बेलायतमा अर्थमन्त्रीले भने- नेपालको विकासका लागि बाह्य लगानी अपरिहार्य

हिमाल प्रेस १५ कार्तिक २०८० १३:३५
6
SHARES
बेलायतमा अर्थमन्त्रीले भने- नेपालको विकासका लागि बाह्य लगानी अपरिहार्य

काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालसँग आन्तरिक स्रोतको अभाव रहेकाले वैदेशिक लगानी अपरिहार्य भएको बताएका छन्। लण्डनस्थित नेपाली दूतावासले आयोजना गरेको उच्चस्तरीय लगानी सम्मेलनलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले समृद्धि र आर्थिक रूपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता हुने धारणा राखेका हुन्।

नेपाल र बेलायतबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धी हस्ताक्षर भएको १०० वर्ष पूरा भएको अवसरमा नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलनको आयोजना गरेको थियो।

सो अवसरमा अर्थमन्त्री डा. महतले नेपाल सरकारले लगानीमैत्री वातावरणका लागि आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको बताए। यस वर्षको बजेटले लगानीकर्तालाई थप सहजीकरण गर्न विभिन्न सुधारका कार्य सुरु गरेको महतको भनाइ छ। उनले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिँदै आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास व्यक्त गरे।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालले वित्तीय केन्द्र लण्डनबाट नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बताए। नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेशसमेत निर्यात गर्न तयारी गरेको बताउँदै नेपालको जलविद्युतबाट नेपाल मात्र नभई दक्षिण एसियाली क्षेत्रमै जलवायु परिवर्तसम्बन्धी लक्ष्य पूरा गर्न सहयोग पुग्ने बताए।

कार्यक्रममा धारणा राख्दै सिटी अफ लण्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले सिटी अफ लण्डनमा प्रशस्त वित्तीय स्रोत तथा जोखिमवहन गर्ने बिमा कम्पनी रहेका र नेपालको दिगो विकासका लागि सिटी अफ लण्डनको सहयोग रहने बताए।

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले गत केही वर्षमा ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको र वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको बताउँदै नेपालको अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =