाणमा आधारित अध्ययन, अनुसन्धान र कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए।
साथै, विश्वविद्यालयका प्रयोगशाला तथा उपकरणको प्रभावकारी उपयोग, शिक्षण अस्पतालमा विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि सहज पहुँच, शुल्कअनुसार आवश्यक शैक्षिक सुविधा, परीक्षा तथा नतिजा शैक्षिक क्यालेन्डरअनुसार समयमै सञ्चालन तथा छात्रवृत्ति वितरणमा पारदर्शिता कायम गर्नुपर्ने बताए।
उनले शुल्कबाट प्राप्त रकम सम्बन्धित शैक्षिक सुविधामै उपयोग गर्न, बिग्रिएका प्रयोगशाला उपकरणको मर्मत वा आवश्यकताअनुसार नयाँ उपकरण खरिद गर्न तथा पुस्तकालयलाई थप व्यवस्थित गरी सञ्चालन समय बढाउन विश्वविद्यालय प्रशासनलाई आग्रह गरे।
सभाले आव २०८३÷८४ का लागि पोखरा विश्वविद्यालयका उपकुलपति प्राडा. देवेन्द्र अधिकारीद्वारा प्रस्तुत स्वागत तथा नीति तथा कार्यक्रम पारित गरेको छ।
त्यसैगरी, विश्वविद्यालयका रजिष्ट्रार प्राडा. निर्मला जमरकट्टेलद्वारा प्रस्तुत १ अर्ब ७५ करोड ८० लाखको बजेट स्वीकृत गरेको छ।
सभाले विश्वविद्यालयका विद्यमान नियमावलीमा आवश्यक संशोधन तथा परिमार्जन गर्ने निर्णय गरेको सूचना अधिकारी लोकप्रसाद ढकालले बताए।
उनका अनुसार नयाँ कलेज सम्बन्धनका लागि विश्वविद्यालयमा दर्ता भई बाँकी प्रक्रियामा रहेका कलेजका सम्बन्धमा पनि निर्णय गरिएको छ।
पोखरा विश्वविद्यालय क्याम्पस (महाविद्यालय) शिक्षण संस्था सम्बन्धनसम्बन्धी नियमावली, २०५६ को नियम ८(ग) सँग नबाझिने गरी विश्वविद्यालयका आंगिक कलेज तथा स्कुलअन्तर्गत सञ्चालित कार्यक्रमका लागि रीतपूर्वक दर्ता भएका आवेदनमाथिको बाँकी प्रक्रिया अघि बढाउन यसअघि प्रकाशित सूचनाबमोजिम गण्डकी प्रदेशलाई प्राथमिकतामा राखी सम्बन्धनसम्बन्धी कार्य अघि बढाउन १ वर्षको समयावधि थप गर्ने निर्णय गरिएको छ।
सभाले हाल कायम पोखरा विश्वविद्यालय मानविकी तथा सामाजिकशास्त्र संकायलाई पुनर्गठन गरी पोखरा विश्वविद्यालय मानविकी, सामाजिक शास्त्र तथा कानुन संकाय स्थापना गर्ने निर्णय गरेको छ।
त्यसैगरी, विश्वविद्यालयमा सञ्चालित विभिन्न कार्यक्रमका उपाधि निर्धारण तथा स्थापना गर्ने निर्णय गरेको छ। ललितपुरको च्यासलस्थित श्रमिक शान्ति क्याम्पसलाई आंगिक क्याम्पसका रूपमा विस्तार गरी कार्यक्रम सञ्चालन गरिएको कार्यलाई समेत सभाले अनुमोदन गरेको छ।
सभाले परीक्षा नियन्त्रण कार्यालयले तोकेको उपयुक्त समयमा विशेष मौका परीक्षा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको छ।



