मानवीय हस्तक्षेपले हराए घुमन्ते र आगन्तुक चराचुरुंगी

हिमाल प्रेस १ मंसिर २०८३ ८:०५ | Monday, November 16, 2026
मानवीय हस्तक्षेपले हराए घुमन्ते र आगन्तुक चराचुरुंगी

मोरङ- नेपाल घुमन्ते तथा आगन्तुक चराचुरुङ्गीका लागि महत्वपूर्ण गन्तव्य भए पनि पछिल्लो समय सिमसार क्षेत्रको विनाश र मानवीय हस्तक्षेपका कारण हिउँदे चराको सङ्ख्या चिन्ताजनक रूपमा घट्दै गएको छ ।

‘बर्ड कञ्जरभेसन’ नेपालका अनुसन्धान अधिकृत आनन्दकुमार श्रेष्ठका अनुसार नेपालमा करिब १५० प्रजातिका आगन्तुक चरासहित ९०२ भन्दाबढी प्रजातिका चराहरू अभिलेख गरिएका छन्।

विभिन्न उचाइ र भौगोलिक क्षेत्रमा मौसमी बसाइँसराइ गर्ने यी चराहरूमध्ये कोकिल, कोइली, फ्लाइक्याचरलगायत प्रजातिहरू प्रजननका लागि गर्मीयाममा नेपाल आइपुग्ने र साइबेरियालगायत हजारौँ किलोमिटर टाढाका क्षेत्रबाट हिउँद छल्न विभिन्न प्रजातिका पानीचरा जाडोयाममा यहाँ आउने गरेका उनले जानकारी दिए।

हिउँदमा नेपाल आउने सामान्य आगन्तुक चराहरूमा रुद्र चखेवा, नाडेउरी हाँस, सुरेउरी हाँस, नकटा, सुनजघे हाँस, लालसिर हाँस र गोन्डर जस्ता हाँसका प्रजातिका रहेका श्रेष्ठले जानकारी दिए। यसबाहेक जलेवा, खोया हाँस र लक्ष्मण सारस लगायतका पानीचरा तथा स्टेप्प इगल, इर्सियन मार्स ह्यारियर, हिमाली बजार्ड र बुटेड इगलजस्ता सिकारी चराहरू पनि जाडोयाममा नेपाल भित्रिन्छन्।

सिमसार र नदीकिनारहरू कमन स्यान्डपाइपर, कमन स्निप, खैरो टाउके (ल्यापविङ), केन्टिस प्लोवर, कमन ग्रिनस्याङ्क र कालो टाउके (गल) जस्ता जलपक्षी तथा तटवर्ती चराका लागि महत्वपूर्ण बासस्थान बनेका छन्। अनुसन्धान अधिकृत श्रेष्ठका अनुसार बाक्लो बिल भएको (वार्बलर), डस्की वार्बलर, कालो कण्ठे (थ्रस), भित्तेचरा, साइबेरियन (रुबीथ्रोट) र पहेँलो छाती भएको बन्टिङ पनि यहाँ देखिने प्रमुख हिउँदे पाहुना चरा हुन्।

विशेषगरी खोया हाँस सगरमाथा आसपासको अत्यधिक उचाइबाट उडेर हिमाल पार गर्नसक्ने अनौठो क्षमताका लागि प्रसिद्ध मानिने उहाँले जानकारी दिनुभयो । धेरैजसो घुमन्ते चराले प्रमुख नदी प्रणाली र उपत्यकालाई मुख्य उडान मार्गका रूपमा प्रयोग गर्छन्। कीरा तथा हानिकारक जीवको नियन्त्रण, बीउ फैलावट र पारिस्थितिकीय प्रणालीको सन्तुलन कायम राख्न यी चराको भूमिका अह्म् हुने उनको भनाइ छ।

सिमसार क्षेत्रको ह्रास, नदी तथा तालहरूको स्वरूपमा फेरबदल, प्रदूषण, अत्यधिक सिकार, मानवीय हस्तक्षेप र कीटनाशक औषधिको व्यापक प्रयोगले घुमन्ते चराहरूको अस्तित्वमाथि गम्भीर खतरा निम्त्याएको अनुसन्धान अधिकृत श्रेष्ठले बताए।

बर्ड कञ्जरभेसन नेपालले सम्बद्ध सरकारी निकाय र स्थानीय सरोकार भएका निकाउका प्रतिनिधिसँगको सहकार्यमा चराको सङ्ख्या अनुगमन गर्न प्रत्येक वर्ष जनवरी महिनामा देशैभरका सिमसार क्षेत्रहरूमा हिउँदे पानीचरा गणना गर्दै आएको छ।

सर्वेक्षणको तथ्याङ्क प्रस्तुत गर्दै श्रेष्ठले भने, “काठमाडौँ उपत्यकाको टौदह पोखरीमा हिउँदका समयमा पहिले ४०० देखि ५०० को सङ्ख्यामा हाँसहरू आउने गरेकामा अहिले घटेर जम्मा १०० देखि १५० मा सीमित भएका छन्।”

त्यसैगरी, कुनै समय दसौँ हजार पानीचरा आउने जगदीशपुर जलाशयमा अहिले दुई हजारदेखि तीन हजार हाराहारीमा मात्रै हाँसहरू देखिने गरेका अनुसन्धान अधिकृत श्रेष्ठले बताए। “नेपाल केन्द्रीय एसियाली उडान मार्गअन्तर्गत पर्दछ, जसले विभिन्न देशका प्रजनन् र हिउँदे बासस्थानलाई जोड्ने महत्वपूर्ण मार्गको काम गर्छ”,उनले भने।

घुमन्ते चराले अन्तरराष्ट्रिय सीमा पार गर्ने हुनाले उनीहरूको संरक्षण स्थानीय वा राष्ट्रियस्तरको छिटपुट प्रयासबाट मात्र सम्भव नहुने भन्दै अनुसन्धान अधिकृत श्रेष्ठले यसका लागि उडान मार्गमा पर्ने सम्पूर्ण देशहरूबिच आपसी सहयोग आवश्यक रहने उल्लेख गरे।

बर्डलाइफ इन्टरनेसनलले उडान मार्ग संरक्षणका लागि अन्तरराष्ट्रिय सहकार्य सुदृढ गर्न काम गर्दै आएको छ भने नेपाल सरकारको सहकार्यमा देशैभर ४२ वटा महत्वपूर्ण चरा तथा जैविक विविधता क्षेत्र पहिचान गरी स्थापना गर्न योगदान पुर्‍याएको छ। केन्द्रीय एसियाली उडान मार्गअन्तर्गत नेपालमा कोशीटप्पु वन्यजन्तु आरक्ष, चितवन राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज गरी तीनवटा प्राथमिकता प्राप्त क्षेत्रहरू रहेका छन्।

बिग्रिएका सिमसार क्षेत्रको पुनस्स्थापना, प्राकृतिक नदी प्रणालीको जगेर्ना, प्रदूषण तथा सिकार नियन्त्रण, दिगो कृषि अभ्यासको प्रवर्द्धन र समुदायको सहभागिता अभिवृद्धि गर्नसकेमात्र घुमन्ते चराले आफ्नो यात्राभरि सुरक्षित बासस्थान पाउनसक्ने अनुसन्धान अधिकृत श्रेष्ठले जानकारी दिए।

प्रकाशित: १ मंसिर २०८३ ८:०५ | Monday, November 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast