अर्थतन्त्र अझै चुनौतीमुक्त छैन : अर्थमन्त्री डा. महत

हिमाल प्रेस १४ फागुन २०८० १४:१०
6
SHARES
अर्थतन्त्र अझै चुनौतीमुक्त छैन : अर्थमन्त्री डा. महत प्रतिनिधिसभा बैठकमा सोमबार आव २०८१/०८२ का लागि विनियोजन विधेयकका सिन्द्धान्त र प्राथमिक सम्बन्धमा प्रस्ताव प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महत। तस्बिर : रासस

काठमाडौँ- अर्थमन्त्री डा. प्रकाशशरण महतले बाह्य र आन्तरिक समस्याका कारण मुलुकको अर्थतन्त्र चुनौतीमुक्त भइनसकेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सोमबार आर्थिक वर्ष २०८१/०८२ को लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै डा. महतले उक्त कुरा बताएका हुन्।

औद्योगिक उत्पादन र वित्तीय क्षेत्रअन्तर्गत सहकारी तथा लघु वित्तीय संस्थामा समस्या देखिएको उनले बताए। यसैगरी डा. महतले आर्थिक क्रियाकलापको संरचना र प्रविधिमा आएको परिवर्तनका कारण राजस्व संकलनमा चुनौती थपिएको बताए।

उनले भने, ‘सार्वजनिक खर्चलाई विवेकशील र मितव्ययी ढंगले राष्ट्रिय प्राथमिकताका क्षेत्रमा परिचालन गर्न थप सुधार आवश्यक छ। विगतमा लिइएको सार्वजनिक ऋणको दायित्व भुक्तानी गर्न बर्सेनि ठूलो रकम छुट्ट्याउनुपर्ने भएको छ।’ उनले आगामी आर्थिक वर्ष थप एक खर्ब रुपैयाँभन्दा बढी रकम सार्वजनिक ऋणको भुक्तानीमा विनियोजन गर्नुपर्ने अवस्था रहेको जानकारी दिए।

महतले सामाजिक सुरक्षालगायतका क्षेत्रमा दायित्व क्रमशः बढ्दै गएको पनि बताए। रुकुम र जाजरकोटमा आएको भूकम्पपछि अस्थायी आवास तथा पुनर्निर्माणमा ठूलो स्रोत आवश्यक रहेको मन्त्री महतको भनाइ छ। ‘स्रोत सहमति दिइएको आयोजना तथा कार्यक्रममा देखिएको न्यून विनियोजनका कारण गत वर्षहरूमा ठेक्काबाट सिर्जित दायित्व भुक्तानी गर्नु चुनौतीपूर्ण बनेको छ।’

सुनिश्चित भएका आयोजनामा आवश्यक बजेट प्रस्ताव नगर्ने प्रवृत्ति, आयोजना तथा कार्यक्रममा देखिएको दोहोरोपना, निर्धारित समयमा आयोजना सम्पन्न नहुने अवस्था, आयोजना कार्यान्वयनमा देखिएका व्यवस्थापकीय कमजोरी अन्य चुनौती रहेको उनले बताए।

वैदेशिक सहायताका आयोजना व्यवस्थापनमा अपनत्वको कमी हुँदा कार्यान्वयन पक्ष अझै कमजोर देखिएको उनको भनाइ छ। ‘संकलित राजस्वले अनिवार्य दायित्व धान्न कठिन भइरहेको अवस्थामा थप आयोजना तथा कार्यक्रम, संरचना एवम् दरबन्दीका लागि बजेट मागले गर्दा खर्च व्यवस्थापन अझै चुनौतीपूर्ण छ’, डा. महतले भने।

अर्थमन्त्री महतले केही सुधारका विवरण पनि सार्वजनिक गरेका छन्। उनले लगानी अनुकूल वातावरण जना गर्न गरिएको प्रक्रियागत सरलीकरण, निजी क्षेत्रसँगको निरन्तर संवाद, पुँजीगत खर्चको प्रभावकारिताका लागि गरिएको पहल, मौद्रिक नीतिमा पछिल्लो समय अपनाइएको केही लचकता एवम् वित्त नीति र मौद्रिक नीतिबीचमा तालमेल गर्न गरिएको प्रयासबाट अर्थतन्त्र क्रमशः सकारात्मक दिशातर्फ अघि बढ्न सफल भएको दाबी गरे।

साथै विद्युत् उत्पादन र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढ्नुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको उनले बताए।

अर्थमन्त्री महतले बाह्य क्षेत्रतर्फ चालु खर्च सोधानान्तर बचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितीले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सिर्जना गरेको बताए।

उनले भने, ‘विद्युत उत्पादनमा र पर्यटक आगमन वृद्धि हुनुका साथै विदेशी लगानी बढनुले अर्थतन्त्रमा सकारात्मक योगदान पुगेको छ। बैंकिङ क्षेत्रतर्फ पर्याप्त तरलता, ब्याजदर एकल बिन्दुतर्फ झर्ने क्रममा रहेको तथा निक्षेप र कर्जा प्रवाहमा क्रमशः वृद्धि भएको छ। घरजग्गा कारोबार र पुँजी बजार सुधार उन्मुख छ। बाह्य क्षेत्रतर्फ चालु खर्च शोधनान्तर वचतको अवस्था र विदेशी विनिमयको पर्याप्त सञ्चितीले आर्थिक क्रियाकलापका लागि अनुकूल वातावरण सिर्जना गरेको छ।’

प्रकाशित: १४ फागुन २०८० १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =