इलाममा मतगणना ११ बजेपछि, गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान

हिमाल प्रेस १६ वैशाख २०८१ १०:२२
6
SHARES
इलाममा मतगणना ११ बजेपछि, गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान

इलाम- इलाम क्षेत्र नं २ मा शनिबार भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको मतगणना आज बिहान ११ बजेपछि हुने भएको छ। केही बेरअघि सम्पन्न सर्वपक्षीय बैठकले उक्त निर्णय गरेको हो।

मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेका अनुसार बिहान ७ बजेदेखि नै मतगणना गर्ने तयारी थियो तर सर्वदलीय बैठक हुन समय लागेकाले ११ बजेदेखि मात्र गणना गर्ने निर्णय भएको हो।

इलाम नगरपालिका–७ स्थित गौतमबुद्ध सभागृहमा मतगणना हुनेछ। गणनास्थलमा ११ वटा सिसी क्यामेरा जडान गरिएका छन्। मतगणना स्थलमा भीड हुन नदिन चोक बजारमा रहेको ‘डिस्प्लेबोर्ड’मा परिणाम सार्वजनिक गरिने छ। मतपरिणाम एक–एक घण्टाको अन्तरालमा सार्वजनिक गरिने उनले जानकारी दिए।

उपनिर्वाचनमा ५९ दशमलव ७९ प्रतिशत मत खसेको थियो। शनिबार बिहान ७ साँझ ५ बजेसम्म भएको मतदानमा ६९ हजार दुई सय ८७ जनाले मतदान गरेका थिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार ३५ हजार एक सय ३५ पुरुष, ३४ हजार एक सय ५० महिला र दुई अन्यले मतदान गरेका छन्।

२०७९ ‍मंसिर ४ को प्रतिनिधिसभा निर्वाचनमा इलाम–२ बाट निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त सो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भएको हो।

प्रकाशित: १६ वैशाख २०८१ १०:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + fifteen =