सुरुङभित्र कति जना फसेका छन्?

हिमाल प्रेस २२ भदौ २०८३ १७:४८ | Monday, September 7, 2026
सुरुङभित्र कति जना फसेका छन्?

काठमाडौँ- नेपाली सेनाले रसुवाको बाढीपछि भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा रहेका जलविद्युत् आयोजनाका सुरुङ (टनेल) भित्र करिब १२१ जना फसेको बताएको छ। परियोजनासँग आबद्ध ९ सयभन्दा बढी व्यक्ति सम्पर्कविहीन भए पनि उनीहरू सबै टनेलभित्र रहेको भन्ने बुझाइ सही नभएको सेनाले जनाएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा सोमबार आयोजित कार्यक्रममा नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले आयोजनाहरूबाट प्राप्त विवरणका आधारमा रसुवागढीमा ५, लाङटाङमा ७, चिलिमेमा ७, अपर त्रिशूली-१ मा करिब ५० र त्रिशूली-३ ए मा करिब ४२ जना टनेलभित्र रहेको तथ्य देखिएको जानकारी दिए।

उनका अनुसार त्रिशूली-३ बी आयोजनामा सम्पर्कविहीन भएका सबै व्यक्ति टनेलभित्र प्रवेश गरेका थिएनन्। उनले परियोजनामा कार्यरत सबै कर्मचारीलाई टनेलभित्र फसेका व्यक्तिका रूपमा बुझ्न नहुने बताए।

सहायक रथी थापाले टनेलको पूर्ण ‘ब्रेकथ्रु’ नभएसम्म खोज तथा उद्धार अभियान नरोकिने बताए। सरकारले अभियान अन्त्य गर्ने निर्णय नगरेसम्म वा प्राधिकरणले खोजी पर्याप्त भएको घोषणा नगरेसम्म सेनाले खोजी जारी राख्ने उनले बताए। उनले हालसम्म उद्धारको आशा कायम रहेको पनि उल्लेख गरे।

सेनाले अहिले सूचनामा आधारित उद्धार रणनीति अपनाएको जनाएको छ। कुनै स्थानमा व्यक्ति फसेको वा फसेको आशंका सम्बन्धी सूचना प्राप्त हुनेबित्तिकै टोली परिचालन गरेर खोजी गरिरहेको थापाले बताए।

खोज तथा उद्धारसँगै सेनाले प्रभावित क्षेत्रमा पुनःस्थापना र पुनर्निर्माणका काम पनि अघि बढाएको जनाएको छ। तुइन र झोलुङ्गे पुल निर्माण, क्षतिग्रस्त सडकको रेकी तथा अवरुद्ध सडक खुलाउने कामसमेत सुरु गरिएको सेनाको भनाइ छ।

प्रकाशित: २२ भदौ २०८३ १७:४८ | Monday, September 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast